१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
पुरानो बसपार्कस्थित निर्माणाधीन भ्यु टावर । तस्बिर : अमुल थापा/नयाँ पत्रिका
शान्ति तामाङ नयाँ पत्रिका
२०७९ मङ्सिर २२ बिहीबार ०६:३१:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अघिल्लो वर्ष नै पूरा हुनुपर्थ्यो काठमाडौं भ्यु टावर, १२ तलामध्ये बल्ल नवाैँ तला ढलानको तयारी

Read Time : > 3 मिनेट
शान्ति तामाङ, नयाँ पत्रिका
२०७९ मङ्सिर २२ बिहीबार ०६:३१:००

पुरानो बसपार्कस्थित १२ तले भ्यु टावर निर्माण सुरु भएको सात वर्ष भयो । सम्झौताअनुसार टावर निर्माण भएको भए अघिल्लो वर्ष असारमै निर्माण कम्पनीले काठमाडौं महानगरलाई हस्तान्तरण गरिसक्थ्यो । तर, अहिले बल्ल नवौँ तला (करिब ७० प्रतिशत) ढलानको तयारी भइरहेको छ । नवौँ तलाको ढलानबारे महानगरले प्राविधिक पक्ष अध्ययन गरेर मात्र अगाडि बढ्ने अवस्थामा छ ।

काठमाडौं महानगरले टावरको प्राविधिक पक्ष अध्ययन गर्न भनेर १८ महिनाअघि अध्ययन टिम बनाएको थियो । उक्त टिमले त्यसवेला अध्ययन गरेको प्रतिवेदन अझै तयार पारेको छैन । कहिले अध्ययन रिपोर्ट दिने भन्ने टुंगो पनि छैन । 

महानगरका निर्देशक नूरनिधि न्यौपानेका अनुसार टोलीले कार्यालयको कामसँगै भ्यु टावरको प्राविधिक पक्षबारे समेत काम गर्ने भएकाले समय लाग्ने बताए । उनले भने, ‘यही समयसम्म अध्ययन प्रतिवेदन बनाइसक्नुपर्ने भनेर समय तोकिएको छैन । कस्तो काम भइरहेको छ ? टावर निर्माणको सयमसीमा थप्ने–नथप्ने, टावरको विषयमा महानगर कसरी अगाडि बढ्ने भन्ने विषयमा प्राविधिक अध्ययनपश्चात् मात्र निर्क्योल हुनेछ ।’ 

सम्झौतापत्रअनुसार टावर निर्माणमा स्वतन्त्र इन्जिनियर नियुक्त गर्ने व्यवस्था छ । यसकारण महानगरबाट इन्जिनियर नियुक्त हुन सकेनन् । तर, भ्यु टावर मापदण्डअनुसार बन्दै छ–छैन वा यसमा आवश्यकताअनुसारको सामान प्रयोग भयो वा भएन भनेर महानगरले राजस्व विभागका प्रमुखसहित तीन सदस्यीय टोलीलाई (वैशाख ०७८ मा) अवलोकन गर्न लगायो । अवलोकनपछिको प्रतिवेदनमा जुन तरिकाबाट टावर निर्माण हुनुपर्ने हो, त्यहीअनुसार नरहेको उल्लेख छ । तर, टावरको थप काम अगाडि बढ्न नसकेको महानगरले जनाएको छ । निर्माण नसके पनि ठेकेदार कम्पनीले सम्झौताअनुसार राजस्व भने तिरिरहेको छ । ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स कम्पनीले करिब एक करोड राजस्व बुझाउँदै आएको छ । 

टावरमा बसपार्क कहिले सर्छ ? 
पुरानो बसपार्कमा पार्क हुँदै आएका यात्रुवाहक बसहरू अचेल तिनकुनेअगाडिको मनोहरा खोला, न्युरोडको एनएसी भवनअगाडि, खुलामञ्चअगाडिको सडकमा हुने गरेका छन् । सडकमै लामा तथा छोटो दूरीका बसहरू रोकिँदा ट्राफिक व्यवस्थापनमा असहज भएको छ । तर, अझै पनि भ्यु टावरमा बनाएको अन्डरग्राउड पार्किङ प्रयोग गर्ने विषय प्रस्ट भएको छैन । 

‘आयोजनाअनुसार निर्माणाधीन टावरमा दुईतले भूमिगत पार्किङ हुनेछ । पार्किङको प्रयोगबारे पनि प्राविधिक अध्ययन टोलीले प्रतिवेदन नदिई गर्ने अवस्था छैन । भोलि कुनै विपत् आइहाल्यो भने कसले जिम्मा लिने ?’ महानगरका निर्देशक न्यौपानेले भने । 

यस्तो बन्दै छ भ्यु टावर 
आयोजनाका अनुसार टावरमा दुईतले भूमिगत पार्किङ हुनेछ । जसमा तीन सय सवारी अटाउनेछन् । भुइँतलामा मोटरसाइकल पार्किङ रहनेछ भने पहिलो तलामा बसपार्कको काउन्टर हुनेछ । दोस्रो तलामा सूचना डेस्क र तेस्रो तलामा अत्याधुनिक सिनेमा हल रहनेछ । टावरमा बैंक तथा वित्तीय संस्थाहरू, स्वास्थ्य सेवा प्रवाह गर्ने स्थान, रेस्टुरेन्ट तथा पुस्तकालय हुनेछन् । टावर भूकम्प प्रतिरोधात्मक जापानी प्रविधिमा निर्माण भइरहेको छ । महानगरपालिकाका अनुसार निर्माण हुने पार्किङ क्षेत्रले रत्नपार्क र न्युरोडआसपास पार्किङ भइरहेका सम्पूर्ण सवारीसाधनलाई धान्नेछ । निर्माण सुरु भएको ६ महिनामै अन्डरग्राउन्ड निर्माण सकेर बसपार्कलाई पुरानै ठाउँमा सार्ने भनिए पनि अझै कहिले बसपार्क सर्ने हो टुंगो छैन । 

