१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
प्रेम गौतम काठमाडाैं
२०७९ मङ्सिर २० मंगलबार ०६:२९:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

चार दलका शीर्ष नेताले भने- संविधान सुरक्षित, गठबन्धन निरन्तर

Read Time : > 2 मिनेट
२०७९ मङ्सिर २० मंगलबार ०६:२९:००

सरकार निर्माणको कसरतमा बढ्दो भेटवार्ता

पाँचदलीय सत्तागठबन्धनले नयाँ सरकार पनि यही गठबन्धनको नेतृत्वमा बनाउन पहल गर्ने भएको छ । यद्यपि, निर्वाचनबाट आफ्नो पक्षमा अपेक्षित नतिजा भने नआएको गठबन्धनको निष्कर्ष छ । 

निर्वाचनपछि पहिलोपटक सोमबार बसेको सत्तागठबन्धनको बैठकले चुनावी समीक्षा गर्दै अपेक्षित परिणाम नआए पनि गठबन्धनकै पक्षमा जनादेश रहेको ठहर गरेको हो । बैठकमा सहभागी माओवादी महासचिव देव गुरुङका अनुसार नेतृत्व तहमा गठबन्धनको निर्णय इमानदारपूर्वक कार्यान्वयन भए पनि तल्लो तहमा समस्या आउँदा अपेक्षित परिणाम नआएको निष्कर्ष निकालिएको छ । 

‘अपेक्षाकृत परिणाम आउन सकेन, तर जनादेश गठबन्धनकै पक्षमा छ । नेतृत्व तहमा इमानदारपूर्वक सहमति कार्यान्वयनमा गयो, तर तल्लो तहमा कतिपय क्षेत्रमा समस्या देखिए । जसका कारण गठबन्धनको पक्षमा अपेक्षाकृत परिणाम नआएको बैठकको निष्कर्ष छ,’ उनले नयाँ पत्रिकासँग भने । 

बैठकमा लोसपाबाहेक कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनमोर्चाका नेता सहभागी थिए । निर्वाचनमा सत्तागठबन्धनसँग मधेसमा तालमेल गरेको लोसपा भने बैठकमा सहभागी थिएन । गठबन्धनमा न्यूनतम सहमति जुटाएपछि लोसपासहित बस्ने नेताहरूको भनाइ छ । 

बैठकपछि चार दलका शीर्ष नेताको हस्ताक्षरसहित जारी विज्ञप्तिमा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुष्टि गरेको जिकिर गरिएको छ । ‘हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको नतिजाले वर्तमान गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको छ । मुलुकका सामु विद्यमान चुनौतीको सामना गर्नुपर्ने आवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी छ,’ विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिएको छ ।’ 

निर्वाचनले संविधान सुरक्षित गरेको र मुलुक राजनीतिक स्थायित्व र समृद्धितर्फ उन्मुख भएको सत्तागठबन्धनको निष्कर्ष छ । ‘मुलुकको विशिष्ट परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षाका लागि स्थापित गठबन्धनको सरकारले स्थानीय, प्रदेश र प्रतिनिधिसभा तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै लोकतन्त्र थप सुदृढ हुँदै संविधान अझ सुरक्षित भई मुलुक राजनीतिक स्थायित्व र समृद्धिको दिशातर्फ उन्मुख भएको छ ।’ 

गठबन्धनले आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता पनि गरेको छ । ‘आममतदाताको भरोसा र भावनालाई कदर गर्दै जनता र मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ । 

थप समीक्षा गरेर गठबन्धनलाई निरन्तरता दिने निर्णय पनि बैठकले गरेको छ । ‘निर्वाचनका दौरानमा गठबन्धनको केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिए,’ विज्ञप्तिमा भनिएको छ , ‘निर्वाचनका दौरान देखिएका ती असमझदारीहरूको पनि आगामी दिनमा उचित समीक्षा र सम्बोधन गरिनेछ ।’ विज्ञप्तिमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनमोर्चा उपाध्यक्ष दुर्गा पौेडेलले हस्ताक्षर गरेका छन् ।

