Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर १२ सोमबार ०८:०७:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सात लघुबिमाले पाए सञ्चालन अनुमति

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर १२ सोमबार ०८:०७:००

नेपाल बिमा प्राधिकरणले सातवटा लघुबिमा कम्पनीलाई सञ्चालनका लागि पूर्वस्वीकृति प्रदान गरेको छ । प्राधिकरणले आइतबार तीनवटा लघु जीवन बिमा र चार लघु निर्जीवन बिमा कम्पनीलाई अनुमति प्रदान गरेको हो ।

लघुबिमा कम्पनी सञ्चालनका लागि लाइसेन्स माग्दै ३१ वटा कम्पनीले प्राधिकरणमा आवेदन दिएका थिए । लघु जीवन बिमा व्यवसायका लागि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले सञ्चालन अनुमति पाएका छन् । सञ्चालन अनुमति पाएका कम्पनीमध्ये गार्डियन माइक्रो लाइफको मुख्य कार्यालय विराटनगरमा रहनेछ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मुख्य कार्यालय वीरेन्द्रनगरमा रहनेछ भने लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको पोखरामा मुख्य कार्यालय रहने भएको छ । 

लघु निर्जीवन बिमा व्यवसायका लागि भने ट्रस्ट माइक्रो इन्स्योरेन्स (बुटवल), नेपाल माइक्रो इन्स्योरेन्स (भरतपुर), स्टार माइक्रो इन्स्योरेन्स (जनकपुर) र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स (धनगढी)ले सञ्चालन अनुमति पाएका छन् । लघुबिमा व्यवसाय गर्ने कम्पनी स्थापनाका लागि प्राधिकरणले गत १० भदौमा ३५ दिने सूचना जारी गरेको थियो । सोही अवधिभित्र प्राधिकरणमा परेको आवेदनमध्ये तोकिएको मूल्यांकनका आधारमा सो कम्पनी छनोट भएको प्राधिकरणले जनाएको छ । 

चुक्ता पुँजीको ७० प्रतिशतमा रकम एयरमार्क गर्नुपर्ने
लघुबिमा व्यवसाय सञ्चालन गर्ने पूर्वसहमति पाएका बिमा कम्पनीले कबोल गरिएको चुक्ता पुँजीको ७० प्रतिशत रकम नेपाल बिमा प्राधिकरणका नाममा अनिवार्य रूपमा एयरमार्क गर्नुपर्नेछ । प्राधिकरणका कानुन शाखा प्रमुख उपनिर्देशक साम्बाराज लामिछानेका अनुसार व्यवसाय सञ्चालनको अनुमति पाएका कम्पनीले ३५ दिनभित्र कम्पनी रजिस्ट्रार कार्यालयमा पुगी कम्पनी दर्ता गर्नुपर्नेछ । कम्पनी दर्ताको प्रमाणपत्र पाएपछि लाइसेन्सका लागि नेपाल बिमा प्राधिकरणमा निवदेन दिनुपर्नेछ । 

कम्पनी सञ्चालनको लाइसेन्स पाएपछि कबोल गरेको चुक्ता पुँजीको ७० प्रतिशत रकम कम्पनीकै नाममा बैंकमा जम्मा गर्नुपर्नेछ । यसरी जम्मा गरिएको रकमध्ये पनि ७० प्रतिशत रकम प्राधिकरणको नाममा रोक्का (एयरमार्क) गर्नुपर्नेछ । बाँकी रकम कम्पनीले चालू पुँजीमा राखी सञ्चालन खर्चका रूपमा प्रयोग गर्न पाउनेछन् । त्यसपछि कम्पनीले प्राधिकरणले तोकेबमोजिम भौतिक पूर्वाधार तयार पार्नुपर्नेछ । 

त्यस्तै, सफ्टवेयर जडान, एक्चुअरीसँग सम्झौता, पुनर्बिमा कम्पनीसँग सम्झौता, पोलिसी डिजाइन पेस गर्नुपर्नेछ । साथै, कम्पनीको अन्डरराइटिङ, क्लेम कार्यविधि, कर्मचारी कार्यविधि, प्रशासन कार्यविधि, सम्पत्ति शुद्धीकरण कार्यविधि निर्माण गर्नुपर्नेछ । कम्पनीले प्रमुख कार्यकारी नियुक्त गर्नुपर्नेछ ।

कम्पनीले कम्तीमा ६ वटा विभाग निर्माण गर्नुपर्नेछ । जसमध्ये अन्डरराइटिङ, क्लेम, आइटी, इन्टरनल कन्ट्रोल, रि–इन्स्योरेन्स र एचआर विभाग अनिवार्य रूपमा निर्माण गर्नुपर्ने प्राधिकरणका कानुन प्रमुख लामिछानेले बताए । उनका अनुसार तत्पश्चात् कम्पनीले प्राधिकरणमा व्यवसाय सुरु गरिपाऊँ भनी निवेदन दिनुपर्नेछ । कम्पनीको निवेदनपछि प्राधिकरणले कम्पनीको निरीक्षण गर्नेछ । निरीक्षणमा कम्पनीको तयारी चित्तबुझ्दो भएमा प्राधिकरणले व्यवसाय सुरु गर्ने अनुमति दिनेछ ।

कम्पनीले कम्पनी रजिस्ट्रार कार्यालयबाट पनि व्यवसाय सञ्चालनको अनुमति प्राप्त गरेपछि मात्रै व्यवसाय सुरु गर्न पाउनेछन् । नेपाल सरकारको निर्देशनबमोजिम निर्जीवन बिमा कम्पनीले लघुबिमा व्यवसाय नगरेपछि छुट्टै कम्पनीको व्यवस्था गरिएको छ । न्यून आय भएका व्यक्तिलाई पनि बिमाको दायरामा समेट्न सरकारले लघुबिमाको परिकल्पना गरेको थियो । तर, लघुबिमाप्रति निर्जीवन बिमा कम्पनीहरूको आकर्षण नदेखिएपछि सरकारले लघुबिमाको सीमा नै तोकिदिएको थियो ।