हङकङमा छँदा सानोमा म चिनियाँ परम्परागत ओपेरा संगीत धेरै सुन्थेँ । हुन त यहाँको कला, संगीत र साहित्यमा पाश्चात्य प्रभाव राम्रै छ । तर, परम्परागत संगीत पनि उत्तिकै लोकप्रिय छ । चिनियाँ परम्परागत संगीतको इतिहास शताब्दीयौँ लामो छ । यहाँ इर्हु, पिपा, यांगिन, डिजी, परम्परागत ड्रम, गंग्सलगायत मौलिक बाजा प्रयोग हुन्छन् । गायकहरूको शैली पनि पश्चिमा संगीतको दाँजोमा फरक छ । मेरा बाबुआमा दुवैजना परम्परागत चिनियाँ संगीतका पारखी हुनुहुन्छ । सन् २०१० मा इटली आएदेखि म ज्याज संगीतमा लागिरहेको छु ।
मैले अहिलेसम्म ज्याज संगीत भरेर दुइटा एल्बम निकालिसकेको छु । पहिलो एल्बम ‘थर्ड कल्चर किड’ २०१६ मा बजारमा ल्याएको थिएँ । यसमा ६ वटा गीत समावेश छन् । इंग्लिस, इटालियन र क्यान्टोनिज भाषामा छन् । यसले बहुभाषा सिक्दै हुर्कंदाको मेरो बाल्यकाललाई पनि ताजा बनाउँछ ।
मेरो लक्ष्य परम्परागत संगीतलाई ज्याज शैलीमार्फत प्रस्तुत गर्ने हो । किनकि, मसँग चिनियाँ संगीतको पृष्ठभूमि छ । परम्परागत संगीतकै धुनले मलाई यस क्षेत्रमा आकर्षित गरेको हो । परम्परागत संगीतलाई ज्याजमा मिसाउनु एउटा प्रयोग हो । मलाई प्रयोगमा विश्वास लाग्छ । नयाँ प्रयोग गर्ने हुटहुटीले नै मलाई नेपाली संगीतसँग जोडेको हो । निर्माता आमोद राईले मलाई ‘गाउँ आएको बाटोमा’ संगीत भर्नका लागि प्रस्ताव गरेका थिए ।
मैले धेरै नेपाली गीत सुनेँ । राई भाषाका गीत सुनेँ । क्लासिकल, व्यावसायिक र आधुनिक गीत पनि सुनेँ । नेपाली संगीत क्षेत्र निकै समृद्ध छ । नेपालको संगीतलाई विश्वस्तरसम्म लैजान सकिन्छ । यहाँ व्यावसायिक, परम्परागत र प्रयोगवादी सबै संगीत उत्तिकै उत्कृष्ट छन् ।
यसको पाश्र्व ध्वनिमा काम गरेको छु । यसको शीर्ष गीत ‘आलाङ्ने’ मा संगीत दिएको छु । यसमा राजेशपायल राईले स्वर दिएका छन् । यो फिल्म मौलिक संस्कृतिमा बनेको हुनाले संगीत पनि त्यहीअनुसार हुन जरुरी थियो ।
मैले धेरै नेपाली गीत सुनेँ । राई भाषाका गीत सुनेँ । क्लासिकल, व्यावसायिक र आधुनिक गीतहरू पनि सुनेँ । नेपालीले आफ्ना क्लासिकल गीतलाई आधुनिक टच दिएका छन्, यो निकै मिठो सुनिन्छ । म यस्ता संगीत ज्यादा मन पराउँछु । नेपाली संगीत क्षेत्र निकै समृद्ध छ । नेपालको संगीतलाई विश्वस्तरसम्म लैजान सकिन्छ । यहाँ व्यावसायिक, परम्परागत र प्रयोगवादी सबै संगीत उत्तिकै उत्कृष्ट छन् ।
गत वर्ष गीत रेकर्ड गराउन म पहिलोपटक नेपाल आएको थिएँ । नेपाल पनि इटलीजस्तै सांस्कृतिक रूपमा निकै सम्पन्न रहेछ । भाषा र संस्कृतिमा इटली पनि सम्पन्न देश हो । चीनको दाँजोमा भौगोलिक रूपमा सानो भए पनि इटलीमा हरेक सहरको आफ्नो संस्कृति छ । नेपालमा पनि सांस्कृतिक विविधता व्यापक छ । यहाँ धेरै भाषा बोलिन्छन् ।
दर्शकको प्रतिक्रिया महत्वपूर्ण
मेरा लागि दर्शकको प्रतिक्रिया सधैँ महत्वपूर्ण रहन्छ । त्यहीकारण ‘गाउँ आएको बाटो’ प्रदर्शन हुँदा टोरेन्टो र बुसान पनि पुगेँ । टोरेन्टोमा फिल्म प्रदर्शनपछि प्रश्नोत्तर सेसनमा दर्शकले नेपाली मौलिक संगीतको विषयमा धेरै सवाल राख्नुभयो । उहाँहरूले हाम्रो संगीतको तारिफ पनि गर्नुभयो ।
