१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर १४ बुधबार १०:३२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रवेश परीक्षा रोक्न माग गर्दै कृषि तथा वन विश्वविद्यालयमा ताला 

Read Time : > 1 मिनेट
२०७९ मङ्सिर १४ बुधबार १०:३२:००

कृषि संकायको प्रवेश परीक्षा रोक्न माग गर्दै कृषि तथा वन विश्वविद्यालयको केन्द्रीय कार्यालयको रामपुरमा विद्यार्थीले ताला लगाएका छन्।  गत कात्तिक २९ गते विश्वविद्यालयले प्रकाशन गरेको प्रवेश परीक्षाको अनलाइन आवेदन भर्नेसम्बन्धी सूचना आपत्तिजनक र त्रुटिपूर्ण रहेको भन्दै विश्वविद्यालयका चार विद्यार्थी संगठन ताला लगाएर आन्दोलनमा उत्रिएका हुन् ।

नयाँ पाठ्यक्रम नै सार्वजनिक नगरी ‘नयाँ पाठ्यक्रमअनुसार अध्यापन गराइनेछ’ भनी सूचना जारी गरिएको छ । अनेरास्ववियु (क्रान्तिकारी)का लेगान्स घिमिरेले भने, ‘नयाँ पाठ्यक्रम कुन हो, कस्तो बनेको थाहा छैन, विश्वविद्यालयजस्तो संस्थाले पाठ्यक्रमको नै जानकारी नगराई हचुवाको भरमा प्रवेश परीक्षा लिन मिल्छ ?’

विद्यार्थीले प्रवेश परीक्षामा सहभागी हुन तोकिएको न्यूनतम शैक्षिक योग्यतामाथि पनि प्रश्न उठाएका छन् । प्रमाणपत्र तहमा पहिले राखिएको ५० प्रतिशत प्राप्तांकलाई अहिले घटाएर ४५ प्रतिशत (२.४ जिपिएबाट घटाई २.२ जिपिए) कायम गरिएको छ।

यो निजी कलेजमा विद्यार्थी बढाउन रचिएको षड्यन्त्र हो । घिमिरेले भने, ‘विश्वविद्यालयका पदाधिकारीका निजी कलेज छन्, त्यसमा विद्यार्थी पुगेका छैनन्, धेरै उत्तीर्ण गराएर विद्यार्थी पुर्‍याउन खोजिएको हो ।’  उनी प्रश्न गर्छन्, ‘हाेइन भने कृषि तथा वन विज्ञान विश्वविद्यालयको इतिहासमा एक मात्र स्वच्छ रहेको स्नातक तहको प्रवेश प्ररिक्षालाई नै किन धमिल्याउने काम भएको छ ?’

विद्यार्थीले प्रवेश परीक्षाका लागि जारी सूचनाको बुँदा नम्बर १७ मा पनि आपत्ति जनाएका छन् । ‘कृषि पढ्न आवश्यक पर्ने अंग्रेजी, केमेस्ट्री, बायोलोजी, गणित र फिजिक्स विषय अध्ययन नगरेका विद्यार्थी पनि भर्ना हुन पाउने व्यवस्था गरिएको छ,’ नेविसंघका केन्द्रीय क्याम्पस समिति सभापति मिराज पौडेलले भने, ‘यस्तो व्यवस्थाले कृषि पढाइको गुणस्तर कता पुग्छ, नतिजा कस्तो निस्किएला ? प्रहरीमा भर्ना हुँदा पनि त मेडिकल पास, दौड पास हुनुपर्छ, तर विश्वविद्यालय पढ्न आउनेको प्रवेश परीक्षाअघिको पनि त मूल्यांकन होला नि ?’ स्नातक तहमा कृषि अध्ययन गर्न आवश्यक पर्ने विषयको बाध्यात्मक अवस्था कायम नै गर्नुपर्ने उनीहरूको माग छ । 

प्रवेश परीक्षाका लागि लिइने शुल्कमा पनि विद्यार्थी संगठनले आपत्ति जनाएका छन् । उनीहरूले जारी गरेको संयुक्त विज्ञप्तिमा प्रवेश परीक्षाका लागि उठाउने गरिएको प्रतिविद्यार्थी चार हजार शुल्क ज्यादै चर्को र अवैज्ञानिक भएको भनिएको छ । प्रत्येक संकायका लागि छुट्टाछुट्टै प्रवेश परीक्षा गर्ने र सबैमा छुट्टाछुट्टै शुल्क लिइनु विद्यार्थीका लागि अन्यायपूर्ण भएको उनीहरूले जनाएका छन् । त्यसको समाधानका लागि ‘साझा प्रवेश परीक्षा’को माग उनीहरूले गरेका छन् । 

विद्यार्थीलाई बुझाउन नसक्दा समस्या आयो, हामी बुझाउँछौँ : डिन 
अन्याेलपूर्ण र अवैज्ञानिक प्रवेश परीक्षाले कृषि विश्वविद्यालयको गुणस्तर र गरिमामा आँच पुगेको भन्दै विद्यार्थी संगठनले प्रवेश परीक्षा रोक्न माग गर्दा कृषि तथा वन विश्वविद्यालय कृषि संकायका डिन जयप्रकाश दत्त भने विद्यार्थीले नबुझेर यो समस्या आएको बताउँछन्।

‘हामीले विद्यार्थीसँग बस्नका लागि वार्ता कमिटी बनाएका छौँ । विद्यार्थीसँग छलफल गरेर अगाडि बढ्छौँ,’ उनले भने, ‘विद्यार्थीले नबुझेर हो, उनीहरूलाई बुझाउनलाई भोलि (बुधबार) मिटिङ राखिएको छ । विद्यार्थीलाई बुझाएर छलफल गरेपछि यो समस्या हल हुन्छ । प्रवेश परीक्षामा राम्रो गर्ने विद्यार्थीले पढ्न पाउने हो, यो ठूलो इस्यु नै हाेइन । विद्यार्थीलाई हामीले बुझाउन सकेका छैनौँ,’ उनले भने ।