प्रदेश सभामा समानुपातिक प्रणालीबाट चुनिने दुई सय २० सांसदमध्ये करिब ७६ प्रतिशत महिला आउने भएका छन् । प्रदेश सभाका कुल सदस्यमध्ये ३३ प्रतिशत महिला हुनुपर्ने संवैधानिक व्यवस्था छ । दलहरूले प्रत्यक्षतर्फ महिलालाई टिकट वितरणमै चरम उपेक्षा गरेका थिए । त्यसमध्ये पनि निर्वाचित हुनेको संख्या अत्यन्त न्यून भएपछि महिला उपस्थितिको पूर्ति समानुपातिकबाट गर्नुपर्ने बाध्यता दलहरूलाई छ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षबाट एकजना पनि महिला निर्वाचित भएका छैनन् । प्रदेश १ बाट दुई, मधेसमा चार, बागमतीमा पाँच, गण्डकीमा दुई र लुम्बिनीमा प्रत्यक्षबाट एकजना महिला मात्रै निर्वाचित भएका छन् । प्रदेशमा अहिलेसम्म दलहरूले पाएको मतलाई केलाउँदा सातवटै प्रदेशमा समानुपातिकबाट आउने दुई सय २० सांसदमध्ये एक सय ६७ जना महिला हुने देखिन्छ ।
समानुपातिकबाट सबैभन्दा धेरै महिला मधेस र बागमती प्रदेशबाट ३१–३१ जना छानिने देखिन्छ । त्यस्तै, प्रदेश १ बाट २९, लुम्बिनीबाट २८, गण्डकीबाट १८, सुदूरपश्चिमबाट १७ र कर्णालीबाट १३ जना महिला छानिने सम्भावना छ ।
(नयाँ पत्रिकाले यो सूची निर्वाचन आयोगले जारी गरेको प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७४ अनुसार तयार गरेको हो । पूर्ण नतिजा आइसकेपछि यसमा एक/दुई सिट र नाम तलमाथि हुन सक्छन् ।)
९३ सदस्यीय प्रदेश १ को सभामा प्रत्यक्षबाट ५६ र समानुपातिकबाट ३७ सांसद चुनिन्छन् । प्रत्यक्षतर्फ एमालेले २५, कांग्रेसले १७, माओवादीले नौ, एकीकृत समाजवादीले तीन र राप्रपाले दुई सिट जितेका छन् । त्यसमध्ये एकीकृत समाजवादी र राप्रपाबाट एक–एक महिला निर्वाचित भएका छन् । सभामा ३३ प्रतिशत महिला सहभागिता पुर्याउन अब दलहरूले समानुपातिकबाट चुनिने ३७ मध्ये ३१ जना महिला पठाउनुपर्ने हुन्छ ।
समानुपातिकतर्फ एमालेले १५, कांग्रेसले १२, माओवादी र राप्रपाले चार–चार तथा एकीकृत समाजवादी र जसपाले एक–एक सिट पाउने देखिन्छ । आफूले पाएको सिटअनुसार दलहरूले नाम छनोट गर्दा आदिवासी जनजाति ४६.७९, खस–आर्य २७.८४, थारू ४.१५, दलित १०.०६, मधेसी ७.५७ र मुस्लिम ३.५९ प्रतिशत पठाउनुपर्ने कानुनी व्यवस्था छ । यसरी छान्दा अल्पसंख्यक समुदायबाट १७.५३ र सम्बन्धित प्रदेशअन्तर्गतको पिछडिएका क्षेत्रबाट ०.४४ प्रतिशत नाम समावेश हुनुपर्छ ।
एक सय सात सदस्यीय मधेस प्रदेश सभामा प्रत्यक्षबाट ६४ र समानुपातिकबाट ४३ सांसद छानिन्छन् । ३३ प्रतिशत सहभागिताको व्यवस्थाअनुसार सभामा ३५ जना महिला अनिवार्य हुनुपर्छ । प्रत्यक्षतर्फ एमालेले १५, कांग्रेसले १३, जसपा नौ, लोसपाले सात, जनमत पार्टीले ६, माओवादी र एकीकृत समाजवादीले चार–चार र स्वतन्त्रले ६ सिट जितेका छन् । एमाले, लोसपा, एकीकृत समाजवादी र स्वतन्त्रबाट एक–एक गरी चार महिला निर्वाचित भएका छन् ।
