मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ कार्तिक २९ मंगलबार १५:१४:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

आलेलाई बागीको डर, ओलीलाई बागीकै भर

Read Time : > 1 मिनेट
२०७९ कार्तिक २९ मंगलबार १५:१४:००

एउटा मात्र निर्वाचन क्षेत्र रहेको डोटीमा दुई पूर्वसहकर्मी प्रतिस्पर्धामा उत्रिएका छन्  । गठबन्धनबाट एकीकृत समाजवादीका प्रेमबहादुर आले र एमालेका गौरी ओली ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आमने–सामने भएका हुन् । निवर्तमान सांसद आले एमाले विभाजन हुँदा एकीकृत समाजवादीमा लागेका थिए ।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा माओवादीको सहयोगमा एमालेबाट सांसद बनेका आलेलाई यसपटक कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाको पनि साथ छ । ओली भने पहिलोपटक संसदीय चुनावको प्रतिस्पर्धामा होमिएकी हुन् । उनी यसअघि ०६४ मा समानुपातिकबाट संविधानसभा सदस्य बनेकी थिइन् ।

गठबन्धनबाट आलेको पल्ला भारी भए पनि उनलाई कांग्रेसका बागी उम्मेदवार नरेन्द्रबहादुर खड्काको भने डर छ । खड्काले कांग्रेसको मत काट्दा त्यसको फाइदा एमाले उम्मेदवार ओलीलाई पुग्न सक्ने ठम्याइ गरिएको छ ।

तर, कांग्रेसले भने खड्कालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि निष्कासन गरिसकेको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आले, ओली र खड्कासँगै  राप्रपाका अंकबहादुर खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीका केशवबहादुर बलायर तथा स्वतन्त्रबाट राजप्रसाद जोशी चुनावी मैदानमा छन् ।

यस्तो छ, अंकगणित
डोटीमा कांग्रेस र एमाले मुख्य प्रतिस्पर्धी हुन् । ०७४ मा आलेले माओवादीको सहयोगमा कांग्रेसका वीरबहादुर बलायरलाई एक हजार ६ सय ३२ मतान्तरले हराएका थिए । आलेले ३२ हजार पाँच सय १० मत पाउँदा बलायरले ३० हजार आठ सय ७८ मत मात्र पाएका थिए । अन्य उम्मेदवाारले सात सय मत पनि पुर्‍याउन सकेका थिएनन् ।

यसपटक कांग्रेस, माओवादी र एकीकृत समाजवादीको गठबन्धन हुँदा आले उम्मेदवार बनेका छन् । बलायर कैलाली ४ पुगेका छन् ।

३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्दा पनि यहाँ कांग्रेस र एमाले नै प्रतिस्पर्धी देखिन्छन् । कांग्रेसको मत ३३ हजार नाै सय ४४ छ भने एमालेको २५ हजार ३६ रहेको छ ।

माओवादी केन्द्रको सात हजार ६ सय १२ र एकीकृत समाजवादीको तीन हजार दुई सय पाँच मत छ  । यसरी गठबन्धन जोडदा भने एमाले कमजोर हुन पुग्छ  । तर, गठबन्धनमा पनि विशेष गरी कांग्रेसको मत आलेलाई जान्छ वा जाँदैन नतिजा यसैमा निर्भर रहनेछ ।

आले गठबन्धनको सबै मत आफूले पाउने दाबी गर्छन् । ‘म सांसद भएर त्यत्तिकै बसिनँ, जनताको घरदैलोमा पुगेर दुःखपीडा सुनेको छु,’ आले भन्छन्, ‘कोरोना महामारीदेखि अन्य समयमा सहयोग गरेको छु । मलाई डोटीका जनताले फेरि जिताएर पठाउँछन् ।’
 
प्रेम आलेका चुनावी एजेन्डा
–धनगढी–खुटिया–दीपायल– चैनपुर उरै (उत्तर–दक्षिण) सडक निर्माण  
–पश्चिम सेती र एसआर–९६ जलविद्युत् आयोजना निर्माण 
–डोटीलाई शैक्षिक हब निर्माण गर्ने 
–डोटी बहुमुखी क्याम्पसको स्तरोन्नति 
–डोटीमा मेडिकल कलेज स्थापना 

गौरी ओलीका चुनावी एजेन्डा
–पश्चिम सेती जलविद्युत् परियोजना
– डोटीलाई शैक्षिक हब 
–खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धन गर्ने 
–शिक्षाको विकास