१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ मङ्सिर १ बिहीबार १४:५६:००
Read Time : > 3 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रतुवाका बाढीपीडित भन्छन्– कुन मुख लिएर आउन् त भोट माग्न ?

Read Time : > 3 मिनेट
२०७९ मङ्सिर १ बिहीबार १४:५६:००

झापा क्षेत्र नम्बर ५ स्थित गौरादह ५ डुब्बाटोलीका सजमलाल राजवंशी गत असारमा रतुवा नदीमा आएको बाढीले विस्थापित भए । मजदुरी गरेर घर चलाउँदै आएका राजवंशीले पुस्तौँदेखि रतुवा नदीसँग पौँठेजोरी खेल्दै आएका थिए । यसपटक उनी रतुवासँग थाके । गत असारमा आएको बाढीले उनको कच्ची घर बस्नै नहुने गरी भत्काइदियो ।  

अहिले उनी करिब पाँच सय मिटर पूर्वमा रहेको चप्रमारी बजारनजिकै घर बनाएर बस्दै आएका छन् । ‘प्रत्येक वर्ष खोलासँग लडाइँ खेल्नुपर्छ । यसपटकदेखि खोलासँग लडाइँमा म थाकेँ । खोलालाई एक बिघा जग्गा छाडेर म त भागेँ,’ उनी भन्छन्, ‘मजदुरी गरेर धन्न अलिक सुरक्षित ठाउँमा तीन कठ्ठा जमिन छोडेको थिएँ । त्यहीँ घर बनाएर बसेको छु ।’  

हिउँदको समयमा उनी पहिले घर भएको ठाउँमा सागसब्जी रोप्छन् । सागसब्जी रोप्दै गर्दा भेटिएका राजवंशी दलका उम्मेदवारले भोट लिनका लागि यहाँका गरिब किसानलाई छक्याएको बताउँछन् । 

‘०४८ सालको चुनावदेखि नै यहाँ रतुवा नदीको तटबन्धको एजेन्डा बनाएर भोट माग्न आउँदै छन् । तर, चुनाव जितेपछि आफ्नै एजेन्डा बिर्सिन्छन्,’ राजवंशी भन्छन्, ‘चुनावका वेला उम्मेदवार ठूलो स्वरमा रतुवाको पाता फर्काउँछु भन्थे । अहिले उल्टै खोलाले हाम्रो पाता फर्कायो । गाउँ छाड्न बाध्य बनायो ।’

डुब्बाटोलीकी द्रोपती राजवंशीको परिवार बर्खामा आउने भेलसँगैको रतुवा नदीको चुनौतीलाई खेप्दै यही गाउँमा बसेको छ । बर्खाको समयमा केही महिना चप्रमारी बजारमा भाडामा बस्दै भए पनि दुःख गरिरहेको उनी बताउँछिन् ।
‘नदीमा बाँध छैन । बर्खामा सीधै गाउँमा पस्छ, नदी । अस्ति बर्खामा कम्मरकम्मर पानी थियो,’ उनले भनिन्, ‘दुई महिनाचाहिँ महिनाको दुई हजार भाडा तिरेर चप्रमारी बजारमा बस्यौँ ।’ 

गत असारमा बाढीले भत्काएका घर अझै बनाउन सकेकी छैनन् । ‘प्रत्येक वर्ष बाढीले घर भत्काउँछ । कति बनाउनू ? बनाएर साध्य भएन,’ उनी भन्छिन्, ‘यसपटक त नबनाई बसेको । जनमन गरेर कमाएको पैसा घर बनाउँदै सकिने भयो !’

त्यहाँ उनको एक बिघा खेत छ । तर, बर्खामा खेती गर्न सक्ने अवस्था नै नहुने उनी बताउँछिन् । ‘एक बिघा खेत भएर के गर्नु ? बर्खामा खेती गर्नै सकिँदैन । खोला नै यतै पस्छ,’ उनी भन्छिन्, ‘बर्खामा त आकाश कालो भयो भने पनि बाढी आउँछ कि भन्ने चिन्ता हुन्छ ।’

विगतका निर्वाचनमा दलका नेताहरू ‘खोलाको पाता फर्काउने’ भन्दै बस्ती पस्थे । यसपटक निर्वाचन आइनै सक्यो । तर, बस्तीमा उम्मेदवार आएका छैनन् । पाँच सय मिटर पूर्वको चप्रमारी बजारमा दलहरूले झन्डा राख्ने प्रतिस्पर्धा नै चलाएका छन् । 

सार्वजनिक चोकमा मात्र हाेइन जनताको घर–घरमा झन्डा छ । त्यहाँ दैनिक भोट माग्न उम्मेदवार आउँछन् । तर, डुब्बाटोलीका घरमा न पार्टीका झन्डा नै छन् न त उम्मेदवार नै भोट माग्न पुगेका छन् । 

‘गाउँ यस्तो अवस्थामा छ । सधैँ त भोट माग्न आउँथे । यसपटक त भोट माग्न पनि आइपुगेनन्,’ लारवनसिंह बराई शर्मा भन्छन्, ‘सधैँ चुनावमा बाँध बाँधिदिन्छौँ भनेर भोट माग्थे । अहिलेसम्म केही भएन । अब त हामी पनि बुझ्ने भयौँ । भोट माग्न आउँदा हामी त्यसै छाड्दैनौँ । हाम्रो आक्रोश सुन्न नसक्ने भएर उम्मेदवार आएनन् । हाम्रो प्रश्नको जवाफ उनीहरूसँग छैन । कुन मुख लिएर आउन् त भोट माग्न ?’

