इरानको जाग्रोस पहाडको फेदीमा करिब १२ हजार वर्ष पहिले जौ, मटर र दालको खेतीपाती गरिएको जीवाष्म सन् २००९ मा फेला परेको थियो । गहुँ अफ्रिका र एसिया जोडिएका भूभागसहित मध्य युरोपमा करिब १० हजार वर्ष पहिले खेती गरिन्थ्यो । मकै दक्षिण तथा मध्य अमेरिकामा उद्विकास भएको हो । नौ हजार वर्ष पहिले मध्य अमेरिकामा खेतीपाती सुरु गरिएको मकै युरोप र दक्षिण एसियामा १६औँ शताब्दी ताका ल्याइपुर्याइएको थियो । पूर्वी–दक्षिण चीनको याङ्जे उपत्यका(सिचुवान)मा उद्विकास मानिने धान त्यहाँ करिब १० हजार वर्ष पहिले खेती गरिन्थ्यो । यस्तै, अफ्रिकामा उद्विकास भएको कोदो (फिंगर मिलेट) इथोपिया र सुडानमा करिब पाँच हजार वर्ष पहिले उब्जाउ गरिन्थ्यो ।
मानिसले बढी उपभोग गर्ने अन्न धान, गहुँ, मकै, र कोदो हो । तर, संसारभरका आधाजति जनसंख्याबाट नियमित रूपमा उपभोग गरिने धान हो । सन् २०२० मा प्रकाशित बालकृष्ण जोशी, प्रवीन ओझा, देवेन्द्र गौचन र पशुपति चौधरीबाट लेखिएको एक लेखअनुसार जुम्लामा रोपिने मार्सीसहित नेपालमा दुई हजारजति धानका भेराइटी छन् । नेपालमा केही वर्षयता धान प्रतिवर्ष ५४ लाख टनभन्दा बढी उत्पादन हुँदै आएको छ । गत आर्थिक वर्ष ०७८/७९ मा ४७ अर्ब ५७ कडोड रुपैयाँबराबरको चामल आयात भएको थियो । यतिका मात्रामा खपत हुने धान चीनको कुन समुदायबाट ल्याइएको थियो होला ? त्यसको वैज्ञानिक तथ्य तथा सांस्कृतिक रूप के थियो ? यो लेख यही प्रश्न वरपर केन्द्रित छ ।
धान प्रजाति
धान ‘ओरिजा’ जातिको वनस्पति हो । संसारभर धानको जम्मा १९ प्रजाति छन् । खानका लागि रोपिने ‘ओरिजा सेटिवा’ प्रजातिको धान हो । यो प्रजाति पूर्वी–दक्षिण चीनमा उद्विकास भएको हो । अफ्रिकाको सेनेगलका जोलालगायत अन्य केही समुदायले हिजोआज सामाजिक संस्कार पूरा गर्न ‘ओरिजा ग्लाबेरिमा’ रोप्छन् । अघिल्लो र पछिल्लो धानलाई क्रमशः एसियन र अफ्रिकन राइस भनिन्छ । बाँकी १७ प्रजाति खेतीपाती गरिँदैन ।
धान त प्राकृतिक रूपमा चीनको सिचुवानमा मात्र थियो । पूर्वी नेपालमा धान मानिसले कहाँबाट ल्याए ? ढुकुरले ल्यायो होला भन्दा ढुकुर फिरन्ते चरा होइन ।
