१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मञ्जु टेलर काठमाडाैं
२०७९ मङ्सिर ६ मंगलबार ०६:५०:००
Read Time : > 2 मिनेट
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

समय नपुग्दै जन्मिएका झन्डै ३० प्रतिशत शिशुका आँखामा जालो लाग्ने समस्या

Read Time : > 2 मिनेट
मञ्जु टेलर, काठमाडाैं
२०७९ मङ्सिर ६ मंगलबार ०६:५०:००

आँखाको रेटिनामा रक्तनली बढेर हुने यो समस्या धेरैजसो तीन पाउन्डभन्दा कम तौल भएका बच्चामा देखिन्छ 

असोज पहिलो साता पाँचमहिने एक शिशुमा आँखाको पर्दामा समस्या देखिएपछि उनका अभिभावकले उपचारका लागि तिलगंगा आँखा अस्पतालमा ल्याए । शिशुको आँखामा सेतो पर्दा देखिएपछि अभिभावकले उपचारका लागि काठमाडौं ल्याएका थिए । चितवनको एक नर्सिङ होममा समयअगाडि नै जन्मेका (प्रिम्याच्युयर) ती शिशुलाई जन्मिनेबित्तिकै ६ दिन क्रिटिकल केयरमा राखेर उपचार गरिएको थियो । परीक्षणका क्रममा आरओपी अर्थात् रेटिनोप्याथी अफ प्रिम्याच्युयर आँखाको समस्या देखियो । चिकित्सकहरूले तुरुन्तै रेटिनाको शल्यक्रिया आवश्यक भएको भन्दै असोज दोस्रो साता अस्पताल भर्ना गरे । तर, अप्रेसनपछि पनि उनमा मधुरो दृष्टि मात्रै फर्कियो । हाल नियमित फलोअपमा रहेका ती शिशुको दृष्टिमा केही सुधार देखिए पनि पूर्ण रूपमा दृष्टि फर्काउन नसकिएको उपचारमा संलग्न चिकित्सकहरूको भनाइ छ । 

तिलगंगा अस्पतालमै गत आइतबार दाङबाट रिफर भएर आएका ६ महिने शिशुको आँखाको शल्यक्रियाका लागि चिकित्सकहरूले तयारी गरिरहेका छन् । ती शिशु ३३ हप्तामा जन्मेको र तौलसमेत आठ सय ग्राम मात्रै भएकाले भेन्टिलेटरमा राखिएको थियो । स्वास्थ्यमा सुधार आएपछि अस्पतालले डिस्चार्ज गरे पनि आँखाको परीक्षण गराएन । आँखाको पर्दा फाटेर समस्या देखिएपछि अस्पताल पु¥याए पनि उनको पूर्ण उपचार सम्भव नभएको चिकित्सकहरूको भनाइ छ । उपचारमा संलग्न चिकित्सक डा. एली प्रधानका अनुसार शिशुको एउटा आँखामा शल्यक्रिया गरेर दृष्टिमा सुधार ल्याउन सकिने सम्भावना देखिएर उपचार सुरु गरिएको हो । शिशुको दोस्रो आँखाको पूर्णतया दृष्टि गुमिसकेको छ । 

के हो रिटिनोप्याथी अफ प्रिम्याच्युयर ?
प्रिम्याच्युयर अर्थात् ३६ साताभन्दा अगावै जन्मिने शिशुको आँखामा देखिने समस्या हो । यसको जोखिम करिब ३० प्रतिशतमा हुने अध्ययनले देखाएको छ । उपचारका लागि अस्पताल पुग्ने बालबालिकामाथि गरिएको अध्ययनअनुसार करिब ३० प्रतिशतमा रेटिनोप्याथी अफ प्रिमच्योरिटी (आरओपी) आँखाको रोग देखिने गरेको हो । 

गर्भमा पूर्ण विकास नभई जन्मिने शिशुको आँखाको रेटिनामा रक्तनलीहरू बढेर हुने गर्छ । यो समस्या तीन पाउन्डभन्दा कम तौल भएका बच्चामा बढी देखिने गरेको अध्ययनहरूले देखाएको छ । तिलगंगा आँखा अस्पतालमा मात्रै बर्सेनि डेढदेखि दुई सयजना बालबालिका आरओपीको समस्या लिएर पुग्ने गरेका छन् । 

