१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
टेकराज थामी काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o५:५३:oo
Read Time : > 4 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

लाल मोहम्मद हत्या प्रकरण : रक्सौलका बब्लु पासवान मुख्य योजनाकार, हत्यामा ‘गर्लफ्रेन्ड’समेत प्रयोग

Read Time : > 4 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o५:५३:oo

पक्राउ परेका तीन अभियुक्त जेल चलान 

सर्लाही हरिवन नगरपालिका– २ का मोहम्मदको गत ३ असोजमा कागेश्वरी–मनोहरा नगरपालिका– ८ गोठाटारस्थित एडभेन्चर इन्टरप्राइजेज गार्मेन्टअगाडि गोली हानेर हत्या गरिएको थियो (तस्बिरमा) । हत्याका मुख्य योजनाकार रक्सौलका बब्लु पासवान रहेको अनुसन्धानबाट खुलेको छ ।

काठमाडौंको गोठाटारमा भएको ५८ वर्षीय लाल मोहम्मद (मोहम्मद दर्र्जी)को हत्याका मुख्य योजनाकार भारतीय नागरिक बब्लु पासवान रहेको खुलेको छ । बिहार प्रदेशस्थित रक्सौलका पासवान हत्याका मुख्य योजनाकार रहेको प्रहरी अनुसन्धानमा खुलेको हो ।

सर्लाही हरिवन नगरपालिका– २ का मोहम्मदको गत ३ असोजमा कागेश्वरी–मनोहरा नगरपालिका– ८ गोठाटारस्थित एडभेन्चर इन्टरप्राइजेज गार्मेन्टअगाडि लखेटी–लखेटी गोली हानेर हत्या भएको थियो । हत्यालगत्तै प्रहरीले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराईको संयोजकत्वमा विशेष अनुसन्धान समिति गठन गरेको थियो । समितिबाट भएको करिब ५७ दिनको अनुसन्धानले मोहम्मदको हत्या बब्लुकै योजनामा भएको निष्कर्ष निकालेको छ । समितिका सदस्य तथा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले हालसम्मको अनुसन्धानबाट मोहम्मदको हत्या बब्लुकै योजनामा भएको देखिएको बताए । 

‘मोहम्मदको हत्या अनुसन्धान सकिएको छ । हालसम्म भएका अनुसन्धान विश्लेषण गर्दा हत्याको मुख्य योजनाकार भारतीय नागरिक बब्लु पासवान रहेको देखिन्छ । उनी फरार छन् । खोजीमा प्रहरी सक्रिय छ । उनी पक्राउ परेपछि थप तथ्य खुल्ने पाटो अलग हो । तर, हालसम्म प्राप्त प्रमाण हेर्दा मोहम्मद हत्यामा उनी नै मुख्य पात्र देखिन्छन्,’ उनले भने ।

प्रहरीका अनुसार बब्लु लागुऔषध मुद्दामा पार्साको वीरगन्जस्थित कारागारमा पाँच वर्ष कैद सजाय पाएका व्यक्ति हुन् । उनी करिब वर्ष दिनअघि मात्रै कारागारबाट मुक्त भएका थिए । प्रहरीका अनुसार मोहम्मद हत्याको योजना बनाउने मात्र नभई आवश्यक खर्च जुटाउने कामसमेत उनकै संलग्नतामा भएको थियो । हत्याका लागि आवश्यक युवा उनैले जुटाएका थिए । हत्यामा प्रयोग भएको हतियार रक्सौलसम्म ल्याउने काम पनि उनैले गरेको अनुसन्धानले देखाएको छ । रक्सौलमा उनले उक्त हतियार हत्याका अभियुक्तमध्येका वीरगन्ज महानगरपालिका– १६ का २१ वर्षीय महोरम मियाँ र १७ वर्षीय रेहान मियाँलाई दिएका थिए । उनकै निर्देशनमा महोरम र रेहानले उक्त हतियार काठमाडौंसम्म ल्याई ‘सुटर’लाई दिएको प्रहरी अनुसन्धानले देखाएको छ । 

प्रहरीका अनुसार बब्लुले मोहम्मद हत्यामा आफ्नो ‘गर्लफ्रेन्ड’ मेनिला भनिने मेरिनालाई समेत प्रयोग गरेका छन् । उनको मेरिनासँग जेलमै भेट भएको थियो । त्यसपछि दुईबीच प्रेम बसेको थियो । जेलबाट छुटेपछि दुवै रक्सौल बस्दै आएका थिए । यही क्रममा बब्लुले मोहम्मद हत्याको योजना मेरिनासँग ‘सेयर’ गरेका थिए । मोहम्मद हत्यामा ‘रेकी’ गर्न प्रयोग भएकी मकवानपुर बकैया गाउँपालिका– १ की २१ वर्षीया सुमी भनिने सुस्मिता स्याङ्तानलाई बब्लुसँग मेरिनाले नै भेट गराइदिएको प्रहरीले जनाएको छ । 