अफ्रिकन राइसको दाना एसियन राइसको भन्दा मसिनो र आकृति नास्पातीजस्तो, भुस रातो, चामलको वरिपरि जैतुन (ओलिब)देखि केही कालो रंगसम्मको हुन्छ । यसको दाना पाकेपछि धेरैजसो बोटमा अडिन्न । यस्तै, दाना कडा प्रकृतिको हुने भएका कारण पिसेर चामल बनाउन झन्झट हुन्छ । त्यो एसियन धानको तुलनामा निकै कम फल्छ । यसको सबल पक्ष भनेको पात निकै चौडा हुन्छ, जसले गर्दा यो रोपेको ठाउँमा झारपात हत्तपत्त उम्रन र बढ्र्न नदिनुको अतिरिक्त रोगसँग लड्ने क्षमता बढी भएबाट रोगबाट हत्तपत्त मर्दैन । अफ्रिकन राइसमा जलवायु परिवर्तन सहन सक्ने क्षमता पनि उत्तिकै हुन्छ । यसको केही सबल वंशाणु अर्थात् जिन एसियन राइसमा मिसाउने अनुसन्धान भएका छन् ।
चीनको याङ्जे नदीआसपासका क्षेत्रमा करिब १० हजार वर्ष पहिले ‘ओरिजा साटिवा’को एक भेराइटी ‘जापोनिका’ खेती गरिन्थ्यो । सन् २०२० मा नेचर प्लान्ट्स जर्नलमा प्रकाशित एक जानकारीअनुसार याङ्जे नदीआसपासको साङसान भन्ने ठाउँको प्राचीनकालको घर पुरिएको भग्नावशेषमा फेला परेको थियो । त्यहाँ माछासहित अन्य जनावरका हाड, माटाका भाँडा, जमिन खन्ने लट्ठी, धान पिस्ने ढुंगाका औजार आदि भेटिएका थिए । यस्तै, उत्तर–पश्चिम भारतको गंगा नदीआसपासका क्षेत्रमा धानको अर्को भेराइटी ‘प्रोटो–इन्डिका’ खेती गरिन्थ्यो । हिन्दूहरूको सबैभन्दा प्राचीन ग्रन्थ ऋग्वेदमा धानको चर्चा छ (पाचौँ खण्ड, ५३ सुक्त, १३औँ श्लोक) । दक्षिण भारतको तमिल साहित्यमा ईसापूर्वको तेस्रो समयदेखि लेखिएका सामग्रीमा धान खेती गरिन्थ्यो भन्ने उल्लेख छ । पद्मसुन्दर जोशीलिखित ‘हिति प्रणाली’ (सन् २०२२) शीर्षक पुस्तकमा लिच्छविकालमा काठमाडौं उपत्यकामा खेतीपातीका निम्ति कुलोको वृत्तान्त उल्लेख गरिएको छ । यसले संकेत गर्छ, उस वेला काठमाडौं खाल्डोमा धानखेती गरिन्थ्यो ।
मानव ह्याप्लो ग्रुप
स्वाभाविक रूपमा प्रश्न उब्जिन्छ कि १० हजार वर्ष पहिले याङ्जे नदीआसपासका क्षेत्रमा धान रोप्ने कुन समुदाय थिए होलान् ? त्यो समूह त्यसउप्रान्त त्यहाँबाट चीनको विभिन्न भाग पुगे होलान् । चीनबाहेक अन्यत्र पनि फैलिए होलान् । चीनमा ५६ जाति छन् । तीमध्ये सबैभन्दा ठूलो जातीय समूह हान चिनियाँ हो, जुन चीनको जनसंख्याको करिब ९१ प्रतिशत छ । सिंगापुरमा पनि हान चिनियाँ अत्यधिक छन् । चीनमा बाँकी ५५ जाति अल्पसंख्यक समूह हुन् । तीमध्ये झुआङ, हुइ, मन्चु, उइघुर, मियाओ, तुजिया, तिब्बती, मंगोल र कोरियाली आदि यदाकदा चर्चामा आउँछन् । तीमध्ये कुनचाहिँ जातिले सुरुमा धान रोपेका थिए होलान् ? उसबखत हिजोआज प्रचलनमा रहेको जाति नाम प्रचलनमा थिएन ।
