१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर १ बिहीबार २३:३१:००
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

‘उम्मेदवारले भोट हेरे, चोट हेरेनन्’

Read Time : > 3 मिनेट
२०७९ मङ्सिर १ बिहीबार २३:३१:००

सुनसरीको कोसी गाउँपालिका ४ का मोहम्मद सलिम मंसुरीले पछिल्लो पाँच वर्षमा कोसी बाढीले सिर्जित समस्या समाधान होला कि भनेर पर्खिए । त्यसो त उनले उनी जस्तै साे क्षेत्रका बाढी पीडितहरुका समस्या समाधान हुन्छ कि भनेर पर्खेकै १५ वर्ष भयो । त्यही पनि २०७४ सालको निर्वाचन अगाडि उमेदवारहरुले आश्वासन दिएकाले आशावादी भने थिए । उनी २०६५ सालमा गएको कोसीको बाढीले प्रभावित व्यक्ति हुन् । 

यसबीचमा पटकपटक सरकार परिवर्तन भए । संविधान सभा र प्रतिनिधि तथा प्रदेशसभा गरी दुईपटक निर्वाचन सकिए । पुनः यही मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ । पटकपटक उमेदवारहरुले आश्वासन मात्र दिने गरेको उनको गुनासो छ । कोसी बाँध फुटेको १५ वर्ष पुगिसक्दा पनि समस्या समाधान नहुँदा अब भने उनलाई आश लाग्न छाडेको छ ।

त्यस्तै साविक श्रीपुर ८ हाल कोसी ४ का मोहमद सैयम मियाले पनि समस्या सामाधान होला भनेर पर्खेको धेरै वर्ष भयो । आफ्नो एक विगाहा जमिन पूर्णरुपमा बालुवाले पुरिएपछि खानलाउन समेत मुस्किल परेको उनी बताउँछन् । खेती नै रोकिएपछि हाल चामल किनेर खाइरहेका छन् । तीनै तहका सरकार र कुनैपनि नेताप्रति उनको विश्वास घट्दै गइरहेको छ । उनले अहिलेसम्म आश्वासन धेरे पाएको तर काम कसैले नगरेकोमा अब निर्वाचित हुने प्रदेश र संघीय सांसदले समस्या समाधान गर्नेमा उनी शंका व्यक्त गर्छन् । 

०६५ साल भदौ २ गते दिउँसो सप्तकोसीको बाँध फुटेर सुनसरीका साविकका पश्चिम कुशाहा, हरिपुर र श्रीपुर क्षेत्रमा बाढी बितण्डा मच्चायो । यी क्षेत्रका आधाजसो घरपरिवार पूर्णरुपमा सुकुम्बासी हुन पुगे । कतिको जमिनमा पानी पस्यो, कतिकोमा बालुवाले पुर्यो । धेरेको घर बगायो । भत्केको सप्तकोसीको बाँध र त्यसले निम्त्याएको समस्या बाढी पीडितहरूले बिर्सन सकेका छैनन् । भदौ २ गतेलाई बाढी प्रभावित क्षेत्रका बासिन्दाले कालो दिनका रूपमा मनाउने गरेका छन् । त्यस बाढीबाट धेरै पीडितहरुले अझैसम्म राहत पाउन सकेका छैनन् ।

प्राथामिकतामा परेनन् बाढीपीडित
अघिल्लो प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा उमेद्वारहरुले समस्या समाधान गर्ने भन्दै आश्वासन देखाएर भोट मागेको पीडितहरु अझै सम्झिन्छन् । बाढी प्रभावित क्षेत्र समावेश भएको सुनसरीको क्षेत्र नम्बर ४ बाटै नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा ज्ञानेन्द्र बहादुर कार्की र प्रदेश सभा सदस्यमा एमालेका जगदिश कुसियत बिजयी भए । दुवै मन्त्रीसमेत भए । तर, दुबैले समस्या सामाधानका लागि काम नगरेको बाढी पीडितहरुको गुनासो छ । 

‘निर्वाचनको बेला उमेद्वारहरुले गफ र आश्वासन धेरै नै दिन्छन्,’ मोहमद सैयम मिया भन्छन् ‘अहिलेसम्म उस्तै छ समस्या, कहिले समाधान होला ?’ यस पटकमा गाउँमा पुरानै आश्वासन देखाएर भोट मागिरहेको उनको भनाई छ । यस पटक प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनको तर्फबाट ज्ञानेन्द्र कार्की र प्रतिपक्ष गठबन्धनको तर्फबाट एमालेका जगदिश कुसियत नै प्रतिष्पर्धामा छन् । दुबै उमेदवारले यस पटकको निर्वाचनका लागि आफ्ना प्रमुख एजेण्डाहरु सार्वजनिक गरेका छन् । तर, त्यसमा कोसी बाढी पीडितका समस्या समाधानका विषयहरु प्राथामिकतामा परेका छैनन् । 

