मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर १६ शुक्रबार १२:३३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

एसिया प्यासिफिक क्षेत्रका मेयरहरूको सम्मेलन सुरु, सुर्तीजन्य पदार्थ रोकथाम मुख्य एजेन्डा

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर १६ शुक्रबार १२:३३:००

एसिया प्यासिफिक सिटिज अलाइन्स फर टोबाको कन्ट्रोल एन्ड नन् कम्युनिकेबल डिजिज (एपिक्याट)को सातौँ शिखर सम्मेलन सुरु भएको छ। इन्डोनेसियाको बालीमा बिहीबारदेखि सुरु भएको सम्मेलनमा नेपालसहित भारत, श्रीलंका, इन्डोनेसिया, मलेसिया, कम्बाेडियालगायत १२ देशका ८२ सहरका नगर प्रमुख तथा अधिकारीको सहभागिता रहेको छ।

सुर्तीजन्य पदार्थको सेवन तथा नसर्ने रोगको रोकथाम र प्रकोपलाई प्रमुख मुद्दाको रूपमा सम्मेलनमा अघि सारिएको छ। एसिया प्रशान्त क्षेत्रका देशहरूको सहभागितासहित एपिक्याटले हरेक वर्ष फरकफरक देशका सहरमा सम्मेलन आयोजना गर्दै आएको छ। तर, कोरोना संक्रमणका कारण पाँचौँ र छैटौँ सम्मेलन भर्चुअल माध्यमबाट गरिए पनि यस वर्ष प्रत्यक्ष सहभागितामा आयोेजना गरिएको हो।

सम्मेलनमा नेपालका तर्फबाट भरतपुर महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदी, भरतपुर महानगरपालिका– ७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले र सञ्चारकर्मीहरू सहभागी छन्।

सम्मेलनको पहिलो दिन धूम्रपानरहित वातावरण निर्माणका लागि सुर्तीजन्य पदार्थको विज्ञापन र प्रचारप्रसार बन्द गर्ने, इ–सिग्रेट सेवन र बिक्रीमा रोक लगाउने, चेतावनीमूलक सन्देशसहितको प्याकेजिङ कार्यान्वयन गर्नेसहित पाँचबुँदे घोषणापत्र जारी गरिएको छ।

सम्मेलनको उद्घाटन सत्रमा विभिन्न देशका प्रतिनिधिहरूले सुर्तीजन्य पदार्थको बिक्री–वितरण तथा नसर्ने रोगको रोगथाममा भइरहेको प्रयास र आ–आफ्नो अवस्था प्रस्तुत गरे। उनीहरूले महानगर, नगर तथा विभिन्न सहरहरूका कार्यालय, विद्यालय तथा सार्वजनिक स्थानहरूमा सुर्तीजन्य प्रयोग निषेध गरिएको जानकारी गराए। बालीस्थित बोगरका नगरप्रमुख डा. विमा आर्या सुगियारटाले सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि राजनीतिक प्रतिबद्धता नै मुख्य विषय रहेको बताए।

सुर्तीजन्य पदार्थको कर बढाउने, प्रयोगकर्ता घटाउने, विज्ञापन तथा जनचेतनामूलक कार्यक्रम आयोजना गर्ने, उद्योगहरूलाई निरुत्साहित गर्नेजस्ता कार्यक्रम आवश्यक रहेको उनको धारणा छ। ‘टोबाको फ्री जेनेरेसन’का लागि युवाहरूमा उत्प्रेरणा र यसको हानिबारे जनचेतना दिन जरुरी छ,’ उनले भने, ‘स्थानीय सरकारहरूले पनि सुर्तीजन्य पदार्थ बिक्री–वितरण तथा रोकथामबारे चासो दिनुपर्छ।’ 

बालीका नगर प्रमुख गुस्टी एनगुराह जया नेगाराले सुर्तीजन्य पदार्थ रोकथाममा लागेको बताए। सन् २०२४ सम्म सुर्तीजन्य पदार्थको सेवन गर्ने युवाहरूको संख्या ९.४ बाट ८.४ प्रतिशतमा झार्ने लक्ष्य रहेको उनको भनाइ छ। सम्मेलनमा बोल्दै रिपब्लिक अफ इन्डाेनेसियाका स्वास्थ्यमन्त्री बुडी गुनाडी सादीकिनले सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा रोक लगाइएको जानकारी दिए।

द युनियनका क्षेत्रीय निर्देशक तारासिंह बमले सुर्तीजन्य पदार्थको बिक्री–वितरण तथा सेवन रोकथामका लागि राजनीतिक प्रतिबद्धता र कार्यान्वयन आवश्यक रहेको औँल्याए। ‘संसारका धेरै देशको यो ठूलो समस्या हो। यसबारे राजनीतिक प्रतिबद्धता आवश्यक छ,’ उनले भने, ‘नेपालमा पनि अहिले केही स्थानीय तहहरूले यसलाई कडाइ गरेका छन्।’

सुर्तीजन्य पर्दाथको सेवनबाट लाग्ने रोगका कारण नेपालमा वार्षिक २७ हजारभन्दा बढीको मृत्यु हुने गरेको छ। नेपालमा हाल काठमाडौं, ललितपुर, भरतपुर, पोखरालगायत महानगरपालिकाले सुर्तीजन्य पदार्थको सेवनलाई कडाइ गर्नतर्फ चासो दिन थालेका छन्। ललितपुरले केही ठाउँमा यसको सेवन र बिक्री–वितरणलाई कडाइका साथ निषेध गरेको छ। त्यस्तै सरकारी कार्यालय वरपर खुल्ला रूपमा बिक्री–वितरण र सेवनलाई पनि रोक लगाइएको छ।

सम्मेलनको अवसरमा यहाँको स्थानीय कला, उत्पादन तथा सांस्कृतिक कार्यक्रमहरू प्रदर्शन पनि गरिएको छ। शनिबारसम्म चल्ने सम्मेलनमा सहभागीहरूले घोषणापत्र र प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्नेछन्। त्यस्तै, सम्मेलनमा यस वर्षको एपिक्याट अवार्डबाट स्वास्थ्य पत्रकार मञ्च नेपाललाई सम्मानितसमेत गरिएको छ। स्वास्थ्य विधामा कलम चलाउने पत्रकारहरूको फोरमको रूपमा रहेको मञ्चले सुर्तीजन्य पदार्थ रोकथाम तथा नियन्त्रणको विषयलाई उठान गर्दै आइरहेको छ।