त्यसबखत ठाउँविशेषको खास समूह हुन्थ्यो । ती समूह कुनै खास पैतृकवंश वा मातृवंशबाट फैलिएका हुन्थे । हिजोआज त्यस्ता समूहलाई ह्याप्लो ग्रुप भनिन्छ र यसले आनुवंशिक वंशावली (जेनेटिक जिनिओलोजी) जनाउँछ । मानव कोषमा भएको वाइक्रोमोजोम (वाइडिएनए ह्याप्लो ग्रुप) वा माइटोकोन्ड्रिल डिएनए (एमटिडिएनए ह्याप्लो ग्रुप)को अनुक्रम विश्लेषण गरेर मानिसको ह्याप्लो ग्रुप तथा तिनका विस्तार पत्तो लगाइन्छ । उदाहरणका निम्ति लिम्बू समुदायका एकाधजनाबाट तिनका आनुवंशिक वंशावली परीक्षण गराएका छन् । जेजतिले परीक्षण गराए, तिनका आनुवंशिक वंशज दक्षिण–पूर्वी चीन, दक्षिण–पूर्व एसिया, उत्तर–पूर्व भारत तथा मध्य–एसियामा रहेको देखाउँछ ।
पूर्वी–दक्षिण चीनमा धानको उद्विकास भएका कारण धान पक्कै पनि पूर्वी नेपालमा रोप्न सुरु गरिएको हुनुपर्छ । उहिले मानिस तराईमा औलोको कारण बसोवास गर्दैनथे । यसकारण, पहाडी तथा हिमाली जिल्लामा धान रोप्न सुरु गरिएको थियो ।
अब चर्चा गरौँ, डिएनएको । जन्तु कोषभित्र केन्द्रभागमा रहेको अन्डाकार वस्तुलाई न्युक्लियस भनिन्छ । मानव कोषको न्युक्लियसभित्र २३ जोडा क्रोमोजोम हुन्छ । क्रोमोजोम डिअक्सिराइबोन्युक्लिक एसिड (डिएनए) र राइबोन्युक्लिक एसिड (आरएनए)बाट बनेको हुन्छ । डिएनए मसिना दुईवटा धागा खुकुलो गरी बाटेको जस्तो आकृतिमा रहेको हुन्छ । जब कि एमटिडिएनए न्युक्लियस वरिपरि रहेको जीव रसअन्तर्गत माइटोकोन्ड्रियामा हुन्छ । एमटिडिएनएको आकृति गोलाकार हुन्छ । ती डिएनए सिक्वेन्सिङ अर्थात् अनुक्रम मिलाएर सम्बन्धित जीवको नजिकका नातेदार पत्तो लगाइन्छ । डिएनएको सानो अंशलाई वंशाणु अर्थात् जिन भनिन्छ ।
आमाबाका वंशाणु अर्थात् जिन सन्तानमा के कसरी प्रसारण हुन्छ भन्ने थाहा पाउन शुक्राणु, अन्डाणु र तिनका संयोजन प्रक्रिया थाहा पाउनुपर्ने हुन्छ । पुरुषको शुक्राणु (स्पर्म) बन्दा कोषको केन्द्र भागबाट शुक्राणुको टाउको र कोषको न्युक्लियस भन्दाबाहेकको पदार्थबाट शुक्राणुको छाती र पुच्छर बन्दछ । जब कि अन्डाणु (एग) बन्दा स्त्री कोषको न्युक्लियस र त्यसभन्दा बाहिरको भाग जम्मैबाट बन्दछ । गर्भाधान प्रक्रियामा जब शुक्राणु अण्डाणुको सम्पर्कमा पुग्छ, शुक्राणुको टाउको मात्र अन्डाणुभित्र प्रवेश हुन्छ । यसपछि शुक्राणु र अन्डाणु संयोजनबाट बनेको नयाँ कोषमा पुरुषको माइटोकोन्ड्रिल डिएनएविहीन हुन्छ । त्यो नयाँ कोषमा स्त्रीको माइटोकोन्ड्रिल डिएनए मात्र हुन्छ । यसकारण, हामीकहाँ भएको वाइडिएनए बुबा र आमा दुवैबाट आएको, तर माइटोकोन्ड्रिल डिएनएचाहिँ आमातर्फबाट मात्र आएको हो ।
