१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर २० मंगलबार
  • Friday, 09 May, 2025
रासस काठमाडौं
२o७९ मङ्सिर २० मंगलबार १३:२o:oo
Read Time : > 3 मिनेट
अर्थ डिजिटल संस्करण

कोरियाबाट फर्केर बंगुरपालन

Read Time : > 3 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o७९ मङ्सिर २० मंगलबार १३:२o:oo

गत जेठमा बंगुरमा लाग्ने ‘अफ्रिकन स्वाइन फ्लु’को प्रकोप देखियो। मुलुकका विभिन्न क्षेत्र हुँदै यसको संक्रमण काभ्रेपलाञ्चोकका बंगुर फार्मसम्म पुग्यो। यसले त्यस क्षेत्रका बंगुरहरू फार्मभित्रै मर्न थाले। 

दक्षिण कोरियाबाट फर्केर सुनील र अनिता स्याङ्तानदम्पतीले एक वर्षअघि सुरु गरेको ‘उन्नति हाम्रो बंगुर फार्म’ पनि अफ्रिकन स्वाइन फ्लुको संक्रमणबाट अछुतो रहेन। अफ्रिकन स्वाइन फ्लुले स्याङ्तानको फार्ममा ३८ वटा माउ बंगुर मार्‍यो। माउ बंगुर नै नरहेपछि तीन सय ८० भन्दा बढी बच्चा दूध खान नपाएर मरे। यसले स्याङ्तानदम्पतीलाई व्यवसायको पहिलो वर्षमै ठूलो धक्का लाग्यो।

‘जेठमा अफ्रिकन स्वाइन फ्लु नआएको हुँदो हो त बंगुर फार्ममा गरेको डेढ करोड लगानी उठिसकेको हुन्थ्यो,’ सुनीलले भने, ‘अफ्रिकन स्वाइन फ्लु संक्रमणको जोखिम अझै पनि छ।’ बंगुरपालनको पहिलो वर्षमा प्रतिफल लिने समयमा स्वाइन फ्लुका कारण व्यवसायमा नराम्रो धक्का लागे पनि स्याङ्तानदम्पतीले भने हरेस खाएको छैन।

मलेसियामा ६ वर्ष नौ महिना सेक्युरिटी गार्डको काम गरेपछि सुनील ०७१ मा नेपाल फर्किए। त्यसवेला दक्षिण कोरिया जानका लागि भाषा परीक्षाको तयारी चलिरहेको थियो। उनले पनि बागबजारको इन्स्टिच्युटमा भाषा परीक्षा पढ्न थाले। काभ्रेपलाञ्चोक खानीखोला– ६ का स्याङ्तानले दुई महिनाको तयारीमा भाषा परीक्षा उत्तीर्ण गरे र अर्को ६ महिनामा इपिएसमार्फत दक्षिण कोरियामा कृषि क्षेत्रमा कामका लागि छनोट भए।

उनलाई दक्षिण कोरियामा बंगुर फार्ममा काम मिल्यो। पैसा राम्रो भए पनि दुःख असाध्यै थियो। स्याङ्तानले त्यसलाई दुःखका रूपमा नलिई सिक्ने अवसरका रूपमा लिए। कोरियामा काम गर्दा बंगुरलाई कृत्रिम गर्भाधारण गर्नेदेखि हुर्काउने र बजार पठाउनेसम्मको कामको जिम्मेवारी उनकै काँधमा आइपर्‍यो।

त्यसो त कोरिया जानुअघि सुनील र अनिता लामाको बिहे भएको थिएन। कोरिया जाँदा पहिलो वर्ष सुनील बंगुर फार्ममा र अनिता स्ट्रबेरी फार्ममा काम गर्थे। त्यसको दुई वर्षपछि ०७४ मा नेपाल फर्किएर विवाह गरे। ‘बिहेपछि दुवै कोरिया फर्कियौँ र एउटै बंगुर फार्ममा काम गर्न थाल्यौँ,’ उनले भने, ‘दुवैजना सँगै भएकाले काम गर्न सजिलो पनि भयो भने बंगुरपालनबारे धेरै सिक्ने मौका पनि पायौँ।’

कोरियामा श्रमिकका रूपमा पाँच वर्ष बिताएपछि सम्झौताबमोजिम नेपाल फर्कने समय आयो। उनीहरूले नेपाल फर्केर के गर्ने भन्ने योजना बनाउँदै गर्दा कोरियामा सिकेको सीप, दक्षता र रकम खर्चेर स्वदेशमै बंगुरपालन गर्ने निर्णय लिए। ‘हामी कोरियामै छँदा नै नेपाल फर्केपछि बंगुरपालन नै गर्ने सोच बनाइसकेका थियौँ,’ उनले भने, ‘दुवैको सोच मिलेपछि नेपाल फर्कन सहज भयो ।’

उनीहरू ०७६ फागुनमा नेपाल फर्किए, तर चैतदेखि नै कोरोना महामारीले छोयो। राज्यले बन्दाबन्दीको घोषणा गरेकाले बंगुरपालनको योजना केही समय पर धकेलियो। कोरोना महामारीको जोखिम केही कम भएपछि ०७७ असोजमा घरेलु कार्यालयमा फार्म दर्ता गरी कात्तिकदेखि खोर निर्माणको काम सुरु भयो। फार्म निर्माण र कोरियाबाट प्राविधिक सामग्री मगाएर जडान गर्दा ०७८ जेठदेखि मात्रै बंगुरपालन व्यवसाय सुरु भयो।

