१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १९ सोमबार १३:०३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बैंकका सञ्चालकलाई आइएमएफको सुझाव : ‘सावधानीपूर्वक विषम परिस्थितिको सामना गर’

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १९ सोमबार १३:०३:००

विषम परिस्थितिलाई सहज बनाउन सावधानीपूर्वक काम गर्न अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)ले बैंक तथा वित्तीय संस्थाका सञ्चालकलाई सुझाव दिएको छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले नेपालको वर्तमान अर्थतन्त्र जटिलताका विषयमा आइएमएफका नेपाल प्रतिनिधि टेरेसा डबान सान्चेजसँग छलफल गरेको थियो । 

छलफलमा आवासीय प्रतिनिधि सान्चेजले अहिले नेपालको मात्र नभई विश्व अर्थतन्त्रको अवस्था जटिल बन्दै गएको उल्लेख गरे । संयुक्त राज्य अमेरिका र युरोपमा समेत आन्तरिक माग र आपूर्तिको अवस्था खलबलिँदा ब्याजदर उच्च भई मुद्रास्फीति बढेको बताए । दुई ठूला अर्थतन्त्र र बजार भएका भारत र चीनका बीचमा रहेकाले नेपालले उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार गर्दै उत्पादकत्व वृद्धि, आन्तरिक उपयोगमा प्रोत्साहन र विशिष्ट विशेषता भएका मौलिक उत्पादनहरूको निर्यात प्रवद्र्धनमा जोड दिनुपर्नेमा सुझावसमेत दिए । 

प्रमुखलगायतलाई स्वागत गर्दै सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले बैंक तथा वित्तीय संस्थाले लिने सेवाशुल्क, ब्याजदर, लगानीयोग्य रकमको अभावलगायतका विषयले बैंक तथा वित्तीय संस्थाहरूमा चुनौती सिर्जना हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे । नेपालको आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार र स्तरोन्नतिका क्षेत्रमा सहकार्य गर्न आइएमअफका प्रतिनिधिसमक्ष आग्रह गरे । 

त्यसैगरी, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडका पूर्वप्रमुख कार्यकारी अधिकृत जोसेफ सिल्भानसले बैंक तथा वित्तीय संस्थाहरूको नन–फन्डेड आम्दानी कम हुँदै गएको उल्लेख गर्दै बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो उत्पादन र लगानीका क्षेत्रहरू आफैँ पहिचान गरी अगाडि बढ्नुपर्ने सुझाव दिए । 

सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले कम उत्पादनमूलक क्षेत्रमा अत्यधिक लगानी भएको कारण पनि नेपालको उत्पादन प्रणाली र कृषि क्षेत्र कमजोर रहेको टिप्पणी गर्दै, त्यसको प्रत्यक्ष असर आयातमा परेको बताए । उत्पादनमूलक क्षेत्रमा लगानी विस्तारसहित उत्पादकत्व अभिवृद्धि, नेपाली उत्पादनको उपभोगलाई प्रोत्साहन र मौलिक उत्पादनको निर्यात प्रवद्र्धनमा जोड दिने खालका नीतिगत सुधार गर्न सकेमा मात्र आयातमुखी अर्थतन्त्रलाई निर्यातमुखी अर्थतन्त्रमा बदल्दै दिगो र आत्मनिर्भर अर्थतन्त्रको निर्माणमा सहयोग पुग्नेमा उनको विशेष जोड थियो ।