१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
वर्षौँदेखि अलपत्र भक्तपुर–नगरकोट सडकखण्ड । फाइल तस्बिर
शिल्पा कर्ण काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o७:२९:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

भक्तपुरवासीको साझा प्रश्न– खानेपानी अभाव र जीर्ण सडक कहिलेसम्म ?

Read Time : > 3 मिनेट
शिल्पा कर्ण, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:२९:oo

भोट माग्न घरदैलोमा आएका उम्मेदवारहरूसँग भक्तपुरका मतदाताहरूले साझा माग हुन्छ, खानेपानीको ग्यारेन्टी र सडक स्तारोन्नति गर्नुपर्‍यो । संघीय राजधानीसँगैको जिल्ला भएर पनि सडक र खानेपानीमा पछि परेको भक्तपुरवासीको गुनासो छ । भक्तपुरका धेरै ठाउँमा खानेपानी संकट छ । यो समस्या अझ बढ्दो छ । ग्रामीण क्षेत्रका सडक स्तारोन्नतिको पखाईमा छन् । तीव्र गतिमा बढेको अव्यवस्थित सहरीकरणबाट यो जिल्ला पनि अछुतो छैन । 

भक्तपुर जिल्ला समन्वय समिति उपप्रमुख सुजाता बाडे (वैद्य) राजधानीसँगैको जिल्ला भए पनि पर्याप्त सडक सुविधा नपुगेको बताउँछिन् । साथै, खानेपानी समस्या पनि विकराल रहेको उनले सुनाइन् । ‘मध्यपुर ठिमीमा बोडेको पानी आउँछ, मुहानपोखरीको पानीलाई सूर्यविनायकको ठाउँ–ठाउँमा ट्यांकी बनाएर वितरण गरिएको छ । मेलम्ची पनि आइसकेको छैन,’ उनले थपिन्, ‘मध्यपुर ठिमीका विभिन्न सडकका साथै नगरकोट, धुम्चु, तीनधाराजस्ता ठाउँका सडक राम्रा छैनन् ।’

अनुगमनका क्रममा विभिन्न ठाउँ जाँदा खानेपानी र सडकको गुनासो बढी रहेको उनी बताउँछिन् । यसका लागि सांसदले मात्रै केही गर्न नसक्ने र प्रदेश तथा संघबाटै विकास योजनाको अपनत्व लिनुपर्ने उनी बताउँछिन् । ‘स्थानीय सरकारले थोरै ठाउँमा ढुंगा छपाइ, ढलानसम्म गर्ला । तर, ठूला सडक निर्माणका लागि प्राविधिक र आर्थिक रूपले स्थानीय तह सक्षम छैनन्,’ बाडेले भनिन् ।

जनसंख्या बढेसँगै पानीको हाहाकार
देशका ७७ जिल्लामध्ये भक्तपुर सबैभन्दा सानो हो, तर जनघनत्वका हिसाबले ठूलो । मध्यपुर ठिमीका साथै सूर्यविनायक र चाँगुनारायणमा पनि बसाइँसराइ बढेकाले जनसंख्या निरन्तर वृद्धि भइरहेको छ । 

अहिले भक्तपुरमा दैनिक ८० लाखदेखि एक करोड लिटरसम्म पानीको माग छ । तर, धेरै ठाउँमा इनार र जमिनमुनिकै पानीको भर पर्नुपर्ने अवस्था छ । सिँचाइ र खानेपानीका लागि जमिनमुनिकै पानीको भर छ । 

खरिपाटी, नगरकोटका साथै चौखेल, पाण्डुबजार, कटुन्जेजस्ता स्थानका मूलको पानी स्थानीयलाई वितरण हुँदै आएको छ । धेरैजसोको घरमा डिप बोरिङ छ । यसरी डिप बोरिङ राख्न नपाइने भए पनि घरैपिच्छे छ । 

भक्तपुर नगरपालिका ९ की निर्जला कोजू भन्छिन्, ‘कोर सहरभित्र सुक्खायाममा पानी आउँदैन, वर्षामा धमिलो पानी आउँछ । यस्तोमा स्थानीयसँग इनार र जमिनमुनिको पानीको विकल्प हुन्न ।’ उनी बस्ने वडा नं ९ मा पनि सबैले त्यसै गरिरहेका छन् । नगरकोटको पानी आए पनि नियमित छैन । 

भित्री सहरमा ढुंगेधारा, सार्वजनिक इनार र धारा त छन् । तर, सधैँ पानी आउँदैन । खानेपानीका लागि जारकै भर पर्नुपरेको हुन्छ । अन्यथा डिप बोरिङ विकल्प हो । आफू बस्ने ठाउँवरपरको पानी तुलनात्मक रूपमा राम्रो रहेको उनको भनाइ छ । ‘डिप बोरिङले उपत्यकाको जमिन भासिने खतरा छ । यसबारे विज्ञहरूले पटक–पटक चेतावनी दिँदै आएका छन् । न सरकार सुन्छ, न स्थानीयलाई चासो छ,’ उनले आक्रोश पोखे, ‘यो नेताहरूले गर्दा नै भएको हो । राणाकालसम्म व्यवस्थित उपत्यकाका सहरहरू जनयुद्धको समयमा चरम सहरीकरणको अवस्थामा पुगे ।’ दलहरू आफैँले समस्या बढाएको र अहिले समाधानको आश्वासन दिएर मत माग्न आएको उनको आरोप छ ।