प्रत्येक वाइडिएनए ह्याप्लो ग्रुपलाई जनाउन एक अक्षरजस्तै ए, बी, सी, डी आदि प्रयोग गरिन्छ । पछि थपिँदै गएका समूहलाई इंकित गर्न एक अक्षरको ह्याप्लो ग्रुप जनाउने अक्षरपछि संख्या र अक्षरहरू प्रयोग गरिएका छन् । एमटिडिएनएको सिक्वेन्सिङबाट आमातर्फको पूर्वजको वंशज पत्तो लाग्छ । अर्कोतिर, वाइडिएनए वा एमटिडिएनए आमाबाबुबाट सन्तानमा प्रसारण हुँदा ज्यादै न्यून मात्रामा तिनका स्वरूप परिवर्तन हुन्छ, जुन मानवको बाहिरी स्वरूपमा पनि देखिन्छ । तर, प्रकृतिमा हुने उत्परिवर्तन (म्युटेसन)बाट अक्सर आन्तरिक र बाह्य दुवैमा निकै धेरै परिवर्तन हुन्छ । यो परिवर्तित गुण सन्तानमा सर्दैै जाँदा हजारौँ वर्षमा एक ह्याप्लोग्रुपबाट थप ह्याप्लोग्रुपहरू उद्विकास हुन्छन् । यहीक्रम लाखौँ वर्षसम्म चल्दा एक प्रजातिबाट अनेकन प्रजाति उद्विकास हुन्छन् । मानिसको मुख्य ह्याप्लो ग्रुपहरू ए देखि जेटसम्म २६ वटा र यसका शाखा अहिलेसम्म कैयन छुट्टिएका छन् ।
इन्भाइरोन्मेन्टल हिस्टोरी शीर्षक लेख रोयल बोटानिकल गार्डेन, इडिन्बर्गले प्रकाशन गरेको नेपाल नामक पुस्तकमा छ (सन् २०१५ : पृष्ठ ३११–३४६) । उक्त लेखअनुसार ‘ओ’ ह्याप्लोग्रुप पूर्वी तथा दक्षिणपूर्वी एसियामा प्रचुर मात्रामा पाइन्छ । यो ह्याप्लो ग्रुप करिब ३०–२० हजार वर्ष पहिले विभाजित भयो । उनीहरू, जब अन्तिम हिमयुग करिब १२ हजार वर्ष पहिले अन्त्य भयो, त्यसपछि अन्यत्र बसाइँसराइ गर्न तयार भए । ती विभाजितमध्ये ह्याप्लोग्रुप ओ (एम १७५) अन्य तीनवटा उपसमूह ओवन (एम ११९), ओटु (एम २६८) र ओथ्री (एम १२२)मा विभाजित भए । कालान्तरमा तिनै ह्याप्लो ग्रुपहरूबाट क्रदाई, अस्ट्रोनेसियन, टिबेतो–बर्मन, ह्मोङ–मिअन र अस्ट्रोएसियाटिक भाषिक समूह बन्न पुग्यो । याङ्जे नदीआसपासका क्षेत्रमा ओटु (एम २६८)ले ओराइजा साटिवाको एक भेराइटी जापोनिका राइस खेती गरेका थिए । यस्तै, ओटु (एम २६८)बाट छुट्टिएको ओटुए (एम ९५) उद्विकास भयो । त्यही समूहबाट कालान्तरमा अस्ट्रोएसियाटिक भाषा आविष्कार भयो । अस्ट्रोएसियाटिक उत्तरी बर्मा, थाइल्यान्ड, पश्चिम लावोसतिर फैलिए ।
मुन्धुमअनुसार लिम्बूले ढुकुरलाई ढुंगाको पासोमा पारेर मारी, गाँड चिरेर त्यसले निलेको अन्न निकालेर धान उमारिएको बताएको छ । अन्य केहीले लेखेको मुन्धुमको विवरणमा पनि चराबाट धानको बिउ प्राप्त भएको उल्लेख छ । यसबाट यसै आकलन गर्न सकिन्छ लिम्बूले जंगलबाट धानको बिउ ल्याएर खेती सुरु गरे ।