स्याङ्तानदम्पतीले पनौतीमा पाँच रोपनी क्षेत्रफल जमिन वार्षिक रु. ७५ हजार तिर्ने गरी भाडामा लिएर बंगुर फार्म सुरु गरेकाे छ। यसमा दक्षिण कोरियामा यो दम्पतीले कमाएको रु. डेढ करोड लगानी भएको छ। फार्म निर्माणमा मात्रै रु. ७५ लाख खर्च भएको छ। ‘सुरुमा पाँचखालमा फार्म सुरु गर्ने योजना थियो, तर ठाउँ खोज्दै जाँदा पनौतीमा फेला पर्‍यो,’ उनले भने, ‘फार्मबाट वार्षिक नौ सयभन्दा बढी बंगुर उत्पादन र बिक्री गर्ने योजना बनाएका छौँ।’

स्याङ्तानले बंगुरपालन सुरु गर्दा दोलखाको जिरीबाट २६ वटा ल्यान्डरस जातिको बंगुरको बच्चा ल्याए। केही समयपछि त्यो संख्यालाई ५० पुर्‍याए। ल्यान्डरस जातिको बंगुरलाई कम दाना खुवाउँदा पनि मासु बढ्ने र माउको दूध पनि धेरै आउने उनको भनाइ छ । 

फार्ममा बंगुरलाई कृत्रिम गर्भाधारणदेखि हुर्काउनेसम्मका चरणका लागि छुट्टाछुट्टै संरचना बनाइएको छ। फार्ममै बंगुरलाई कृत्रिम गर्भाधारण गराइन्छ। माउ र बच्चालाई राख्ने छुट्टै कक्ष छ। बच्चा जन्मिएपछि करिब ३० देखि ३२ दिनसम्म बच्चालाई माउसँग राखेपछि अगल्लै राखिन्छ। बंगुरको बच्चालाई विभिन्न चरणमा गरी ६ महिना हुर्काएपछि मासु बिक्रीका लागि योग्य हुन्छ।

यस फार्मबाट माउ, बच्चा, हुर्कँदै गरेको बंगुरदेखि वयस्क बंगुर मात्र होइन, बंगुरको वीर्य पनि बिक्री हुन्छ। बंगुरपालनमा धेरै माउका लागि धेरै भाले बंगुर पाल्न सम्भव हुँदैन। एउटै भालेको वीर्यबाट धेरैलाई गर्भधारण गराउनका लागि ‘सिमन एक्सटेन्डर’ प्रयोग गर्ने उनको भनाइ छ। ‘सामान्यतयाः एउटा भाले बंगुरबाट निकालेको बढीमा एक सय एमएल वीर्यमा सिमन एक्सटेन्डर मिसाएर एक लिटरसम्म बनाउँछौँ,’ उनले भने, ‘यसो गर्दा एउटा भालेको वीर्यले १८ वटासम्म पोथी बंगुरलाई पुग्छ भने २० घन्टासम्म राख्न सकिने अवधिलाई बढाएर १२ दिनसम्म काम लाग्ने बनाउँछौँ।’ यस्तो वीर्यलाई १७ डिग्री तापक्रममा राख्नुपर्छ। यसका लागि पनि फार्ममा विशेष व्यवस्था गरिएको उनको भनाइ छ । 

पछिल्लो समय स्याङ्तानले काभ्रेका अन्य बंगुर फार्ममा पनि कृत्रिम गर्भधारणका लागि सेवा दिँदै आएका छन्। कृत्रिम गर्भधारणको सेवा सहज हुँदा अन्य फार्मलाई भाले बंगुर पाल्नुपर्ने झन्झट पनि हटेको छ। फार्ममा करिब ५० वटा माउ राख्न सक्ने क्षमता छ। बंगुरहरूले गर्ने दिसापिसाबलाई सीधै ‘सेप्टी ट्यांकी’मा जाने व्यवस्था मिलाइएको छ। फार्ममा बच्चा राख्नका लागि २६ डिग्रीको तापक्रम भएको कक्षको पनि व्यवस्था छ।

फार्म पूर्ण रूपमा सञ्चालन आएपछि मासिक सयवटा बंगुरका बच्चा जन्मनेछन् भने प्रत्येक ६ महिनापछि ती सबै बिक्रीका लागि योग्य हुनेछन्। उनले औसतमा वार्षिक नौ सयभन्दा बढी बंगुर बिक्री गर्ने योजना बनाएका छन्। हाल फार्ममा ३० वटा माउ र २० वटा साना बंगुर छन्। यी बंगुरका लागि उनको कम्पनीले चितवन, हेटौँडा र पाटन औद्योगिक क्षेत्रबाट दाना आपूर्ति गर्दै आएको छ।

बंगुरपालनमा सामान्यतयाः ४० प्रतिशत खुद नाफा हुन सक्ने उनको भनाइ छ। उनले बजारीकरणका लागि काठमाडौंमा डिलरमार्फत बिक्री गर्नुका साथै मासु खपतका लागि आफ्नै सेकुवा कर्नर खोल्ने योजना बनाएका छन्। हाल उनीसँग दुईवटा मासु पसल पनि छ।

स्याङ्तानले हालै व्यवसाय विस्तारका लागि बैंकबाट सहुलियत ब्याजदरमा रु. २९ लाख कर्जाका लागि आवेदन दिएका छन्। उनका अनुसार स्वाइन फ्लु नभएको भए यो वर्षसम्म उनले रु. दुई करोड आम्दानी गरिसक्थे र अहिले कर्जा लिनुपर्ने अवस्था हुन्नथ्यो। अफ्रिकन स्वाइन फ्लुका कारण डेढ करोड लगानी उठ्न सकेन। यद्यपि, स्याङ्तानदम्पती आगामी दिनमा बंगुरपालनबाट राम्रो आम्दानी हुनेमा भने ढुक्क देखिन्छन्।