Skip This
काउन्सिलमा ‘लैंगिक संवेदनशील मिडिया निर्माण’ कार्यशाला
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ मङ्सिर १४ बुधबार
  • Tuesday, 11 August, 2026
तस्बिर : प्रेस काउन्सिल नेपाल
नयाँ पत्रिका काठमाडौँ
२o७९ मङ्सिर १४ बुधबार २o:२४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

काउन्सिलमा ‘लैंगिक संवेदनशील मिडिया निर्माण’ कार्यशाला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o७९ मङ्सिर १४ बुधबार २o:२४:oo

प्रेस काउन्सिल नेपालको आयोजना तथा युनेस्कोको सहयोगमा लैंगिक संवेदनशील मिडिया निर्माणमा संघ संस्थाहरूको भूमिका विषयक एकदिने कार्यशाला काठमाडौंमा सम्पन्न भएको छ। 

कार्यशालाको उद्घाटन सत्रमा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले लैंगिक संवेदनशील मिडिया निर्माणको लागि काउन्सिल सदैव प्रयत्नशील रहेको बताए। उनले काउन्सिलले निर्देशिकाको निर्माण र कार्यान्वयन गरी मिडियालाई लैंगिकमैत्री र संवेदनशील बनाउने प्रयत्न गरेको बताए। 

काउन्सिलले जारी गरेको  महिला सञ्चार निर्देशिकाको परिमार्जनका विज्ञहरूको सुझाब लिन युनेस्कोसँगको सहकार्यमा भएको बुधबारको कार्यशालाबाट प्राप्त सुझाब महत्वपूर्ण हुने उनको भनाइ थियो। 

कार्यशालामा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले लैंगिक सवाल महिलाको मात्र नभई सबैको साझा मुद्दा हो भन्नेतर्फ सजग रहनुपर्ने बताए। उनले नागरिक समाज सचेतताको विषयमा मिडियाले मूल्यांकन गरी सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने भएको प्रस्ट पारे। 

पोख्रेलले लैंगिक संवेदनशीलताका क्षेत्रमा पत्रकार महासंघबाट समेत महिला निर्देशिका पालना गर्न र महिलामैत्री वातावरण निर्माण गर्न पहलकदमी भइरहेको उल्लेख गरे। 
कार्यशालाको उद्घाटन सत्रको सहजीकरण काउन्सिलका सदस्य ठाकुर बेल्बासेले गरेका थिए। कार्यक्रममा काउन्सिलका सदस्य दीपक पाण्डे, राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईलगायतले मन्तव्य राख्दै मिडियालाई लैंगिकमैत्री बनाउन आफूहरूको साथ रहने बताए। 

एकदिने कार्यशालामा काउन्सिलका अध्यक्ष बस्नेतले ‘लैंगिक संवेदनशील मिडिया नीति निर्माण र कार्यान्वयनमा प्रेस काउन्सिलको भूमिका’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। 

यस्तै, डा. समीक्षा कोइरालाले ‘मिडियामा लैंगिकताका विषय र महिला उत्तरदायी सञ्चार निर्देशिका’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए। पत्रकार कृष्णा पौडेलले ‘नेपाली सञ्चारमाध्यममा लैंगिक संवेदनशीलता’ विषयक कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा सञ्चारिका समूहकी पूर्वअध्यक्ष नितु पण्डितले ‘मिडिया, लैंगिकता र सामाजिक संघसंस्था’ विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन्। 

अन्तर्क्रियामा काउन्सिलले गरिरहेको अनुगमन र कारबाहीका सम्बन्धमा उठेका सवालबारे मुख्य अधिकृत झबिन्द्र भुसालले प्रस्ट पारेका थिए। फरक-फरक समूह बनाई विषयगत छलफल भएको कार्यक्रममा लैंगिक तथा महिलाका क्षेत्रका क्रियाशील विभिन्न संघसंस्थाका ५७ जना सहभागी थिए।