‘अस्तित्व’मा यौन मनोविज्ञानका कथा

प्रदीप सापकोटा प्रदीप सापकोटा
आइतबार, २३ मंसिर, २०८१
डिजिटल संस्करण

रेजिना पाण्डेको कथासंग्रह ‘अस्तित्व’ हात पर्यो । सर्सर्ती पढेँ । १७ वटा कथा रहेछन् । पतिपत्नीबिचका सम्बन्ध र पुरुष एवं महिलाका मनोविज्ञानका कथाको बाहुल्य भएका कथा स्वाभाविक देखिए । प्रस्तुतिमा रोचकता पाएँ । महिला विभिन्न पात्र, घर, नाता सम्बन्ध, कार्यालय आदिका परिवेशवरपर रहेर कथा सिर्जना भएका रहेछन् । प्रवृत्तिगत रूपमा हेर्दा वर्तमान समसामयिक समाजको यथार्थलाई कथाहरूले सत्यापन गरेका छन् । यसमा समावेश अधिकांश कथा महिलावादी छन् । कतिपय कथा पुरुषको मनोविज्ञानलाई बुझेर लेख्ने प्रयास गरेको छ । जुन महिलामार्फत प्रस्तुत भएको पाइन्छ । 

कथाहरू आदर्शवादभन्दा यथार्थवादसँग सन्निकट देखिन्छन् । यसमा कुनै–कुनै कथामा समाजका तथाकथित आदर्श भत्काउन खोजिएकोझैँ लाग्छ । समाजका प्रचलित मूल्य र मान्यतालाई अस्वीकार गरिएको संस्कृति पढ्न पाइन्छ र भन्न सकिन्छ, अलि–अलि विद्रोही चेत कथाकारमा छ । यौन मनोविज्ञानका सूक्ष्म मनोदशा छताछुल्ल पोखिएका कथा छन् । नारीका भावनाका त्याग, पुरुषका इच्छाभित्र पोखिनुपर्ने बाध्यता सबै विषयमा कथा छन् ।

पहिलो कथा संवादात्मक शैलीमा लेखिएको छ । जुन कार्यालयमा दुई कर्मचारीबिच महिला पुरुषको सम्बन्धको विषयमा खुलेर लेखिएको छ । जतिसुकै कुरूप भए पनि आफ्नो रगतको माया कति धेरै हुन्छ भनेर आमाछोरीको मायाप्रेममाथि कुरूप कथा बुनिएको छ । ‘तेजाब’ कथाभित्र आलिसान महल र वैभवभित्र पनि कुरूपता लुकेको हुन्छ, शोषणको खोला बगेको हुन्छ भन्ने कुरा देखाइएको छ । थुप्रै कथा यौनका विषयमा लेखिएका छन् । ‘मुक्ति’, ‘सन्तुष्टि’, ‘भुल’लगायत कथा यौनकै पेरिफेरीमा अडेका छन् । यी महिलाको चेतन मनबाट जागृृत हुने रतिरागका कथा लाग्छन् । कथाहरू स्वाभाविक छन् । दमित मनका इच्छाका बग्रेल्ती उच्छ्वास अभिव्यक्त भएका छन् । ‘मन’ कथा श्रीमान्को यौनचाहलाई जुनै पनि वेलामा पूरा गर्नपर्छ भन्ने भाव दर्साइएको कथा हो ।

कथाहरूले महिलाको बाध्यता बोल्छन् । सम्बन्धको खोतलखातल पनि गर्छन् । कथामा दमित महिलालाई प्रस्तुत गर्न सिपालु देखिएकी छिन् रेजिना । कल्पनाको उडानभन्दा कोसौँ दूर यथार्थलाई कथाको विषय बनाउन सफल छिन् । पुरुषबाट महिलाले शारीरिक भोक मात्र होइन, हार्दिकता चाहेको हुन्छ भन्ने कुरामा जोड दिएर कथानकता बुन्न पनि उनी खप्पिस छिन् । महिलाका अनुभूतिलाई टिपेर मानसिक द्वन्द्व उजागर गर्ने उनको सार्थक प्रयास छ । सासू र बुहारीबिचको फरक सम्बन्धको कथा लाग्छ ‘मनुमाया’ । 

समाजमा महिला हुनुको पीडा, महिलाको तेहेरो भूमिकाको अवस्थालगायत महिलाको बाध्यात्मक नियतिको चित्रण कथाहरूले मज्जैले गरेका छन् । नेपाली समाज पुरुषप्रधान छ । यही समाजका नारीको सामाजिक, आर्थिक, व्यावहारिक, यौनिक, मानसिक अवस्था र त्योबाट सिर्जित पीडालाई कथामा व्यक्त गरिएका छन् । परम्परागत लेखनीलाई तोड्ने कथाकारको प्रयास देखिन्छ । कथाका विषयवस्तु नेपाली समकालीन समाजको परिवेश, यसभित्रका विभिन्न नाता–सम्बन्ध र यसको मूल्य–मान्यता वरिपरि घुमेका छन् । 

पात्रमार्फत दमित यौनभाव पस्कन सफल देखिएकी कथाकार यौनबारे खुलेर लेख्ने सामाथ्र्य राख्ने सम्भावना बोकेकी कथाकार हुन् भन्न सकिन्छ । 

सम्पादकको रोजाइ

सुझावित समाचार