
चितवन मेडिकल कलेज (सिएमसी) मा उपचारको क्रममा मृत्यु भएका रमेश कुँवरको शव परिवारले ४६ दिनपछि बुझेको छ। भरतपुर महानगरपालिका– १३ का रमेश कुँवरको १७ असोजमा बेलुका मृत्यु भएको थियो।
सोही बिहान ग्यास्ट्रिक बढ्यो भन्दै उपचार गराउन मोटरसाइकलमा अस्पताल पुगेका कुँवरको चिकित्सककै लापरबाहीका कारण ज्यान गएको भन्दै मृतकका आफन्तले न्यायका लागि माग गर्दै आएका थिए।
‘ग्यास्ट्रिक भयो भनेर अस्पताल लगिएको दाइलाई भ्याल्टिलेटरमा राखे। घाँटीसहित शरीरका विभिन्न भागमा खोपे,’ मृतकका भाइ रामबहादुर कुँवरले भने, ‘मोटरसाइकलमा आरामसँग आएको मान्छेलाई अस्पतालले मृत्यु भएको घोषणा गर्याे। कहिले जन्डिस, कहिले फोक्सोमा पानी जमेको छ त कहिले निमोनिया भएको भने । उपचारमा लापरबाही गरेर मेरो दाइ मारे।’
परिवारका अनुसार विदेश जाने तयारी रहेका कुँवर सामान्य चेकअपका लागि अस्पताल आएका थिए। विदेश जानका लागि गरिएको मेडिकल रिपोर्ट सामान्य भएको बताउँदै उनका भाइले थपे, ‘मेरो दाइ २२ गते कतार जाने तयारीमा थियो। उसको मेडिकल रिपोर्ट सबै ठीक छ। अस्पतालले उपचारमा लापरबाही गरेर परिवारजनको ज्यान लियो। लापरबाही गर्ने चिकित्सकलाई कारबाहीको माग गर्दा प्रहरीले दमन गरेर ६ जनाविरुद्ध मुद्दा दर्ता गर्याे।’
कुँवरको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालमा तोडफोड गरे। अस्पतालमा तनाव बढेपछि आएको प्रहरी टोलीले स्थानीय तीनजना युवा जीवन विश्वकर्मा, धनबहादुर विश्वकर्मा र विकास दमाईंविरुद्ध मुद्दा दर्ता गरेर कारबाही अघि बढाएकाे थियो। अहिले उनीहरू नाै लाख धरौटीमा छुटेका छन्।
अस्पतालले आफ्नो लापरबाही नरहेको भन्दै शव बुझ्न आग्रह गरेको थियो। तर, आफन्तले शव बुझेका थिएनन्। ३० असोजमा भएको पोस्टमार्टम रिपोर्ट अस्पतालकै पक्षमा आए पनि मृतकका आफन्तले मेडिकल काउन्सिलमा न्यायका थप पहल गरे। मृतकका छिमेकी रामप्रसाद विश्वकर्माका अनुसार प्रहरीमा आफ्नो गुनासो लिएर जाँदा प्रहरीले उजुरी लिन मानेन।
उनले भने, ‘मानव अधिकारवादीहरूसँग हामीले यो कुरा राखेका छौँ। कानुनले जे भन्छ हामी त्यही गर्न तयार छौँ। पक्कै न्याय मिल्छ।’
चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाका अनुसार कुँवरको उपचारमा कुनै कमजोरी भएको थिएन।
देवकोटाका अनुसार उनलाई प्यानक्रियाटाइटिस भएको र सोको तीव्र संक्रमणको कारणले शारीरिक रूपमा स्थिर राख्ने अंगजस्तै फोक्सो, मिर्गौला, श्वासप्रश्वासमा संक्रमण फैलिएको र काम गर्न अवस्थामा समेत कमजोर भएपछि उनको मृत्यु भएको थियो।
मृतकका चार महिनाका एक छोरा र ११ कक्षा पढ्दै गरेकी एक छोरी र श्रीमती छन्।