१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २० मंगलबार ०७:५३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

महानगरको कल सेन्टरमा २१ हजार कल, सबैभन्दा बढी फोन महानगर प्रहरी बललाई

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २० मंगलबार ०७:५३:००

काडमाडौं महानगरको कल सेन्टरमा ६ महिनामै २१ हजार फोनकल (सोधपुछ तथा गुनासो) आएको छ । महानगरले गत जेठमा सर्वसाधारणको गुनासो सुन्न कल सेन्टर स्थापना गरेको थियो । यही क्रममा १५ मंसिरसम्ममा २१ हजार आठ सय ८६ कल आएका हुन् ।

महानगरमा आएका कलमध्ये एक हजार आठ सय ६८ गुनासा छन् । ती गुनासा सम्बन्धित विभाग र निकायमा समाधानका लागि पठाइएको छ । गुनासामध्ये सबैभन्दा धेरै नगर प्रहरी बलका लागि ६ सय १५, मेयर सचिवालयका लागि चार सय सात, सार्वजनिक निर्माण शाखाका लागि तीन सय ९५, वातावरण विभागका लागि तीन सय ६५, स्वास्थ्य शाखाका लागि ७५, प्रशासन शाखाका लागि १९ र अन्य शाखाका लागि सात गुनासा आएका छन् । विभिन्न शाखामा पठाइएका गुनासामध्ये सात सय ४१ गुनासा समाधान भइसकेका छन् ।

११ सय २६ गुनासा समाधानको चरणमा रहेको महानगरपालिकाअन्तर्गत सूचना प्रविधि विभागले जनाएको छ । कल सेन्टरमा आएका कलमध्ये जेठ–असार महिनामा सबैभन्दा धेरै ६ हजार आठ सय ६५ कल आएका छन् । असार–साउनमा तीन हजार पाँच सय १३, साउन–भदौमा एक हजार सात सय ९४, भदौ–असोजमा पाँच हजार एक सय १०, असोज–कात्तिकमा दुई हजार आठ सय पाँच र कात्तिक–मंसिरमा एक हजार सात सय ९९ कल आएका छन् । 

निर्वाचित हुनेबित्तिकै काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालन गर्ने घोषणा गरेका थिए । सोही घोषणाअनुरूप महानगरलाई उत्तरदायी स्थानीय सरकार बनाउन कल सेन्टरको स्थापना गरेका थिए ।

नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि १६ जेठमा बसेको पहिलो कार्यपालिका बैठकले सात दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्दै २४ जेठदेखि राष्ट्रिय सभागृहमा कल सेन्टर सञ्चालन गरिएको थियो । महानगरसँग कुनै गुनासो गर्नु छ भने वा केही सोधपुछ गर्नुपरे टेलिफोन नम्बर १६६००१०५५११ मा निःशुल्क सम्पर्क गर्न सकिने व्यवस्था छ ।