एकपटक भगवान्का एक सेवकले भने– प्रभु, हजुर भक्तजनका लागि एक स्थानमा बस्दाबस्दा दिक्क हुनुभयो होला । आज म हजुरको स्थानमा मूर्ति बनेर बस्छु । हजुर यताउता घुमेर आउनुहोस् । भगवान् सेवकको रूप धारण गरेर घुम्न जान तयार भए । जाँदाजाँदै उनले सेवकलाई भने– यहाँ जो आउँछ, जे हुन्छ र तिमीले जे देख्छौ । कुनै पनि अवस्थामा बिलकुल मौन बस्नू, नबोल्नू । मैले सबैका लागि विशेष योजना बनाएको छु ।
भगवान् जानासाथ एक व्यापारी आए । उनले आफूले सुरु गर्न लागेको नयाँ व्यापार फलोस् फुलोस् भन्ने आशीर्वाद माग्दै निहुरिएर भगवान् बनेका सेवकलाई ढोगे । निहुरिँदा उनको पर्स भुइँमा खस्यो । उनले त्यो थाहा पाएनन् । सेवकले उनलाई पर्सबारे बताइदिन खोजे, तर सर्तले गर्दा मौन रहे । व्यापारी जानासाथ एक गरिब त्यहाँ आए । उनले जहानपरिवार भोकै रहेको गुनासो गर्दै केही सहयोग गर्न भगवान्सित आग्रह गरे । उनको दृष्टि पर्समाथि पर्यो । उनी त्यो टिपेर बाटो लागे । एकैछिनमा तेस्रो व्यक्ति त्यहाँ आइपुगे । उनी पानीजहाजका चालक थिए । उनले आफ्नो यात्रा सकुशल रहोस् भन्दै आशीर्वाद मागे ।
त्यति नै वेला अघिका व्यापारी प्रहरी लिएर त्यहाँ आए । उनले आफूपछि तिनै नाविक त्यहाँ आएकाले उनैले आफ्नो पर्स भेटेको आरोप लगाए । प्रहरीले उनलाई पक्रिए । अति भएपछि सेवकले सबै कुरा प्रहरीलाई बताइदिए । प्रहरीले गरिबलाई खोजेर पक्रिए ।
साँझ भगवान् फर्किएपछि सेवकले खुसीसाथ सबै कुरा भगवान्लाई बताए । सेवकको कुरा सुनेर दुःखी हुँदै भगवान्ले भने– तिमीले सब गडबड गरिदियौ । त्यो व्यापारी गलत काम गथ्र्यो । उसको पर्स झरेर केही हुँदैनथ्यो । पर्स गरिबले पाएका थिए । त्यसबाट उनको परिवारको केही दिनको गुजारा चल्थ्यो । पानीजहाजका चालक पक्राउ परेका भए उनी सुरक्षित रहने थिए । त्यसैले, मैले यो सब तारतम्य मिलाएको थिएँ । तिमीले सब उल्टोपाल्टो गरिदियौ । किनकि, पानीजहाजका चालक जुन दिशाको यात्रामा जाँदै थिए, त्यहाँ भयंकर ठूलो आँधी आउँदै छ । बिचरा ! तिनको ज्यान जाने भयो ।