मेरिनासँग सुस्मिताको जगन्नाथ देवल केन्द्रीय कारागारमा भेट भएको थियो । जुनवेला मेरिना लागुऔषध कसुरमा र सुस्मिता चोरी मुद्दामा कारागारस्थित महिला बन्दीगृहमा कैद सजाय भुक्तान गर्दैै थिए । जेलबाट मुक्त भएको सूचनापछि मेरिनाले सुस्मितालाई रक्सौल बोलाएकी थिइन् । सोही क्रममा सुस्मिता र बब्लुको भेट भएको थियो । मोहम्मदको ‘रेकी’ गर्ने ‘टास्क’ बब्लुले सोही क्रममा सुस्मितालाई दिएका थिए । 

‘सुटर’का लागि होटेल र स्कुटरको व्यवस्थापन गर्ने जिम्मा भने बब्लुले भारतीय नागरिक ‘गुड्डु’ भनिने नितिनमोहन खानलाई दिएका थिए । निर्देशनअनुसार नै नितिनले ‘सुटर’लाई काठमाडौंमा ‘रिसिभ’ गरेका थिए । उनैले ‘सुटर’का लागि गोठाटारस्थित ‘कोशीपारी’ नामको गेस्टहाउस बुक गराइदिएका थिए । गेस्टहाउससम्म लैजाने काम नितिनले नै गरिदिएका थिए । उनी लामो समयदेखि काठमाडौं बस्दै आएका थिए । उनी काठमाडौंका नाका र गल्लीबारे राम्रो जानकार थिए । हत्यापछि सुरक्षित भाग्न उनैले ‘सुटर’लाई रुटको जानकारी दिएका थिए । 

हालसम्मको अनुसन्धानअनुसार हत्यामा प्रयोग भएका दुवै ‘सुटर’ भारतीय नागरिक हुन् । जसलाई ‘हायर’ गर्ने काम पनि बब्लुले नै गरेका थिए । प्रहरीका अनुसार बब्लुले हत्याका क्रममा फरक–फरक भूमिकामा प्रयोग गरिएकामध्ये कसैलाई एक–अर्कासँग भेट र सम्पर्क दिएका थिएनन् । 

अनुसन्धानमा संलग्न विशेष ब्युरोका एक उच्च अधिकृतले भने, ‘बब्लु निकै ‘स्मार्ट’ देखिन्छ । उसले हत्याका लागि सबैलाई फरक–फरक ‘टास्क’ दिएको देखिन्छ । उनीहरूको एकआपसमा कुनै सम्पर्क देखिन्न । सबैलाई उनी आफैँले ‘ह्यान्डल’ गरेजस्तो देखिन्छ । योजना ‘स्मार्टली’ बनेको देखिन्छ । त्यसो हुँदा ‘सुटर’ सजिलै उम्किन पुगे ।’

हत्यामा संलग्नमध्ये प्रहरीले गत १३ असोजमा वीरगन्ज– १६ का २१ वर्षीय महोरम मियाँ, सोही ठाउँका १७ वर्षीय रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका– १ की २१ वर्षीया सुमी भनिने सुस्मिता स्याङ्तानलाई मात्रै पक्राउ गरेको छ । मुख्य योजनाकार बब्लु, उनकी ‘गर्लफ्रेन्ड’ मेरिना र बाँकी तीन अभियुक्त फरार छन् । काठमाडौं परिसरका प्रवक्ता एसपी मैनालीले हत्यामा संलग्न सबै अभियुक्त पहिचान भएको बताए ।  उनले भने, ‘हत्यामा संलग्न तीन अभियुक्त पक्राउ परेका छन् । बाँकी ६ जना फरार छन् । उनीहरूको पहिचान खुलेको छ । प्रहरी खोजीमा छ ।’

पक्राउ परेकामध्ये दुई अभियुक्त पुर्पक्षका लागि जेल चलान
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनक भट्टराई संयोजकत्वको विशेष अनुसन्धान समितिले २ मंसिरमा अनुसन्धान प्रतिवेदन सुटुक्क जिल्ला सरकारी वकिल कर्यालयमा पेस गरेको थियो । लगत्तै भएको थुनछेक बहसपछि हत्यामा संलग्नमध्येका वीरगन्जका महोरम र रेहानलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश भएको थियो । 

महोरमलाई अहिले केन्द्रीय कारागार सुन्धारामा राखिएको छ । १८ वर्षभन्दा कम उमेर भएको हुँदा रेहानलाई भने भक्तपुरस्थित बाल सुधारगृह राखिएको छ । उनीहरूसँगै पक्राउ परेकी मकवानपुरकी सुस्मितालाई अदालतले दुई लाख रुपैयाँ धरौटी माग गरेको थियो । तर, तिर्न नसकेपछि उनलाई पनि केन्द्रीय कारागार सुन्धारामा राखिएको छ । प्रहरीका अनुसार उनीहरूविरुद्ध कर्तव्य ज्यान, हातहतियार तथा खरखजना र संगठित अपराधअन्तर्गत मुद्दा अघि बढाइएको छ । 