उनीहरू मेकोङ डेल्टा, मलाया, निकोल्बार र पूर्वी भारततिर पुगे, जहाँ उनीहरूबाट थप भाषा विकास भए र त्यहाँका आदिवासी जाति बने । यस्तै, करिब १२ हजार वर्षअघि ओथ्री (एम १२२) बाट ट्रान्स–हिमालय वा तिब्बती–बर्मन पैतृक वंश ओथ्रिएथ्रिसी (एम १३४) र हमोङ–मिअन पैतृक वंश ओथ्रिएथ्रिबी (एम ७) उद्विकास भयो । पछिल्लो पैतृक वंशलाई मियाओ–यायो र विरलै याङजिअन भनिन्छ, जुन दक्षिणी चीन बसोवास गर्छन् । जर्ज भान्ड्रिमले लेखेको ‘द एन्सेस्ट्री अफ टिबेटन’ (सन् २०१३) शीर्षक लेखमा धानखेती सुरु भए ताका ओथ्रिएथ्रिसी (एम १३४) याङ्जे नदी उपत्यकातर्फ अर्थात् सिचुवान र युनानमा विस्तार भएका थिए । ओथ्रिएथ्रिसी (एम १३४)लाई छोटकरीमा ह्याप्लो ग्रुप एम १३४ भनिन्छ । लिम्बू समुदायको ह्याप्लो ग्रुप एम १३४ हो ।
संस्कारमा धान
पूर्वी–दक्षिण चीनमा धानको उद्विकास भएका कारण धान पक्कै पनि पूर्वी नेपालमा रोप्न सुरु गरिएको हुनुपर्छ । उहिले मानिस तराईमा औलोको कारण बसोवास गर्दैनथे । यसकारण, पहाडी तथा हिमाली जिल्लामा धान रोप्ने सुरु गरिएको थियो । ताप्लेजुङ, पाँचथर, इलाम जिल्लामा बसोवास गर्ने प्राचीन जाति लिम्बू हुन् । लिम्बूले धानलाई ‘या’ भन्छन् । उनीहरूको धानसँग अन्योन्याश्रित सम्बन्ध रहेको देखिन्छ । लिम्बू समाजमा ‘या’ शब्द अत्यधिक लोकप्रिय छ ।
गाउँघरतिर लिम्बू समुदायका व्यक्तिले ‘या’ जोडिएका शव्द उच्चाहरण नगरी दिनचर्या पूरा हुँदैन । इतिहासकार कृष्णविक्रम नेम्बाङलिखित ‘आक्षेप र पाठक प्रतिकृया’ शीर्षक पुस्तकमा लिम्बूको अनेक संस्कृति धानसँग जोडिएको उल्लेख छ (२०७२ : पृष्ठ १५) । उनी लेख्छन्–लिम्बूले खेताला बोलाउँदा ‘या ? लिक’ भन्छन् । चाहे त्यो जेसुकै काम गर्न नपरोस् । बिस्कुन सुकाउन ‘या ? ना’ भन्छन्, चाहे त्यो गहुँ, कोदो वा मकै नै किन सुकाउन नपरोस् । मेलापातलाई ‘याःन्धा’ भन्छन् । कामलाई ‘याःम्बक’ भन्छन् । धानको दाइँ गर्नुलाई ‘या ? लाःक’ भन्छन् । ‘या ? लाःक’ बाटै धान नाँच अर्थात् ‘या ? लाङ’ शब्द बनेको हो । ‘या ? लाङ’ भनेको धान नाँच हो । यसमा तरुणी तन्देरीहरू हात समाएर पालम (गीत) गाउँछन् । लिम्बूले खेतबारीमा उम्रने झारपातलाई ‘यान’ भन्छन् । ‘या’ अर्थात् धानजस्तै हुन्छ, ‘यान’ ।
लिम्बुजन युवा अवस्थामा प्रवेश गरेदेखि बुढौलीमा दर्ज नभएसम्म ती व्यक्तिमा कसैको आँखी डाही नलागोस्, चिताएको कुरा पूरा होस्, रोगव्याध नलागोस् भनेर ‘मांगेना’ नामको पूजा गर्छन् । यो पूजामा मूलतः सम्बन्धित परिवारजनका पुर्खाको पौरख चर्चा गरेर उनीहरूबाटै शक्ति/बल मागेर जसको ‘मांगेना’ गरिंँदै छ, तिनका शरीर संरक्षणको कामना गरिन्छ । ‘मांगेना’ गर्दा तिनका पूर्वज जानकारीमा भएअनुसार सुरुमा आश्रय