१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १९ सोमबार
  • Friday, 09 May, 2025
२o७९ मङ्सिर १९ सोमबार १२:४४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

अफ्रिकन स्वाइन फिबर फैलँदा रित्तियो बंगुर फार्म

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १९ सोमबार १२:४४:oo

बंगुरमा अफ्रिकन स्वाइन फिबर रोग महामारीका रूपमा फैलिएपछि कैलालीको भजनी नगरपालिकास्थित बडिमालिका कृषि प्रवर्द्धन केन्द्रको बंगुर फार्म रित्तिएको छ। स्वाइन फिबरबाट चार सय १२ वटा बंगुर मरेका भजनी नगरपालिकाले जनाएको छ। संक्रमित ७० वटा बंगुरलाई सरोकारवालाको रोहवरमा गत साता मारेर खाल्डोमा गाडिएको छ।

फार्ममा संक्रमण फैलिएर बंगुर मरेपछि व्यावसायिक रूपमा बंगुरपालन गर्दै आएका फार्म सञ्चालक जयबहादुर बुढा मारमा परेका छन्। उनले लाखौँको घाटा व्यहोर्नुपरेको दुखेसो पोखे। भजनी नगरपालिका पशु सेवा शाखाले तयार गरेको प्रतिवेदनअनुसार यो फार्ममा ९५ लाख २० हजार मूल्यबराबरको क्षति भएको छ।

फार्म सञ्चालक बुढाका अनुसार एक महिनाअघि खोरमा सबै बंगुर एक ठाउँमा गुटमुटिएर बस्ने, स्वास फेर्न गाह्राे हुनेजस्ता लक्षण देखिएको थियो। बंगुर बिरामी हुन थालेपछि उनले नगरपालिकाको प्राविधिकलाई गुहारे । शंकास्पद लक्षण देखिएपछि नमुना पठाएर केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिबर पुष्टि भएको भजनी नगरपालिकाको पशुसेवा शाखाका प्रमुख भेटनरी अधिकृत हरिलाल जैशीले बताए।

मरेको बंगुर पशुपन्छी अन्वेषण प्रयोगशाला धनगढीमा परीक्षण गर्दा अफ्रिकन स्वाइन फिबरको सम्भावना देखाएको थियो। पछि नमुना काठमाडौं पठाउँदा १५ कात्तिकमा रोग पुष्टि भएको उनले बताए। अफ्रिकन स्वाइन फिबर पुष्टि भएपछि पशुसेवा विभाग, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढी र भेटनरी अस्पताल कैलालीको टोलीले फार्मको निरीक्षण गरेको थियो। केन्द्रको विज्ञ टोलीले भनेअनुसार बचेका सबै बंगुर मारेर खाल्डोमा पुरिएको नगरपालिकाका भेटनरी अधिकृत जैसीले बताए।

भेटनरी अस्पताल धनगढीका प्रमुख डा. हेमराज अवस्थीले जिल्लाको सबैभन्दा ठूलो बंगुर फार्ममा रोग फैलिँदा ठूलो क्षति भएको बताए। बंगुर फार्मसँगै रहेको मासु पसलबाट बंगुरमा संक्रमण फैलिएको देखिएको उनले बताए। ‘यो फार्मबाट अन्यत्र पनि संक्रमण फैलिएको हुन सक्छ भनेर जिल्लाका केही ठाउँमा परीक्षण गरेका थियौँ, तर अहिलेसम्म अन्यत्र देखिएको छैन,’ डा. अवस्थीले भने। अफ्रिकन स्वाइन फिबरले मान्छेमा कुनै असर भने नगर्ने उनले बताए। बंगुर प्रजातिमा मात्र देखिने यो रोगको कुनै उपचार नरहेको पशु चिकित्सकले बताएका छन्।

बुढाले १० कट्ठा जमिनमा लामो समयदेखि बंगुरपालन गर्दै आएका थिए। बंगुरपालन व्यवसाय गर्नका लागि बैंकबाट लिएको ६५ लाख ऋण कसरी तिर्ने भन्ने पिरलोमा आफू रहेको उनले बताए। सरकारबाट आफूले राहतको आशा गरेको बुढाले सुनाए।

कैलालीमा बंगुर फार्महरूमा क्लासिकल स्वाइन फिबरको संक्रमण पनि बढ्न थालेको छ। यो संक्रमणबाट जिल्लाभरि करिब सात सय बंगुर मरेका भेटनरी अस्पतालका प्रमुख अवस्थीले बताए । अधिकांश बंगुर फार्ममा अहिले क्लासिकल स्वाइन फिबर फैलिएको देखिएको उनले बताए । डा. अवस्थीका अनुसार यो रोगको पूर्ण उपचार नभए पनि ६–६ महिनामा खोप लगाएर न्यूनीकरण गर्न सकिन्छ । बंगुरलाई खोप लगाउनका लागि पशु अस्पतालले पहल गरिरहेको उनले बताए ।