यसकारण अनुसन्धान ‘बल्लु’भन्दा अघि बढेन 
२३ असोज ०७४ मा निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष ६० वर्षीय शरदकुमार गौचनको बानेश्वरस्थित प्रयागमार्गमा गोली हानी हत्या भयो । हत्याका मुख्य योजनाकार भनिएका बुटवल देवदहका चर्चित डन मनोज पुन र अर्का डन समिरमानसिंह बस्नेतसहित १५ जनाको टोली भारततर्फ फरार भयो । तर, प्रहरीले १३ अभियुक्तलाई भारतबाटै पक्राउ गरेर नेपाल ल्यायो । जसमध्ये मनोज त ‘इन्काउन्टर’मै परे । 

तर, मोहम्मद हत्यामा संलग्न मुख्य योजनाकार बब्लुलगायतका फरार ६ जनालाई प्रहरीले पक्राउ गर्न सकेको छैन । जब कि घर ठेगाना मात्र होइन, अभियुक्त लुकेर बस्ने सम्भावित ठाउँको जानकारीसमेत प्रहरीसँग छ । यसको एउटै कारण हो भारतीय प्रहरीबाट सहयोग नहुनु । त्यसैले मोहम्मद अनुसन्धान बब्लुभन्दा अघि बढ्न सकेको छैन । 

अनुसन्धानमा संलग्न विशेष ब्युरोका उच्च अधिकृतले भने, ‘हत्यामा संलग्न अभियुक्त पहिचान भएका छन् । उनीहरू लुकेर बस्ने ठाउँ पनि जानकारीमा छ । तर, हामीले उनीहरूलाई पक्राउ गर्न सकेका छैनौँ । यसको एउटै कारण हो भारतीय प्रहरीबाट ‘कोअपरेसन’ नहुनु । त्यसो हुँदा हाम्रो अनुसन्धान बब्लुभन्दा अघि बढ्न सकेको छैन । उसले किन हत्या गर्‍यो ? यसका लागि उसलाई कसले ‘स्पोन्सर’ गर्‍यो ? खुल्न सकेको छैन ।’

राष्ट्रिय सुरक्षामै खतराको घन्टी 
मोहम्मद हत्यामा प्रयोग भएका बब्लुसहितका ‘सुटर’ समूह आपराधिक पृष्ठभूमिका हुन् । उनीहरू जुनसुकै समयमा जुनसुकै उद्देश्यप्रेरित समूहबाट प्रयोग हुन सक्छन् । त्यसैले मोहम्मदको जस्तो हत्या जुनसुकै वेला हुन सक्ने खतरा देखिन्छ । नेपाल प्रहरीका पूर्वडिआइजी तथा सुरक्षाविद् हेमन्त मल्ल यसलाई स्वीकार गर्छन् । ‘मोहम्मद हत्यामा संलग्न अभियुक्त पक्राउ नपर्नुले खतराको घन्टी सधैँ ठोकिरहन्छ । किनकि उनीहरू अपराधी पृष्ठभूमिको देखिन्छ । उनीहरू जो–सुकैबाट प्रयोग हुन सक्छन् । यसमा सजग हुन जरुरी देखिन्छ,’ उनले भने । 

भारतमा रहेका अभियुक्त पक्राउका लागि कूटनीतिक पहल गर्न सकिन्छ 
विशेषगरी भारतीय जाली नोट कारोबारमा संलग्न हुनेविरुद्ध ‘स्पोन्सर किलिङ’ भएको देखिन्छ । जसमा भारतीय नागरिक प्रयोग भएका छन् । पहिचान हुँदा पनि यस्ता अभियुक्त पक्राउमा चासो नदेखाउनु भारतीय सुरक्षा संयन्त्रको विगतदेखिकै निरन्तरता हो । यस्ता व्यक्ति आपराधिक मानसिकता बोकेका अन्य समूहबाट पनि प्रयोग हुन सक्छन् । विगतका घटनाले यो तथ्यलाई पुष्टि गरेको छ । यसलाई रोक्न नेपाल सरकारले कूटनीतिक संयन्त्रबाट भारतीय सुरक्षा संयन्त्रसँग औपचारिक पहल गर्नुको विकल्प नभएको पूर्वडिआइजी मल्लको बताउँछन् । 

‘नेपालको सुपुर्दगी ऐन, २०७० को धारा १६ मा विदेशमा अपराध गरेर आएको नेपालीलाई नेपालकै कानुनअनुसार कारबाही गर्न सक्ने व्यवस्था छ । यस्तो सम्बन्धित मुलुकले कूटनीतिक ‘च्यानल’बाट नेपाल सरकारलाई आग्रह गर्न सक्छ । नेपाल सरकारले पनि सोही ‘च्यानल’मार्फत सम्बन्धित मुलुकलाई आश्वस्त पार्न सक्छ । भारतमा पनि यस्तै कानुन हुन सक्छ,’ उनले भने, ‘अनुसन्धानपछिका सबै आवश्यक प्रतिवेदन कारणसहित भारतीय सरकारलाई नेपाल सरकारले कूटनीतिक ‘च्यानल’बाट आग्रह गर्न सक्छ । यसो हुँदा दोषी उम्कन पाउँदैन । खतरा सधैँका लागि टर्छ ।’
 

 

 


 

ad
ad