समानुपातिकतर्फ कांग्रेसले नौ, एमालेले आठ, जनमत पार्टीले सात, जसपाले ६, माओवादीले चार, एकीकृत समाजवादीले तीन, लोसपाले दुई तथा राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले एक–एक सिट पाउने देखिन्छ । दलहरूले आफूले पाएका सिटमध्ये मधेसी ५४.३६, दलित १७.२९, मुस्लिम ११.५८, जनजाति ६.६१ र खस–आर्य ४.८९ प्रतिशत छान्नुपर्ने कानुनी व्यवस्था छ । यसरी छान्दा अल्पसंख्यक समुदायबाट २५.१७ प्रतिशत र सम्बन्धित प्रदेशअन्तर्गतको पिछडिएको क्षेत्रबाट २.११ प्रतिशत नाम समावेश गर्नुपर्ने हुन्छ ।
एक सय दश सदस्यीय बागमती प्रदेशमा प्रत्यक्षबाट ६६ र समानुपातिकबाट ४४ सदस्य छानिन्छन् । कुल सदस्यमध्ये ३६ जना महिला हुन्छन् । अहिलेसम्मको मतगणनाको नतिजाअनुसार समानुपातिकतर्फ एमालेले १४, कांग्रेसले १२, माओवादी र राप्रपाले सात–सात, एकीकृत समाजवादी दुई तथा नेमकिपा र हाम्रो नेपाली पार्टीले एक–एक सिट पाउनेछन् । प्रत्यक्षतर्फ कांग्रेसबाट दुई (खस–आर्य एक, जनजाति एक), माओवादीबाट दुई ९जनजाति) र एकीकृत समाजवादीबाट एक (जनजाति) महिला निर्वाचित भएका छन् । बाँकी महिला समानुपातिकबाट पूर्ति गर्नुपर्ने हुन्छ ।
दलहरूले समानुपातिकतर्फ पाएको सिटअनुसार छनोट गर्दा आदिवासी जनजाति ५३.१७, खस–आर्य ३७.०७, दलित ५.८४, थारू १.६६, मधेसी १.५७ र मुस्लिम ०.६७ प्रतिशत समावेश गर्नुपर्छ । यसरी छनोट गर्दा अल्पसंख्यक समुदायबाट ७.७७ र सम्बन्धित प्रदेशअन्तर्गतको पिछडिएको क्षेत्रबाट १.०० प्रतिशत उम्मेदवार समावेश गर्नुपर्ने हुन्छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा प्रत्यक्षबाट ३६ र समानुपातिकबाट ४४ सदस्य छानिन्छन् । कुल सदस्यको ३३ प्रतिशत अर्थात् २० जना महिला हुनुपर्छ । प्रत्यक्षमा एमालेबाट मात्रै दुई महिला (दलित एक, खस–आर्य एक) निर्वाचित भएका छन् । बाँकी समानुपातिकबाट पूर्ति गर्नुपर्छ ।
गण्डकीमा समानुपातिकबाट एमालेले १०, कांग्रेसले नौ, माओवादीले तीन र राप्रपाले दुई सिट पाउने देखिन्छ । दलहरूले पाएको सिटअनुसार छनोट गर्दा आदिवासी जनजाति ४२.३७, खस–आर्य ३७.२४, दलित १७.४४, थारू १.७२, मधेसी ०.५२ र मुस्लिम ०.७१ प्रतिशत छान्नुपर्ने हुन्छ । जसभित्र अल्पसंख्यक समुदायबाट ६.०२ र सम्बन्धित प्रदेशअन्तर्गतको पिछडिएको क्षेत्रबाट ०.०८ प्रतिशत उम्मेदवार समावेश गर्नुपर्ने हुन्छ ।
८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ सदस्य निर्वाचित हुन्छन् । कुल सदस्यमध्ये २९ जना महिला हुन्छन् । प्रत्यक्षतर्फ माओवादीबाट मात्रै एकजना (खस–आर्य) महिला निर्वाचित भएका छन् । बाँकी २८ महिला दलहरूले समानुपातिकबाट पूर्ति हुन्छ । प्रत्यक्षतर्फ एमालेले १८, कांग्रेसले १७, माओवादीले पाँच तथा जसपा, नागरिक उन्मुक्ति, लोसपा र राप्रपाले दुई–दुई र जनमत पार्टीले एक सिट जितेको छ । त्यस्तै, तीन स्वतन्त्र निर्वाचित भएका छन् ।
