मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
अजित अधिकारी काठमाडाैं
२०७९ मङ्सिर १६ शुक्रबार ११:४२:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

तीन महिनामा प्राधिकरण साढे आठ अर्ब नाफामा : आयल निगम दुई अर्ब १५ करोड घाटामा

Read Time : > 2 मिनेट
२०७९ मङ्सिर १६ शुक्रबार ११:४२:००

जनजीविकासँग प्रत्यक्ष सरोकार राख्ने सरकारी स्वामित्वका दुई प्रमुख संस्थानमध्ये नेपाल विद्युत् प्राधिकरण चर्को नाफामा छ भने आयल निगम नोक्सानमा सञ्चालन भइरहेको छ । चालू आवको पहिलो तीन महिनामा निगम दुई अर्ब १५ करोड नोक्सानमा गएको छ । यही अवधिमा अर्को स्वायत्त संस्थान प्राधिकरणले भने आठ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको प्राधिकरण वित्तीय विवरणले देखाएको हो । 

प्राधिकरणले गत आवमा १६ अर्ब १६ करोड रुपैयाँ नाफा कमाएको थियो । तर, चालू आवको तीन महिनामै गत पूरै आवको तुलनामा आधा नाफा कमाइ गरेको छ । यद्यपि, प्राधिकरणको यो करअघिको नाफा हो । प्राधिकरणले यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ३२ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको छ । यस्तै, खर्च भने २४ अर्ब ४८ करोड रुपैयाँ भएको प्राधिकरणबाट प्राप्त तथ्यांकमा उल्लेख छ । 

प्राधिकरणले तीन महिनामा निजी क्षेत्रबाट १४ अर्ब १५ करोड रुपैयाँको विद्युत् खरिद गरेको छ । आफ्नो स्वामित्वमा रहेका विद्युत्गृबाट उत्पादित र निजी क्षेत्रबाट खरिद गरिएको विद्युत् बिक्री गरी खुद २२ अर्ब २० करोड रुपैयाँ आम्दानी गरेको छ । देशभित्र खपत गरी बढी भएको विद्युत् भारतीय प्रतिस्पर्धी बजारमा बिक्री गरी उक्त अवधिमा ६ अर्ब १७ करोड रुपैयाँ आम्दानी भएको छ । 

आव ०७२/७३ मा प्राधिकरण आठ अर्ब ८९ करोड वार्षिक घाटामा थियो । तर, त्यसपछिका वर्षदेखि भने प्राधिकरण निरन्तर नाफामा रहेको छ । आव ०७६÷७७ मा ११ अर्ब ७५ करोड रुपैयाँ पुगेको प्राधिकरणको नाफा आव ०७७/७८ मा घटेर ६ अर्ब नौ करोडमा सीमित भएको थियो । गत आव ०७८÷७९ मा प्राधिकरणले नाफालाई बढाएर १६ अर्ब १६ करोड रुपैयाँ पुगेको थियो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चुहावट नियन्त्रण, आन्तरिक रूपमा तथा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा बढेको बताए । त्यस अवस्थामा खर्च नियन्त्रणलगायतले गर्दा चालू आवको पहिलो तीन महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको उनको भनाइ छ । 

कार्यकारी निर्देशक घिसिङले नाफाबाट प्राप्त रकमलाई विद्युत् खपत बढाउन, उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराउन प्रसारण र वितरणतर्फको पूर्वाधार विस्तार तथा सुदृढीकरणमा खर्च गरिएको समेत बताए । 

‘आगामी दिनमा विद्युत् खपत बढाउन, उपभोक्तालाई परपर्दो र गुणस्तरीय विद्युत् आपूर्तिका लागि चार–पाँच वर्षभित्रमा तीन–चार खर्ब रुपैयाँ लगानी गर्नुपर्नेछ, नेपाल सरकारसँग स्रोतको सीमितताका कारण पर्याप्त बजेट पाउन सक्ने अवस्था छैन,’ उनले भने, ‘त्यसैले हरेक वर्षको नाफाबाट उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणमा खर्च गरिरहेका छौँ ।’ 

चुहावट नियन्त्रणले नाफा

कुलमान घिसिङ कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण
चुहावट नियन्त्रण, आन्तरिक रूपमा तथा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानी बढेको छ । त्यस अवस्थामा खर्च नियन्त्रणलगायतले गर्दा चालू आवको पहिलो तीन महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको हो । नाफाबाट प्राप्त रकमलाई विद्युत् खपत बढाउन, उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराउन प्रसारण र वितरणतर्फको पूर्वाधार विस्तार तथा सुदृढीकरणमा खर्च गरिनेछ । 

घाटा सहेर बिक्री गर्दा नोक्सानमा

नागेन्द्र साह 
नायब प्रबन्ध निर्देशक, आयल निगम

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा केही कमी आउन थालेको छ । तर, पहिलो त्रैमासमा निरन्तर घाटा सहेर इन्धन बिक्री गर्दा निगमलाई दुई अर्बभन्दा बढी नोक्सान भएको थियो । निर्वाचनमा समेत यसपटक इन्धन खपतमा खासै वृद्धि भएन, जसकारण आयल निगमको नोक्सानी कम गर्न मद्दत मिलेको छैन । 

 आयल निगम निरन्तर नोक्सानमा
 चालू आवको पहिलो तीन महिनामा दुई अर्ब १५ करोड नोक्सानमा गएको छ । अन्तर्राष्ट्रिय बजारमा बढेको मूल्यअनुसार नेपाली बजारमा मूल्य समायोजन गर्न नपाउँदा घाटा व्यहोर्नुपरेको आयल निगमको नायब प्रबन्ध निर्देशक नागेन्द्र साहले जानकारी दिए ।

निगमले चालू आवको साउन महिनामा नै एक अर्ब ४२ करोड रुपैयाँ नोक्सान खेपेको साहले जानकारी दिए । त्यस्तै, भदौमा ७२ करोड र असोजमा ९३ लाख रुपैयाँ नोक्सान खेपेको निगमले जनाएको छ । गत आर्थिक वर्ष ०७८÷७९ मा भने निगमले ५० अर्ब रुपैयाँ घाटा व्यहोरेको थियो । 

‘अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा केही कमी आउन थालेको छ । तर, पहिलो त्रैमासमा निरन्तर घाटा सहेर इन्धन बिक्री गर्दा निगमलाई दुई अर्बभन्दा बढी नोक्सान भएको थियो,’ निगमको अर्थ विभाग प्रमुखसमेत रहेका साहले भने । निर्वाचनमा समेत यसपटक इन्धन खपतमा खासै वृद्धि भएन, जसकारण आयल निगमको नोक्सानी कम गर्न मद्दत नमिलेको निगम अधिकारीहरू बताउँछन् ।

आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले निर्वाचनमा विगतमा जस्तो इन्धन खपतमा खासै सुधार नभएको बताए । ‘निर्वाचनको मुखमा (३० कात्तिकसम्म) अघिल्लो वर्षको तुलनामा इन्धन खपत नै घटेको थियो । त्यसपछिका केही दिनमा सामान्य वृद्धि भए पनि खासै सुधार भएन,’ उनले भने ।