पछिल्लो एक वर्षमा तिलगंगामा एक सय ५२ बालबालिका आरओपीको समस्या लिएर उपचारका लागि अस्पताल पुगेका थिए । चिकित्सकका अनुसार फलोअपमा आउने बिरामीहरूसमेत गरी दैनिक चारदेखि ६ जना बालबालिका अस्पताल पुग्छन् । अहिले यो संख्या बढ्दै गएको छ । जसमध्ये १० प्रतिशतभन्दा बढी सिभियर आरओपी अर्थात् रेटिनालाई पर्दाले ढाकिसकेको अवस्थामा पुग्ने गरेका छन् । 

कोभिड महामारीमा रिफरल केस घट्यो, तर आरओपीका केस घटेनन्
कोभिडको समयमा रिफरल केसको अनुपात घट्दासमेत आरओपी बढेको चिकित्सकहरू बताउँछन् । डा. एली प्रधानका अनुसार गर्भ पूर्ण रूपमा विकास नहँुदै जन्मिने शिशुमा आँखाको रक्तनली पूर्ण रूपमा विकसित नहँुदा अक्सिजन अथवा अन्य कारणले पार्ने प्रभावले रक्तश्राव हुने, फाइब्रोसिस हुने, आँखाको पर्दालाई तान्ने र बिस्तारै पर्दा च्यातिने हुँदा दृष्टिमा समस्या देखा पर्छ । उनका अनुसार यस्तो समस्या पाँचवटा स्टेजमा हुन्छ, स्टेज बढ्दै जाँदा अन्धोपनको जोखिम पनि बढ्दै जान्छ । स्टेज तीनसम्ममा अस्पताल पु¥याउन सकेमा दृष्टि बचाउन सकिन्छ । त्यसपछि आँखाको पर्दा च्यातिँदै आउने भएकाले उपचार गर्दा पनि दृष्टि जोगाउन मुस्किल हुन्छ । 

कसरी जोगिने ?
प्रत्येक दुई हप्तामा आँखाको अवस्था परीक्षण गराउनुपर्ने हुन्छ । सिभियर आरओपी देखिएका बच्चा लेजर र आँखामा सुई लगाएर उपचार गरिन्छ । अन्तिम स्टेजमा आरओपीको उपचार शल्यक्रिया नै गर्नुपर्छ, जुन सफल हुने सम्भावना न्यून देखिएको छ । सुरुवातमै उपचार सुरु गर्न सकेमा समस्या सहजै न्यूनीकरण गर्न सकिने चिकित्सकहरूको भनाइ छ । 
समयअगावै जन्मेका शिशुमा अन्य स्वास्थ्य समस्यासँगै आँखामा पनि समस्या देखिने सम्भावना उत्तिकै हुने भएकाले विशेष ख्याल गर्नुपर्ने आँखा रोग विशेषज्ञहरू बताउँछन् । कतिपय अवस्थामा चिकित्सकले रिफर गरे पनि अभिभावकले बेवास्ता गर्दा आरओपीको दर बढेको पाइन्छ ।  

क्रिटिकल केयरले बढाउँदै छ आँखामा समस्या 
नेपालमा ५ देखि ९ प्रतिशतसम्म बच्चा गर्भको समयअगाडि नै जन्मने गरेका छन् । सामान्यतया ३६ हप्ताभन्दा कम समयमा जन्मिने अधिकांश बच्चालाई थप स्वास्थ्य सेवाका लागि अस्पताल भर्ना गर्नुपर्ने देखिन्छ । स्वास्थ्य संस्थामा भर्ना भएर उपचार लिने अधिकांश शिशु क्रिटिकल केयरमा राखिने र यसमा प्रयोग हुने औषधि र अक्सिजनको मात्राले समेत शिशुको आँखामा असर गर्ने अध्ययनले देखाएका छन् । 

बालरोग विशेषज्ञ डा. सिर्जना अधिकारीका अनुसार ‘एनआइसियूमा शिशुलाई शतप्रतिशत अक्सिजन दिँदा आँखामा असर धेरै देखिन थालेपछि अहिले ‘मोनिटर्ड अक्सिजन केयर’हरू गर्न थालिएको छ । अर्थात् शिशुलाई आवश्यक मात्रामा मात्र अक्सिजन दिँदा यसको असर दैखिँदैन । तर, अझै पनि सबैजसो अस्पतालमा चिकित्सकहरूले यो विषयमा त्यति ध्यान दिएको नपाइने उनले बताइन् । यसबाहेक अन्य संक्रमण, फोक्सोले राम्रोसँग काम गर्न नसक्दा प्रयोग गरिने औषधि, दिमागमा रगत बग्ने समस्यालगायतका बच्चाको उपचारका क्रममा ध्यान नदिँदासमेत आरओपीको जोखिम बढाइरहेको छ ।