उपत्यकाको जनसंख्या बढाउन दलहरूको हात रहेकोमा सहमति जनाउँछन्, सूर्यविनायक नगरपालिकाका एक स्थानीय । उनले आफैँ पनि कुनै दलमा आबद्ध रहेको बताए । नाम खुलाउन नचाहेका उनले भने, ‘नेताहरू आफैँ प्लटिङ, हरियाली मासेर घर बनाउने, वडाध्यक्षले कुलो भए पनि जान्दाजान्दै घर बनाउन सिफारिस गरिदिने गर्छन् । नयाँ घर बन्ने क्रम रोकिएको छैन । ती सबै भनेको खेत मासेरै, पानीको मुहान पुरेरै गर्ने हो ।’

भक्तपुरबाहेकका स्थानीय तह भूउपयोगका विषयमा संवेदनशील नरहेको उनको अनुभव छ । मध्यपुर ठिमी केही संवेदनशील देखिए पनि चाँगु र सूर्यविनायकमा अव्यवस्थित बस्ती बढिरहेको उनले बताए । सूर्यविनायकको चित्तपोल पनि यस्तै एक उदाहरण हो । ‘पानीको व्यवस्थित वितरण नभएर अभाव देखिएको हो । यहाँ वनजंगल र पर्याप्त मूल छन्,’ कांग्रेसबाट पछिल्लोपटक स्थानीय चुनावमा उठेका रामप्रसाद कासुलाले भने, ‘प्लटिङका कुरामा अप्रत्यक्ष रूपमा कोही जनप्रतिनिधि संलग्न होलान् । तर, प्रत्यक्ष रूपमा भक्तपुर र चाँगुले केही स्थानमा आफैँ संलग्न भएर प्लटिङ गरिरहेको छ ।’

कतिपय स्थानमा उपभोक्ता समितिमा आफूनिकटका मान्छे राखेर अव्यवस्थित प्लटिङ भइरहेको उनले बताए । उनले थपे, ‘उर्वरभूमिमा प्लटिङ गर्न नहुने हो । तर, रेसिडेन्सी प्लटिङ गरिरहेको छ ।’ कांग्रेसका निवर्तमान नगर सभापतिसमेत रहेका उनी खानेपानीका साथै वरपरका खोला ढल बनेको र फोहोरले दुर्गन्धित बन्दा पानीको स्रोत प्रदूषित बनेको बताउँछन् । 

भक्तपुर प्रतिनिधिसभा क्षेत्र : २  
- प्रतिनिधिसभाका उम्मेदवार संख्या : ४० जना 
- प्रदेश सभाका उम्मेदवार संख्या : ५३  जना
- मतदाता संख्या : १,९४,४३९

राजमार्गले चीन जोड्छ, तर भित्री सडक जीर्ण  
भक्तपुर हुँदै काभ्रेको साँगामा जोडिएको अरनिको राजमार्गले नेपाललाई तातोपानी नाका हुँदै चीनसम्म जोड्छ । तर, भित्री सडकले जिल्लाका विभिन्न स्थानलाई दुर्गम बनाएको स्थानीय बताउँछन् । सार्वजनिक यातायातभन्दा पनि प्रायः काँठका बासिन्दा दुईपांग्रे निजी सवारीकै भरमा छन् । सडकका विषयमा भक्तपुर नगरपालिकाका कांग्रेसका निवर्तमान सभापति रामप्रसाद कासुला भन्छन्, ‘भक्तपुरमा सडकको समस्या समाधानका लागि तीनै तहका सरकारसँग हामीले अनुरोध गरेका छौँ । तर, नगरकोट सडक नै हेर्ने हो भने पनि पछिल्ला सरकारहरूले आश्वासन मात्र दिने गरेको छ ।’ विकासका सन्दर्भमा दलहरू एकमत भएको उनले सुनाए । 

स्वास्थ्य र शिक्षामा उदाहरणीय
स्वास्थ्य र शिक्षाका हिसाबले भने भक्तपुर उदाहरणीय बनेको छ । यहाँ सार्क राष्ट्रस्तरीय क्षयरोग अस्पताल, नगरपालिकाद्वारा सञ्चालित कलेजहरू र अस्पताल छन् । तर, पानीको समस्या केही क्षेत्रमा रहेकाले भौतिक निर्माणलाई मात्र विकास मान्न नमिल्ने स्थानीय बताउँछन् । 

भक्तपुुर जिल्ला मात्र नभई देशभरकै चरम सहरीकरणले अन्य स्थानमा पनि खानेपानीको अभाव सिर्जना गर्ने प्राध्यापक पुरुषोत्तम लोचन श्रेष्ठको भनाइ छ । उनले खानेपानीका विषयमा स्थानीय तह मात्र नभई संघले नै कडा नीति बनाउनुपर्ने बताउँछन् । 

नीति मात्र ल्याउने, तर कार्यान्वयनमा आफैँ बाधक बन्ने गरेको उनले बताए । राजनीतिक दलका मान्छेहरू नै वडाध्यक्ष, मेयरजस्ता पदमा रहेर विभिन्न लोभमा नक्सापास र प्लटिङजस्ता कार्यमा संलग्न हुन नहुने उनको सुझाव छ । ‘खरिपाटीमा पानी आउने ठाउँमाथि घर बन्न थालेका छन् । खानेपानीको समस्या सीधै अव्यवस्थित बसोवाससँग जोडिन्छ । यसलाई सम्बोधन गर्ने खालको नीति ल्याउन ढिला भइसक्यो,’ उनले भने, ‘तीनै जिल्लाका सहरी बस्तीहरूमा यदि पानीको उचित व्यवस्थित गर्ने हो भने पुराना मुहान खोतल्नुपर्छ । ढुंगेधारालाई पुनर्जीवित गर्न सकिन्छ । सुन्दा स्वतन्त्रताको हनन भने लाग्न सक्छ । तर, जथाभावी घर बनाउने, जहाँको मान्छेले जहाँ पनि घर बनाउन पाउने अवस्था अन्त्य हुनुपर्छ ।’

ad
ad