बस्ती जाने बाटोको कल्भर्ट गत असारको बाढीले भत्काएको छ । स्थानीयले बाँसको पुल बनाएर ओहोरदोहोर गर्दै आएका छन् । यही निर्वाचन क्षेत्रबाट पटक–पटक निर्वाचित भएका केपी ओली दुईपटक प्रधानमन्त्री भए । तर, यहाँका स्थानीयको दुःख फेरिएन । 

नदी गाउँमा नपसेको बर्खा हुँदैन । खानेपानी त परको कुरा, गाउँसम्म बाटो पुगेको छैन । ‘हामीले जिताएका मान्छे मन्त्री, प्रधानमन्त्री भए । तर, हाम्रो ठाउँमा एउटा नदीमा बाँधसमेत बाँधिदिएनन् । बर्खाको समयमा कम्मरकम्मर पानी आउँछ । अस्ति असारमा पनि त्यस्तै भयो । खाटमाथि बस्यौँ । पकाएर खान सकिएन । कति दिन त भोकै बस्यौँ,’ लारवनसिंह भन्छन्, ‘छाडेर जान पनि गाईवस्तु थिए । त्यत्तिकै छाडेर जान मायाले सकिएन ।’

डुब्बाटोलीका शन्तराम बराई शर्मालाई बाढीले भत्काएको घर देखाएर उम्मेदवारलाई प्रश्न गर्न मन छ । तर, उम्मेदवार गाउँसम्म आइनपुगेपछि उनी निराश छन् । ‘चप्रमारी बजारमा त दिनै आउँछन् । माइक लगाएर प्रचार गर्छन् । हाम्रोसम्म त आइ नै पुग्दैनन्,’ उनी भन्छन्, ‘चुनावका वेलामा बाँध बाँधिदिन्छौँ भन्ने नेतालाई कहिले बाँध्ने भनेर प्रश्न गर्न मन छ । तर, नेता नै आइपुगेनन् । हामीलाई केही चाहिएको छैन । बाँध बानिदिएर बस्ती जोगाइदिए हुन्छ ।’ 

प्रत्येक वर्ष बाँसको बाँध बाँधिन्छ । तर, उक्त बाँधले बर्खाको भेल नथाम्ने शन्तराम बताउँछन् । डुब्बाटोलीमा करिब ७० घर विपन्न आदिवासीको बस्ती छ । यो बस्तीमा प्रत्येक वर्ष रतुवा नदी पस्छ । यहाँका अधिकांश आदिवासी विस्थापित हुने अवस्थामा छन् । 

‘घर भत्किँदा कसैले हेरेनन्, अहिले भोट दिनु घर बनाइदिन्छौँ भन्छन्’
गौरादह– ६ दामुनाको सुकुमबासी बस्तीकी अञ्जली ऋषिदेवको घर गत असारमा आएको रतुवा नदीको बाढीले भत्कायो । फुसको छानो र प्लास्टिक लगाएको उनको छानो छियाछिया बनाएको छ । त्यहाँ उनको सानो नानी, श्रीमान् र उनी बस्दै आएका छन् । गर्भवती उनी जोखिमपूर्ण अवस्थामा त्यहाँ बसेकी छिन् । 

गत बर्खाको बाढीले घरको टाटी पनि भत्काएको छ । टाटी बनाउने पैसा उनीसँग छैन । करिब पाँच महिना उनले यस्तै घरमा बिताइसकिन् । ‘मजदुरी गरेर खाने मान्छे । बिहानबेलुका खान पनि धौधौ पर्छ । कसरी घर बनाउने ?,’ उनी भन्छिन्, ‘चुनाव लागेको छ । अहिले त घर बनाइदिन्छु !, रोजगारी दिन्छु, खोला बाँधिदिन्छु भन्ने मान्छे त कति आउँछन्–आउँछन् । तर, चुनाव जितेर गएपछि बिर्सन्छन् । नगरपालिकाको चुनावमा पनि त्यसै भने । मेयर बाढी बस्दा हेर्न पनि आएनन् ।’

गत असारमा दामुनाकी सुकुमबासी मन्सु ऋषिदेवको घरमै बाढी पस्यो । उनको परिवार एक साता दामुना बजारको टहरामा बस्यो । उनको घरको पछाडिको बेरा बाढीले भत्काएको थियो । मजदुरी गरेर खाने उनको परिवारसँग पैसा पनि थिएन । त्यसवेला कोही पनि सान्त्वना दिन आएन । 

टहरामा मात्र बसेर मात्र त भएन ! उनको परिवार भत्किएको घर टालटुल पारेर फर्कियो । बल्ल–तल्ल घर फर्किएकी मन्सुलाई फेरि बर्खामा बाढीले घर भत्काउने हो कि भन्ने चिन्ता छ । घर भत्किएको वेलामा नदेख्ने नेताहरू अहिले चुनावमा भोट माग्दै उनको घरसम्म आएका छन् । उनलाई घर बनाइदिने, जस्तापाता दिने आश्वासन दिँदै बस्तीमा उम्मेदवार आइपुगेका छन् । 

‘अरूवेला हामीले नमस्ते गर्दा पनि फर्काउँदैन थिए । अहिले हामीलाई नमस्ते गर्दै भोट माग्न आउँदै छन् । घर भत्किँदा कसैले हेरेनन्, अहिले भोट दिनु घर बनाइदिन्छौँ भन्छन्,’ उनी भन्छिन्, ‘सधैँ चुनावका वेलामा यस्तै भन्छन् । चुनावका वेलामा हामी गरिबलाई यसरी नै आस देखाउँछन् । चुनाव सकिएपछि बिर्सन्छन् ।’