समानुपातिकतर्फ एमालेले ११, कांग्रेसले १०, माओवादीले चार, नागरिक उन्मुक्ति, राप्रपा र जनमत पार्टीले दुई–दुई तथा लोसपा, जसपा, एकीकृत समाजवादी र जनमोर्चाले एक–एक सिट पाउने देखिन्छ । दलहरूले समानुपातिक सांसद छनोट गर्दा आदिवासी जनजाति १९.५८, खस–आर्य २८.८४, दलित १५.११, थारू १५.१८, मधेसी १४.३५ र मुस्लिम ६.९४ प्रतिशत छान्नुपर्ने कानुनी व्यवस्था छ । यसरी छान्दा अल्पसंख्यक समुदायबाट ८.४७ र सम्बन्धित प्रदेशअन्तर्गतको पिछडिएको क्षेत्रबाट १.१७ प्रतिशत नाम समावेश गर्नुपर्ने हुन्छ ।
४० सदस्यीय कर्णाली प्रदेश सभामा प्रत्यक्षबाट २४ र समानुपातिकबाट १६ सांसद निर्वाचित हुन्छन् । कुल सदस्य संख्याको ३३ प्रतिशत अर्थात् १३ जना महिला हुन्छन् । प्रत्यक्षबाट एकजना पनि महिला निर्वाचित भएका छैनन् । समानुपातिकतर्फ कांग्रेस र एमालेले पाँच–पाँच, माओवादीले चार तथा एकीकृत समाजवादी र राप्रपाले एक–एक सिट पाउने देखिन्छ । समानुपातिक सांसद छनोट गर्दा खस–आर्य ६२.२, जनजाति १३.६३, दलित २३.२५, थारू ०.५, मधेसी ०.२४ र मुस्लिम ०.१८ प्रतिशत छान्नुपर्ने हुन्छ । यसरी छान्दा अल्पसंख्यक समुदायबाट १.४७ र सम्बन्धित प्रदेशअन्तर्गतको पिछडिएको क्षेत्रबाट ३२.४ प्रतिशत समावेश गर्नुपर्ने कानुनी व्यवस्था छ । कर्णालीमा प्रत्यक्षतर्फ कांग्रेस र माओवादीले नौ–नौ, एमालेले पाँच र एक स्वतन्त्र निर्वाचित भएका छन् ।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षबाट ३२ र समानुपातिकबाट २१ सदस्य छानिन्छन् । जसमध्ये १७ जना महिला सदस्य हुन्छन् । प्रत्यक्षमा एकजना पनि महिला निर्वाचित भएका छैनन् । प्रत्यक्षतर्फ कांग्रेसले १२, माओवादीले आठ, नागरिक उन्मुक्ति पार्टीले पाँच, एमाले र एकीकृत समाजवादीले तीन–तीन र एक स्वतन्त्र निर्वाचित भएका छन् ।
समानुपातिकबाट कांग्रेस र एमालेले सात–सात, माओवादीले तीन, नागरिक उन्मुक्तिले दुई तथा एकीकृत समाजवादी र राप्रपाले एक–एक सिट पाउने देखन्छि । आफूले पाएका सिटबाट दलहरूले छनोट गर्दा खस–आर्य ६०.०२, दलित १७.२९, थारू १७.२१, जनजाति ३.६१, मधेसी १.६४ र मुस्लिम ०.२३ प्रतिशत छान्नुपर्ने कानुनी व्यवस्था छ । यसरी छान्दा अल्पसंख्यक समुदायबाट २.३७ र सम्बन्धित प्रदेशअन्तर्गतको पिछडिएको क्षेत्रबाट १२.७८ प्रतिशतको नाम समावेश गर्नुपर्ने हुन्छ ।
*(नयाँ पत्रिकाले यो सूची निर्वाचन आयोगले जारी गरेको प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७४ अनुसार तयार गरेको हो । पूर्ण नतिजा आइसकेपछि यसमा एक-दुई सिट र नाम तलमाथि हुन सक्छन् । - सं.)