बैठकमा सहभागी एकीकृत समाजवादीका नेता प्रमेश हमालले निर्वाचनको परिणामलाई मिश्रित रूपमा लिइएको बताए । समग्र परिणामलाई एकै रूपमा नहेरी क्षेत्रगत रूपमा समीक्षा गर्नुपर्नेबारे छलफल भएको उनको भनाइ छ । ‘गठबन्धन कतिपय क्षेत्रमा पूर्ण सफल, कतिपय क्षेत्रमा आंशिक सफल र कतिपय क्षेत्रमा सफल हुन सकेन,’ उनले भने, ‘समग्रमा एकै बास्केटमा हालेर हेर्नेभन्दा पनि क्षेत्र केलाएर समीक्षा गर्नुपर्ने कुरा बैठकमा उठेको छ । आज दलगत रूपमा सामान्य चुनावी समीक्षा भयो ।’

बैठकमा आगामी सरकारको समीकरणका विषयमा भने सामान्य छलफल मात्रै भएको थियो । सरकारका प्रवक्ता तथा कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको नेतृत्व कसले गर्ने र समग्र सरकार गठनको प्रक्रियाबारे समानुपातिकको परिणाम आएपछि मात्रै छलफल अघि बढ्ने बताए । ‘सरकार गठबन्धनकै बन्छ । अरू दल पनि यसमा सहभागी हुनुहुन्छ । विज्ञप्ति नै आइसकेपछि यसमा शंका गर्नुपर्ने कारण छैन । सरकारको विषय तपाईंहरूले एक–दुई दिनमा थाहा पाउनुहुनेछ,’ बैठकपछि प्रतिक्रिया दिँदै उनले भने । प्रधानमन्त्री देउवालगायत सत्तागठबन्धनका नेताहरू जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेताहरूसँग निरन्तर छलफलमा छन् । ती दलले सरकारमा सहभागी हुने वचन दिइसकेको नेताहरूको भनाइ छ । 

बहुमत जुटाउँदै सत्तागठबन्धन
प्रतिनिधिसभामा कुल सांसद :  २७५, सरकार बनाउन आवश्यक सांसद : १३८

बाँकी संख्या यसरी जुटाउँदै छ गठबन्धन : प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेता पाँच सिट भएको जनमत पार्टी र तीन सिट भएको नागरिक उन्मुक्ति पार्टीसँग निरन्तर संवादमा छन् । उनीहरू सरकारमा सहभागी हुन सहमत रहेको नेताहरूको दाबी छ । त्यसबाहेक रौतहटबाट स्वतन्त्र रूपमा जितेका प्रभु साहलाई सत्तागठबन्धनले निर्वाचनमा सहयोग गरेको थियो । उनी र उनकै समूहबाट स्वतन्त्र जितेका किरणकुमार साहले पनि सघाउने गठबन्धनको अपेक्षा छ ।

गगनलाई बोलाइएन बैठकमा

सत्तागठबन्धनको बैठकमा कांग्रेसले महामन्त्री गगन थापालाई भने सहभागी गराएन । स्रोतका अनुसार सभापति देउवाको अनिच्छाका कारण उनलाई नबोलाइएको हो ।

निर्वाचनअघि गठबन्धनको सिट बाँडफाँड कार्यदलमा महामन्त्री थापा सहभागी थिए । गठबन्धनको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला र ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।

गगननिकट स्रोतले पनि बैठकबारे कुनै जानकारी नगराइएको बतायो । थापाले संसदीय दलको नेता बन्ने तयारी थालेपछि सभापति देउवा सकारात्मक नरहेको नेताहरूको आकलन छ ।

‘चुनावअघि सिट बाँडफाँडमा भूमिका खेले पनि उहाँलाई यो बैठकबारे कुनै जानकारी गराइएन । निर्वाचनलगत्तै सभापतिज्यूले आफूनिकटकालाई सहभागी गराउने, आफूविरुद्ध उभिनेलाई निषेधको मनसाय राखेर नबोलाइएको देखियो,’ गगननिकट एक नेताले भने ।