लिएको ओडार वा पहाडको फेद वा ठूलो ढुंगोको भित्तो आदिलाई वाचन गरिन्छ । त्यस्ता स्थानलाई ‘मांगेना यक’ भनिन्छ । एउटै ‘मांगेना यक’ मान्ने लिम्बूको एक वा एकभन्दा बढी थरहरू हुन्छन् । जस्तो, ताप्लेजुङस्थित लुम्बाङ यकलाई ‘मांगेना यक’ मान्ने लिम्बूको थरहरू अन्छङ्बो, हेल्लोक, काम्बाङ, लिङखिम, नुगो, फेन्दुवा (तुम्बाहाम्फे, सर्वन्धुम, येङदेन, मादेन), तबेबुङ, ताम्मादेन, तावा, यक्सो आदिन हुन् (समन्वेषण २०७५ : पृष्ठ ४२०–४२१) ।
‘मांगेना’ पूजामा फेदाङ्बा (पुजारी)ले ‘मांगेना’ गरिएको परिवारजन उहिले कहाँ थिए, अहिले कहाँ आइपुगेका छन्, विस्तृत रूपमा मुन्धुमको लयमा भन्छन् । पूजामा प्रयोग गरिने सामग्री ठाउँअनुसार फरक–फरक प्रयोग हुन्छ । ताप्लेजुङका मैवा खोले लिम्बूले ‘मांगेना’मा पुरुषका निम्ति अन्डा नपारेको कोरली पोथी र महिलाको निम्ति कलिलो भालेसहित एक माना धान चढाएर उहिले बर्खा र हिउँदको सुरुमा पूजा गर्थे । वर्षमा दुईपटक नसके, एकपटक गर्थे ।
धनकुटाका आङ्ला थरका लिम्बूले पुरुषलाई कुखुराको भाले र महिलालाई सुगुर चढाइ ‘मांगेना’ गर्छन् । विवाहमा पनि बेहुला, बेहुलीको अनिवार्य रूपमा ‘मांगेना’ गरिदिने प्रचलन छ । विवाहमा ‘मांगेना’ गर्दा फलानो थुम बस्ने, फलानाको सन्तानले फलाना थुम बस्ने, फलानाको छोरी आजका दिनदेखि श्रीमान्, श्रीमती भए, तिनको जीउधनको रक्षा गरिदिन पूर्वजलाई मुन्धुम लयमा जाहेर गरिन्छ । मुन्धुमले उत्तरतिरबाट आउने लिम्बूहरू पहिले कुम्भकर्ण हिमालनजिक बसोवास गरेको र त्यहीँबाट अन्यत्रका विभिन्न ठाउँ गएर जीवनयापन सुरु गरेको बताउँछ ।
मुन्धुममा धान
डिबी आङ्बुङद्वारा सम्पादन तथा अनुवाद गरिएको याक्थुङ सामाजिक मुन्धुम (२०७९) शीर्षक पुस्तकमा खेतीपातीको सुरुवाती अवस्थामा लिम्बू समुदायले के–कसरी सुरुमा धानको बिउ पाए भन्ने उल्लेख छ । यसमा लेखिएको छ–
‘सात्ता केजाबा लुङ्लेक केजाबा ।।
थोक्सा मेदारो कुबु मेदोरा ।।
खान्हा? वया युक्तेसे लुङ्जेन युक्तेसे ।।
अया युक्तेसे फच्चङ युक्तेसे ।।
खाप्मुसा–थोक्सा मेधारो कुपुः मेधारो ।।
मिनु पुमेन्लो साप्पुधुःक् पुमेन्लो ।।
थोक्सा केसिबेन् कुपु केसिबेन ।।
हुक्सो फाःक्खे फेत्ते ताङे् फाःक्खे फेत्ते ।।
मिनु फःन्मेल्लो कुतक्फःन्मेल्लो ।।
हुक्सो थेसेआङ ताङे थेसेआङ् ।
केसात्ता नेमेत्ना केलुङलेःङ नेमेत्ना ।।
सोधाःन् हे?रेओ या?रिःन् हे?रेओ ।।’
..... (पृष्ठ ६६४)
