अघिल्लो वर्ष नै पूरा हुनुपर्थ्यो काठमाडौं भ्यु टावर, १२ तलामध्ये बल्ल नवाैँ तला ढलानको तयारी

बिहिबार, २२ मंसिर, २०७९
डिजिटल संस्करण
अघिल्लो वर्ष नै पूरा हुनुपर्थ्यो काठमाडौं भ्यु टावर, १२ तलामध्ये बल्ल नवाैँ तला ढलानको तयारी

पुरानो बसपार्कस्थित निर्माणाधीन भ्यु टावर । तस्बिर : अमुल थापा/नयाँ पत्रिका

पुरानो बसपार्कस्थित १२ तले भ्यु टावर निर्माण सुरु भएको सात वर्ष भयो । सम्झौताअनुसार टावर निर्माण भएको भए अघिल्लो वर्ष असारमै निर्माण कम्पनीले काठमाडौं महानगरलाई हस्तान्तरण गरिसक्थ्यो । तर, अहिले बल्ल नवौँ तला (करिब ७० प्रतिशत) ढलानको तयारी भइरहेको छ । नवौँ तलाको ढलानबारे महानगरले प्राविधिक पक्ष अध्ययन गरेर मात्र अगाडि बढ्ने अवस्थामा छ ।

काठमाडौं महानगरले टावरको प्राविधिक पक्ष अध्ययन गर्न भनेर १८ महिनाअघि अध्ययन टिम बनाएको थियो । उक्त टिमले त्यसवेला अध्ययन गरेको प्रतिवेदन अझै तयार पारेको छैन । कहिले अध्ययन रिपोर्ट दिने भन्ने टुंगो पनि छैन । 

महानगरका निर्देशक नूरनिधि न्यौपानेका अनुसार टोलीले कार्यालयको कामसँगै भ्यु टावरको प्राविधिक पक्षबारे समेत काम गर्ने भएकाले समय लाग्ने बताए । उनले भने, ‘यही समयसम्म अध्ययन प्रतिवेदन बनाइसक्नुपर्ने भनेर समय तोकिएको छैन । कस्तो काम भइरहेको छ ? टावर निर्माणको सयमसीमा थप्ने–नथप्ने, टावरको विषयमा महानगर कसरी अगाडि बढ्ने भन्ने विषयमा प्राविधिक अध्ययनपश्चात् मात्र निर्क्योल हुनेछ ।’ 

सम्झौतापत्रअनुसार टावर निर्माणमा स्वतन्त्र इन्जिनियर नियुक्त गर्ने व्यवस्था छ । यसकारण महानगरबाट इन्जिनियर नियुक्त हुन सकेनन् । तर, भ्यु टावर मापदण्डअनुसार बन्दै छ–छैन वा यसमा आवश्यकताअनुसारको सामान प्रयोग भयो वा भएन भनेर महानगरले राजस्व विभागका प्रमुखसहित तीन सदस्यीय टोलीलाई (वैशाख ०७८ मा) अवलोकन गर्न लगायो । अवलोकनपछिको प्रतिवेदनमा जुन तरिकाबाट टावर निर्माण हुनुपर्ने हो, त्यहीअनुसार नरहेको उल्लेख छ । तर, टावरको थप काम अगाडि बढ्न नसकेको महानगरले जनाएको छ । निर्माण नसके पनि ठेकेदार कम्पनीले सम्झौताअनुसार राजस्व भने तिरिरहेको छ । ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स कम्पनीले करिब एक करोड राजस्व बुझाउँदै आएको छ । 

टावरमा बसपार्क कहिले सर्छ ? 
पुरानो बसपार्कमा पार्क हुँदै आएका यात्रुवाहक बसहरू अचेल तिनकुनेअगाडिको मनोहरा खोला, न्युरोडको एनएसी भवनअगाडि, खुलामञ्चअगाडिको सडकमा हुने गरेका छन् । सडकमै लामा तथा छोटो दूरीका बसहरू रोकिँदा ट्राफिक व्यवस्थापनमा असहज भएको छ । तर, अझै पनि भ्यु टावरमा बनाएको अन्डरग्राउड पार्किङ प्रयोग गर्ने विषय प्रस्ट भएको छैन । 

‘आयोजनाअनुसार निर्माणाधीन टावरमा दुईतले भूमिगत पार्किङ हुनेछ । पार्किङको प्रयोगबारे पनि प्राविधिक अध्ययन टोलीले प्रतिवेदन नदिई गर्ने अवस्था छैन । भोलि कुनै विपत् आइहाल्यो भने कसले जिम्मा लिने ?’ महानगरका निर्देशक न्यौपानेले भने । 

यस्तो बन्दै छ भ्यु टावर 
आयोजनाका अनुसार टावरमा दुईतले भूमिगत पार्किङ हुनेछ । जसमा तीन सय सवारी अटाउनेछन् । भुइँतलामा मोटरसाइकल पार्किङ रहनेछ भने पहिलो तलामा बसपार्कको काउन्टर हुनेछ । दोस्रो तलामा सूचना डेस्क र तेस्रो तलामा अत्याधुनिक सिनेमा हल रहनेछ । टावरमा बैंक तथा वित्तीय संस्थाहरू, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुरेन्ट तथा पुस्तकालय हुनेछन् । टावर भूकम्प प्रतिरोधात्मक जापानी प्रविधिमा निर्माण भइरहेको छ । महानगरपालिकाका अनुसार निर्माण हुने पार्किङ क्षेत्रले रत्नपार्क र न्युरोडआसपास पार्किङ भइरहेका सम्पूर्ण सवारीसाधनलाई धान्नेछ । निर्माण सुरु भएको ६ महिनामै अन्डरग्राउन्ड निर्माण सकेर बसपार्कलाई पुरानै ठाउँमा सार्ने भनिए पनि अझै कहिले बसपार्क सर्ने हो टुंगो छैन । 