यसमा प्रयोग भएका ढोल, बाँसुरीलगायत बाजा मेरा लागि पनि नौला हुन् । तर, पूर्णतया नौला पनि होइनन् । किनकि, पूर्वीय संगीत केही हदसम्म एक–अर्कासँग मिल्दाजुल्दा छन् । चीनमा पनि बाँसबाट बनाइएका बाँसुरी प्रयोग हुन्छन् । तर, त्यहाँ र यहाँको धुनमा केही फरक छ ।
तसर्थ, मैले यो प्रोजेक्ट पाएदेखि नै राई संगीत पनि सुन्न थालेको थिएँ । ढोलको प्रयोग राई संगीतमा निकै हुन्छ । यी परम्परागत बाजाले निकाल्ने धुन निकै बेजोड छ । मलाई आफ्नो काम नेपाली दर्शकले स्विकार्छन् वा स्विकार्दैनन् भन्ने ठूलो कुतूहल छ । त्यहीकारण नेपाल आएको हुँ । नेपाली दर्शकसँग साक्षात्कार गर्नका लागि निकै आतुर छु ।
यहाँ नेपालीले देखाएको आत्मीय व्यवहारले निकै खुसी तुल्याएको छ । नेपालीहरू निकै राम्रो आतिथ्य गर्ने रहेछन् । मेरो आशा छ, नेपालीले मेरो संगीतलाई स्विकार्नेछन् । संगीतमा नेपालीहरूको राम्रो लगाव रहेछ । त्यसमाथि पनि परम्परागत संगीतमा उनीहरूको विशेष चासो पाएँ । मेरो कामले उनीहरूको मर्मलाई कत्तिको स्पर्श गर्न सक्छ, त्यसैको प्रतीक्षामा छु । नेपालका स्थानीय संगीतकार पनि निकै राम्रा रहेछन् । मलाई भविष्यमा पनि नेपाली संगीतसँग जोडिन मन छ ।
प्रयोगमा रुचि
इटलीमा पनि मैले लोकगीतलाई ज्याज शैलीमा ढालेर गाउने गरेकी छु । इन्डोनेसियाको बालीमा जाँदा पनि त्यहाँको स्थानीय संस्कृतिबारे जानकारी लिन वर्कसपहरूमा गइरहेको हुन्थेँ । त्यहाँको संगीत क्षेत्र निकै समृद्ध छ । बालीमा निकै उत्कृष्ट कलाकार छन् । उनीहरूले पनि आधुनिक शैलीमा परम्परागत गीतलाई ढालेर मिठो गाउँछन् । मेरो लक्ष्य पनि फरक–फरक संगीतलाई ज्याजमा फ्युजन गर्ने हो । ज्याज संगीत अन्य विधाभन्दा फरक छ । परम्परागत संगीतले स्थापित मेलोडी र रिदमलाई पछ्याउँछ । ज्याजमा यसको आधारभूत संरचनालाई कायम राखिने भए पनि धेरै कुरा सुधार हुन्छ । संगीतकारले आफ्नो सिर्जनात्मक क्षमतालाई स्वतन्त्र रूपमा देखाउन पाउँछन् । आफ्नो पृथक् पहिचान देखाउन पाउँछन् ।
ज्याजमा संगीतकारबीच अन्तरक्रिया धेरै हुन्छ । एकल र सामूहिक प्रस्तुति पनि हुन्छ । सर्जकले आफ्नो मौलिकता देखाउन पाउँछ । आफ्नो चरित्र झल्काउन पाउँछ । त्यहीकारण मलाई ज्याज धेरै मनपर्छ । धेरै संस्कृति र परम्परासँग घुलमिल हुन पाउनुलाई मैले अवसरका रूपमा लिएको छु । आगामी अक्टुबरमा इटालियन संगीतकारलाई लिएर चीन जाँदै छु । त्यहाँ मैले परम्परागत गीतलाई ज्याज शैलीमा ढालेर गाउने तयारी गरिरहेको छु ।
सिनेमामा संगीत भरेपछि यस क्षेत्रमा पनि मेरो रुचि बढिरहेको छ । टेरोन्टो र बुसानमा भएका अन्तक्र्रिया उत्साहप्रद रहे । सिनेमा क्षेत्रका मानिससँग भेट्दा पनि अपनत्व महसुस हुन थालेको छ । चलचित्र हेर्ने क्रम पनि बढेको छ । नेपाली चलचित्रमा निकै राम्रा गीत समावेश हुने गरेको पाएकी छु ।