यो मुन्धुमअनुसार लिम्बूले ढुकुरलाई ढुंगाको पासोमा पारेर मारी, गाँड चिरेर त्यसले निलेको अन्न निकालेर धान उमारिएको बताएको छ । अन्य केहीले लेखेको मुन्धुमको विवरणमा पनि चराबाट धानको बिउ प्राप्त भएको उल्लेख छ । यसबाट यसै आकलन गर्न सकिन्छ लिम्बूले जंगलबाट धानको बिउ ल्याएर खेती सुरु गरे । तर, लिम्बूको पूर्वजले धानखेती कहाँ सुरु गरेका थिए ? धान त प्राकृतिक रूपमा सिचुवानमा मात्र थियो । पूर्वी नेपालमा धान मानिसले ल्याएका हुन् । ढुकुरले ल्यायो होला भन्दा ढुकुर माइग्रेटोरी (फिरन्ते) चरा होइन । ढुकुर उताबाट यता आउँदैन ।
सिचुवानका मियाओ समुदायको मिथकअनुसार प्राचीनकालमा उनीहरूसँग धानको बिउ हुँदैन । उनीहरूले एउटा चरालाई धान हुनेतर्फ उडाएर पठाउँछन् । त्यो चरा धान खोज्दै जान्छ । कैयन दिन बित्छ । एक दिन त्यो चरा पाकेको धान अघाैँजी खाएर फर्किन्छ । यसरी मियाओ समुदायले धानको बिउ फेला पार्छन् ।
(युनेस्को)ले डिसेम्बर १९८४ मा प्रकाशित गरेको म्यागिजिन ‘द कुरिअर’मा प्राचीनकालका धानखेतीसँग जोडिएका निकै कथाहरू समावेश छन् । उक्त म्यागेजिनको ‘राइस इन मिथ एन्ड लिजेन्ड’ शीर्षक लेखमा प्राचीनकालमा चीनको सिचुवानको मियाओे समुदायले के–कसरी धानको बिउ प्राप्त गरे भन्ने मिथक छ । मिथकअनुसार त्यसवेला मियाओ समुदायसँग धानको बिउ हुँदैन । उनीहरूले एउटा चरालाई धान हुनेतर्फ उढाएर पठाउँछन् । त्यो चराले धान खोज्दै जान्छ । कैयन दिन बित्छ ।
एक दिन त्यो चरा पाकेको धान अघाैँजी खाएर फर्किन्छ । यसरी मियाओ समुदायले धानको बिउ फेला पार्छन् (पृष्ठ : ९) । यो मिथक करिब–करिब लिम्बूको मुन्धुमसँग मिल्छ । सिचुवानको कथामा चरा भनिएको छ, मुन्धुममा ढुकुर । धानको बिउ प्राप्त गरिएको विधि उही हो । सिचुवानबाटै ह्याप्लोग्रुप एम १३४ उद्विकास भएको हो । लिम्बूको ह्याप्लोग्रुप पनि एम १३४ हो भनेर माथि चर्चा गरिसकिएको छ । यसबाट सिचुवानको कथा र लिम्बूको मुन्धुमको कथा यसै काग्तालीमा लेखिएको होइन भन्ने प्रस्ट हुन्छ । यसबाट अनुमान लगाउन सकिन्छ कि लिम्बूको पूर्वजले उतै धानखेती सुरु गरेका थिए । तिनका पूर्खाले धानखेती सुरु गरेको कथा मुन्धुमका रूपमा उसबखतदेखि लयमा भन्दै आएको हुनुपर्छ ।
