सेतो धरती
अमर न्यौपानेको ‘सेतो धरती’ मलाई निकै मन पर्ने पुस्तक हो । यसमा सामाजिक चित्रण निकै राम्ररी गरिएको छ । अलिकति जीवनदर्शनका कुरा छन् । यसले बाल्यकालमै विधवा भएकी नारीको करुण कथालाई प्रस्तुत गरेको छ । बालविवाह हाम्रो समाजको विगतको यथार्थ हो । त्यो यथार्थ हामीले हजुरआमाबाट सुन्दै आएका हौँ । ०६८ सालमा प्रकाशित यस उपन्यासको सेटिङ पुरानो जमानाको भए पनि सबैलाई छुन्छ । मैले एकै बसाइमा पढेको हुँ । लेखाइ निकै सरल छ । यो यथार्थवादी उपन्यास हो ।
एस्टर्डे आई वाज द मुन
मुर उन्हारले लेख्नुभएको यो कवितासंग्रह पनि निकै मन पर्छ । हुन त, म अंग्रेजी खासै पढ्ने मानिस त होइन । तर, यो पुस्तक एकदमै सरल रूपमा लेखिएको रहेछ । मलाई चन्द्रमा एकदमै मन पर्छ । आमा बित्नुभएपछि चन्द्रमालाई म निकै गहिरो गरी नियाल्छु, भावनात्मक हुन्छु । त्यहीकारण पनि यो कवितासंग्रह मन परेको छ । यसमा साहस, आत्मप्रेम, संस्कृति र शान्तिका लागि हृदय र कलामार्फत गरिने संघर्षबारे कविता छन् । एउटै शब्दमा भन्नुपर्दा यसका शब्दले दु:ख, पीडा र व्यथा निको पार्दै जान्छन् । अलिकति लो फिल गर्दा यो किताबका केही हरफ पढ्छु । मैले बारम्बार पढ्ने गरेको कवितासंग्रह हो यो । समग्रमा भन्नुपर्दा, मलाई कविता पनि मन पर्छन् ।
दमिनी भीर
समाजले नचाहेको अनयुजल लभस्टोरी यसले प्रस्तुत गरेको छ । यो पुस्तकको दुई चरित्रबाट निकै प्रभावित छु । मैले ती चरित्रलाई लिएर नाटक वा सर्ट फिल्म बनाउने इच्छा पनि राजन दाइसँग प्रकट गरेको छु । यसमा बिम्बको अत्यधिक प्रयोग भएको छ । मलाई एकदमै छोएको छ । नेपाली समाजको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधता, यसभित्र लुकेको तितो यथार्थलाई सजीव रूपमा उतारिएको छ । राजन मुकारुङ दाइको लेखाइ निकै साहित्यिक हुन्छ । रोचक कुरा यस उपन्यासको अन्त्यतिर राजन दाइले हाम्रो चर्चा पनि गर्नुभएको छ । उहाँले उपन्यास लेख्दै गर्दा हामीसँग राम्रो घुलमिल थियो । बुद्धि तामाङ दाइ, विजय बरालदाई र हामी मण्डलामा हुर्कँदै गर्दा यो पुस्तक पढेका हौँ । मेरो पढ्ने बानी बसेको पनि मण्डला छिरेपछि नै हो ।
फुलानी
खगेन्द्र लामिछानेको कथासंग्रह ‘फुलानी’ पनि निकै मन परेको पुस्तक हो । यसमा उहाँले आफैँले भोगेको समाज उतार्नुभएको छ । डायलगमा आञ्चलिक भाषा छ । पश्चिमको भाषा प्रयोग गर्नुभएको छ । म त पूर्व–दक्षिणको मानिस । पश्चिमको भाषा पढ्दा निकै मन पर्ने गर्छ । यसमा समसामयिक र मायाप्रेमका कथा छन् । उहाँको लेखन निकै सशक्त छ ।
राजधानी मास्तिरको राजधानी
‘राजधानी मास्तिरको राजधानी’मा बोल्न नसक्नेको कथा छ । कवितामा छोटो लाइनमै धेरै कुरा बोलिएका छन् । रावतजीले सुन्दर रूपमा आवाजविहीनको आवाज लेख्नुभएको छ । कतिपय लाइनले निकै पावर दिन्छन् जस्तो, : ‘वर्षौँपछि म तपाईंको सहरमा नांगो शरीर उभिएको छु...’जस्ता लाइनहरू छन् । मायाको कुरा पनि छन् । होर्डिङ बोर्ड शीर्षकको कविता पनि निकै मन परेको छ । यसमा युवाहरूको मर्म समेटिने कविता लेखिएका छन् । द्वन्द्व भोगेर, थिचोमिचो सहेर आएको हाम्रो पुस्ताले यस कवितामा सान्दर्भिकता पाउँछन् । यर्थाथ चिजलाई बिम्बात्मक र कलात्मक रूपमा प्रस्तुत गर्नुभएको छ । रावतजीसँग मण्डलामा भेट्दा पनि मैले निकै कुराकानी गरेको थिएँ । कविता मलाई उसै पनि मन पर्ने, रावतजी रंगमञ्चमै नाटक हेर्न पनि आइरहने । उहाँलाई हेर्दा हामीजस्तै साधारण लागे पनि उहाँको लेखाइ निकै सशक्त छ ।
द ब्वाई, द मोल, द फक्स एन्ड द हर्स
चार्ली म्याकेसीको यो पुस्तकले चारजनाको मित्रतालाई चित्रण गर्छ । एउटा बालक, एउटा छुचुन्द्रो, एउटा फ्याउरो र एउटा घोडाको कथा हो । यसमा मित्रताको कुरा छ । एउटा सानो बच्चालाई छुचुन्द्रोले आएर सोध्छ, हुर्किएपछि के बन्न चाहन्छौ ? बच्चाले जवाफ दिन्छ, म दयालु हुन चाहन्छु । किताब सक्किएपछि मलाई लागेको, छुचुन्द्रो अलि गन्हाउने जीव हो । फ्याउरो हिंस्रक छ र घोडा अलि शक्तिशाली छ । एउटा मानिसको यात्रामा यी तीनवटै तत्वलाई लेखकले मिलाएर राखेजस्तो मलाई लाग्यो । यस आधारमा नै व्याख्या गर्न मलाई मन पर्छ । अन्त्यमा घोडाको पखेंटा पलाउँछ र उसले सबैलाई बाटो पत्ता लगाएर लगिदिन्छ । त्यो इन्टरलिंक निकै मन परेको छ । यसको लेखाई पनि निकै सुन्दर छ । निकै सरल भाषामा छ ।
उसले दिएको उमेर
यो पुस्तक पनि निकै मनपरेको छ । बुद्धिसागर दाइको भाषा निकै सशक्त छ । बुद्धिसागर दाइको लेखनी सशक्त भएकाले उहाँको स्मृतिसँगै आमपाठक पनि बग्छन् । पाठकका रूपमा उहाँका अनुभवसँग मैले पनि आफूलाई सम्बन्धित पाएँ । सुरुमै, जमुनाको रुखको प्रसंग छ । हाम्रोमा पनि जमुनाको रुख पाइन्छ । जमुना खान गएको यी स्मृति सम्झँदा कताकता आफ्नै जीवनको कथाजस्तो पनि लाग्यो । परिवेश, फरक भए पनि जंगल गएर जमुना टिप्दाका कुरा याद आउँछ । सानोमा रेडियोमा कथा, गीत सुन्दाका स्मृति ताजा हुन्छन् । स्मृति उहाँको भए पनि पढ्दा आफ्नैजस्तो लाग्यो ।