पटकपटक सरकार फेरियो, समस्या ज्यूँका त्यूँ
यस १४ वर्षको अवधिमा पटकपटक सरकार परिवर्त भए । कुनै न कुनै सरकारले हेर्ला कि भन्दै सधैं बसिरहेको कोसी गाउँपालिका ६ का मनोज मेहताले बताए । यस बीचमा माओवादी, एमाले र कांग्रेस तीन वटै पार्टीको सरकार गठन भइसकेको र सबैले प्राथामिकता नदिएको उनको गुनासो छ । तत्कालिन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले कोसीपीडितलाई घरमर्मत गर्नका लागि ३५ केबी काठ दिने, सुकुम्बासी परिवारलाई दुई कठ्ठा जग्गा र बसोबास गर्न मिल्ने घर व्यस्थापन गर्ने, राहत वितरण गर्ने लगायतका निर्णय गरेको थियो । तर, अहिलेसम्म धेरैले त्यो काठ नपाएको, जग्गा नपाएको, क्षतिपुर्ती नपाएको पीडितहरुको भनाइ छ । 

खेती गर्ने जमिन बालुवाले पुर्यो, घरखर्च जुटाउन विदेश धाउनु पर्यो
खेती गर्दै आइरहेको जग्गामा बालुवा पसेपछि चामल किनेर खानुपर्ने अवस्था आएको पीडितहरुको भनाई छ । घरखर्च जुटाउनलाई बाढी पछिको समयमा धेरै युवाहरु बैदेशिक रोजगारीमा जान बाध्य भएको मियाको भनाई छ । 
‘ज–जसको जग्गामा बालुवा परेर धानगहुँ उत्पादन पूर्ण रुपमा रोकियो, त्यसपछि चामल किन्न घरखर्च जुटाउन गाह्रो भयो,’ उनले भने, ‘अहिले प्राय धेरैपरिवारमा एक जनाको दरले बैदेशिक रोजगारीमा छन्, कतिपय परिवारमा त बैदेशिक रोजगारीमा जाने खर्च समेत नभएर समस्यामा छन् ।’ 

बाढी प्रभावित क्षेत्रमा १३ हजार मतदाता
हालको कोसी गाउँपाकिा वडा नम्बर ३, ४, ५ र ६ बाढीले बढी प्रभावित क्षेत्र मानिन्छ । यस क्षेत्रमा १३ हजार ६ सय २८ जना मतदाताले यही ४ मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा मतदान गर्दैछन् । एजेण्डामा प्राथामिकतामा नराखेपनि प्रमुख दुबै उमेद्वारहरुले आश्वासन दिएर भोट भने मागेका छन् । धेरै मतदाताहरुले यो सबै पहिलाको जस्तै झुटो आश्वसन नै हुन सक्ने बताउँछन् । अधिकांश ग्रामीण क्षेत्र रहेको सुनसरी क्षेत्र नम्बर ४ लाई विशेष चासोका साथ पनि हेरिएको छ ।

निरन्तर संघर्ष र पहल गरिरहेका छौं : संघर्ष समिति अध्यक्ष मण्डल
बाढी पसेको केही महिनामै कोसीपीडित संघर्ष समिति गठन भयो । अहिलेसम्म सोही समितिले पटकपटक पहल गर्ने र संघर्षका कार्यक्रमहरु गरिरहेको समितिका अध्यक्ष पञ्चनारायण मण्डलले बताए । ‘बीचबीचमा सरकारहरु परिवर्तन भइरह्यो,’ उनले भने, ‘हामीले जुन सरकार आएपनि आशाबादी भएर समस्या सामाधान र राहत वितरणका लागि पहल गरिरहेका छौं ।’ 

समितिकै पहलमा तत्कालिन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले गरेका निर्णहरु पूर्णरुपमा कार्यान्वयन हुन नसकेको उनको भनाई छ । सोही समयमा रातो, पहेँलो र हरियो रंगको कार्डमार्फत पीडित वर्गीकरण गरिएको उनी बताउँछन् । उनका अनुसार अझै आधा जसो पीडितले राहत, मुआब्जा, क्षतिपुर्ती, जग्गा पाउन बाँकी छ । सो समयमा ३ हजार ६ सय बिगाहमा क्षति भएको थियो ।

 एक हजार ८ सय बिगाहको बाली मुआब्जा बाँकी छ । एक हजार ९ सय परिवारले क्षतिपुर्ती पाउनुपर्ने भएपनि एक हजार ७ सयले पाउन बाँकी रहेको उनी बताउँछन् । त्यस्तै ३ हजार ३ सय ६० परिवारले ३० किबीको काठ पाउनुपर्नेमा करिब एक हजार ६ सय परिवारले पाउन बाँकी छ । एक हजार ४ सय २२ सुकुम्बासी परिवारले जग्गा र सोमा बसोबास योग्य घर पाउनुपर्नेमा ३ सयपरिवारले मात्र पूर्णरुपमा घर र घडेरी पाएका छन् । ‘अझै धरैले क्षतिपूर्ती, राहत र जग्गा पाउन बाँकी नै छ,’ उनले भने, ‘हामी निरन्तर संघर्षका कार्यक्रमहरु गरेर भएपनि समस्या समाधान गर्छौ ।’