भ्यु टावर निर्माणको गर्भ कथा 
२६ असार ०६८ को नगरपरिषद् बैठकले २३ रोपनी ५ आना ३ दाम १ पैसाको पुरानो बसपार्कमा सार्वजनिक–निजी साझेदारी (पिपिपी) मोडलमा काठमाडौं भ्यु टावर निर्माण गर्ने निर्णय पारित गर्‍यो । सोही वर्ष चैतमा ठेक्का आह्वान भयो । आठ कम्पनी टेन्डरमा सहभागी भए । सबैभन्दा बढी रोयल्टी बुझाउने कबोल गर्ने बिल्डर्स कम्पनीले ठेक्का पाएको थियो । यसपछि भवन आवश्यक नभएको, ठेक्कामा प्रक्रिया मिचेकोलगायत प्रश्न उठाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्‍यो । २८ मंसिर ०६९ मा अख्तियारले टावर निर्माण रोक्न निर्देशन दियो । सम्झौता नेपाली भाषामा गर्ने, जग्गाको ४० प्रतिशत क्षेत्रमा मात्र भवन निर्माण गर्ने, ६० प्रतिशत खुला राख्ने र जमिनमुनिसहित तीन तला पार्किङ गर्नेलगायत निर्देशनसहित आयोगले २४ वैशाख ०७० मा रोक्का फुकुवाको पत्र पठायो ।

कलंकी र गोंगबुमा अकासेपुल बनाएका मनोज भेटवालको कम्पनीले महानगरलाई पैसा तिर्न बाँकी रहेको, उनीसँग त्यत्रो भवन बनाउने पैसा नै नभएकोलगायतका आरोप लगाएर संसद्को सार्वजनिक लेखासमितिमा उजुर पर्‍यो ।

४ फागुन ०७१ मा बसेको लेखासमिति बैठकलले नियम, विधि तथा प्राविधिक रूपले सम्झौता गरी काम अघि बढाउन निर्देशन दियो । महानगरपालिकाले २२ फागुन ०७१ मा कम्पनीसँग सार्वजनिक–निजी साझेदारीको मोडलमा २९ तले बहुउद्देश्यीय टावर निर्माण सम्झौता गर्‍यो । ठेकेदारसँग २९ तलाको सम्झौता गरे पनि सहरी विकास मन्त्रालयले त्यहाँ १२ तलाभन्दा ठूलो भवन बनाउन नमिल्ने बताएपछि भदौ ०७२ मा महानगरले १२ तले भवनको नक्सा पास गर्‍यो । सोही वर्ष २५ कात्तिकमा उपराष्ट्रपति नन्दबहादुर पुनले काठमाडौं भ्यु टावरको शिलान्यास गरे । कम्पनीले नयाँ बसपार्कको २३ रोपनी ५ आना जग्गामा भ्यु टावर निर्माण गरिरहेको छ । टावर निर्माण सम्झौता हुँदा करिब तीन अर्ब लाग्ने अनुमान गरिएको थियो ।

वडा नम्बर २८ का अध्यक्ष भाइराम खड्गी भन्छन्– छिटो सक्न महानगरलाई पत्र लेख्दै छौँ
भ्यु टावर निर्माणलाई नियालिरहेका काठमाडौं–२८ का वडा अध्यक्ष भाइराम खड्गीको दोस्रो कार्यकालको पनि ६ महिना बित्न लागेको छ । तर, अहिलेसम्म टावर निर्माणले सोचेअनुरूप गति नलिएको उनी बताउँछन् ।

‘टावर बन्न त बनिरहेको छ । तर, धेरै भइसक्यो । वडा कार्यालयअगाडि नै भ्यु टावर बनिरहँदा धुलो उड्ने, बाटोमा समेत अवरोध भइरहेको छ । त्यसैले हामीले छिटो सकाउन पटक–पटक भनिरहेका छौँ,’ अध्यक्ष खड्गीले भने । उनका अनुसार मौखिक रूपमा जति भन्दा पनि नभएकाले अब छिटो बनाउन महानगरलाई पत्र लेख्दै छौँ ।

नूरनिधि न्यौपाने, निर्देशक  काठमाडौं महानगरपालिका 
अध्ययन टोलीले महानगरको कामसँगै भ्यु टावरको प्राविधिक पक्षबारे समेत काम गर्ने भएकाले रिपोर्ट बुझाउन समय लाग्छ ।

अध्ययन प्रतिवेदन बनाइसक्नुपर्ने समय पनि तोकिएको छैन । कस्तो काम भइरहेको छ ?

टावर निर्माणको सयमसीमा थप्ने–नथप्ने, टावरको विषयमा महानगर कसरी अगाडि बढ्ने भन्ने विषयमा प्राविधिक अध्ययनपश्चात् मात्र निर्क्योल हुनेछ ।