भ्यु टावर निर्माणको गर्भ कथा 
२६ असार ०६८ को नगरपरिषद् बैठकले २३ रोपनी ५ आना ३ दाम १ पैसाको पुरानो बसपार्कमा सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा काठमाडौं भ्यु टावर निर्माण गर्ने निर्णय पारित गर्‍यो । सोही वर्ष चैतमा ठेक्का आह्वान भयो । आठ कम्पनी टेन्डरमा सहभागी भए । सबैभन्दा बढी रोयल्टी बुझाउने कबोल गर्ने बिल्डर्स कम्पनीले ठेक्का पाएको थियो । यसपछि भवन आवश्यक नभएको, ठेक्कामा प्रक्रिया मिचेकोलगायत प्रश्न उठाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्‍यो । २८ मंसिर ०६९ मा अख्तियारले टावर निर्माण रोक्न निर्देशन दियो । सम्झौता नेपाली भाषामा गर्ने, जग्गाको ४० प्रतिशत क्षेत्रमा मात्र भवन निर्माण गर्ने, ६० प्रतिशत खुला राख्ने र जमिनमुनिसहित तीन तला पार्किङ गर्नेलगायत निर्देशनसहित आयोगले २४ वैशाख ०७० मा रोक्का फुकुवाको पत्र पठायो ।

कलंकी र गोंगबुमा अकासेपुल बनाएका मनोज भेटवालको कम्पनीले महानगरलाई पैसा तिर्न बाँकी रहेको, उनीसँग त्यत्रो भवन बनाउने पैसा नै नभएकोलगायतका आरोप लगाएर संसद्को सार्वजनिक लेखासमितिमा उजुर पर्‍यो ।

४ फागुन ०७१ मा बसेको लेखासमिति बैठकलले नियम, विधि तथा प्राविधिक रूपले सम्झौता गरी काम अघि बढाउन निर्देशन दियो । महानगरपालिकाले २२ फागुन ०७१ मा कम्पनीसँग सार्वजनिक–निजी साझेदारीको मोडलमा २९ तले बहुउद्देश्यीय टावर निर्माण सम्झौता गर्‍यो । ठेकेदारसँग २९ तलाको सम्झौता गरे पनि सहरी विकास मन्त्रालयले त्यहाँ १२ तलाभन्दा ठूलो भवन बनाउन नमिल्ने बताएपछि भदौ ०७२ मा महानगरले १२ तले भवनको नक्सा पास गर्‍यो । सोही वर्ष २५ कात्तिकमा उपराष्ट्रपति नन्दबहादुर पुनले काठमाडौं भ्यु टावरको शिलान्यास गरे । कम्पनीले नयाँ बसपार्कको २३ रोपनी ५ आना जग्गामा भ्यु टावर निर्माण गरिरहेको छ । टावर निर्माण सम्झौता हुँदा करिब तीन अर्ब लाग्ने अनुमान गरिएको थियो ।

वडा नम्बर २८ का अध्यक्ष भाइराम खड्गी भन्छन्– छिटो सक्न महानगरलाई पत्र लेख्दै छौँ
भ्यु टावर निर्माणलाई नियालिरहेका काठमाडौं–२८ का वडा अध्यक्ष भाइराम खड्गीको दोस्रो कार्यकालको पनि ६ महिना बित्न लागेको छ । तर, अहिलेसम्म टावर निर्माणले सोचेअनुरूप गति नलिएको उनी बताउँछन् ।

‘टावर बन्न त बनिरहेको छ । तर, धेरै भइसक्यो । वडा कार्यालयअगाडि नै भ्यु टावर बनिरहँदा धुलो उड्ने, बाटोमा समेत अवरोध भइरहेको छ । त्यसैले हामीले छिटो सकाउन पटक–पटक भनिरहेका छौँ,’ अध्यक्ष खड्गीले भने । उनका अनुसार मौखिक रूपमा जति भन्दा पनि नभएकाले अब छिटो बनाउन महानगरलाई पत्र लेख्दै छौँ ।

नूरनिधि न्यौपाने, निर्देशक  काठमाडौं महानगरपालिका 
अध्ययन टोलीले महानगरको कामसँगै भ्यु टावरको प्राविधिक पक्षबारे समेत काम गर्ने भएकाले रिपोर्ट बुझाउन समय लाग्छ ।

अध्ययन प्रतिवेदन बनाइसक्नुपर्ने समय पनि तोकिएको छैन । कस्तो काम भइरहेको छ ?

टावर निर्माणको सयमसीमा थप्ने–नथप्ने, टावरको विषयमा महानगर कसरी अगाडि बढ्ने भन्ने विषयमा प्राविधिक अध्ययनपश्चात् मात्र निर्क्योल हुनेछ । 

सुझावित समाचार