स्वाभाविक रूपमा याङ्जे नदीआसपासको क्षेत्र अर्थात् सिचुवानबाट मुन्धुम पूर्वी नेपालमा कसरी ल्याई पुु¥याए होलान् भन्ने प्रश्न उब्जिन सक्छ । यो कुरा वैदिक–आर्यले रचना गरेको ऋग्वेदको श्लोकसँग प्रसंग जोडेर विचार गर्दा ठिकै होला भन्ने लाग्न सक्छ । वैदिक आर्यको सुरुको झुन्ड करिब चार हजार वर्ष पहिले मध्यएसियाबाट दक्षिण एसियातर्फ बसाइँ सर्न थालेका थिए । उनीहरू उत्तर–पश्चिम भारतमा करिब ३५ सय वर्ष पहिले आइपुगेका थिए । वेद, पुराणमा कैयन दशक विवेचनात्मक अध्ययन गरेका अध्येयताका अनुसार ऋग्वेदका केही श्लोक मध्यएसियामा रहँदै वैदिक–आर्यले रचेका थिए । भारतमा लिपि करिब २३–२४ सय वर्ष पहिले प्रचलनमा आयो । त्यसपछि विभिन्न ठाउँमा ती श्लोकहरू लेखिए ।
त्यसपछि एकीकृत आकार दिइयो, ऋग्वेद । ऋग्वेद श्लोकहरू कथेको र लेखेको भूभागबीचको हवाई दूरी तीन–चार हजार किलोमिटर फरक छ । योभन्दा सिचुवानबाट लिम्बूको बसोवासस्थल पूर्वीको पहाडी भूभाग निकै कम दूरी छ ।
याङ्जे नदीको फैलावट तिब्बत उत्तर–पूर्वी भागबाट सुरु हुन्छ । लिम्बूको पूर्वजको झुन्ड ल्हासाआसपासको बाटो भएर बसाइँ सर्दै हिमालको खोँचबाट हिमाल पार गरेर कञ्चनजंघा र कुम्भकर्णआसपासका क्षेत्रमा आइपुगे । यसरी बसाइँ सर्दै आइपुग्न सयौँ वर्ष लाग्यो । उनीहरू याङ्जेबाट सरासर हिँडेर त्यता आएका होइनन् । बसाइँ सर्दै आउँदा त्यता पुगे र त्यही अडिए । यस्तै, याङ्जे नदी उपत्यकाबाट सोझै दक्षिणतर्फ लागेका समुदाय बर्मा, मेघालय, असामतिर पुगे ।
त्यहाँबाट पाँचथर, इलामतिर पुगे । आउनेक्रम एकाध हजार वर्षसम्म चलिरह्यो । तिब्बतको चुम्बी उपत्यकाबाट १३औँ शताब्दीमा सिक्किम पुगेका क्वे–वुम–साका जेठो सन्तान क्वेवु–रापको वंशज लिम्बूको एक थर थाम्सुहाङ हो (थाम्सुहाङ ऐतिहासिक वंशावली २०६८ : पृष्ठ ९७) । पछि उत्तरबाट आउने लिम्बूले ‘हाङ’ र पूर्वी–दक्षिणबाट आउनेले ‘शुभा’ प्रचलन लिएर आए (नेम्बाङ, कृष्णविक्रम, इतिहास पहिचान २०७९ : पृष्ठ ११८–१२८) । ताप्लेजुङतिरका लिम्बूहरू ‘हाङ’ र पाँचथर तथा इलामतिरका लिम्बूहरू ‘शुभा’ परिपाटीवाला हुन् ।
लिम्बूले तिनको नेतृत्वदायी भूमिका निभाउने व्यक्तिलाई क्रमशः ‘हाङ’ र ‘शुभा’ भन्थे । सिक्किममा पनि ‘शुभा’ प्रणाली थियो । यसको एक उदाहरण डेबिड फिल्ड रेनीले लेखेको ‘भोटान एन्ड द स्टोरी अफ द डोर वार’ (सन् २००९, पृष्ठ २५९) शीर्षक पुस्तकमा समावेश छ । त्यसमा लेखिएको छ,‘नोभेम्बर १८४९ मा बेलायतको प्रसिद्ध वनस्पतिविद् जोसेफ डाल्टन हुकर र आर्किबाल्ड क्यामबेल सिक्किमको महाराजसँग अन्तर्वार्ता लिन सिक्किम पुगेका थिए । तर, सिक्किमको महाराजले भेट दिँदैनन् । उनीहरू फर्कँदै गर्दा सिक्किमको एक ‘शुभा’को नेतृत्वमा आएको ५० जना व्यक्तिले हुकर र क्याम्पबेललाई हातापाई गरी एक महिनाजति १२ फिट लम्बाइ चार फिट चौडाइ भएको कोठामा थुनेर राख्छन् ।’ हुकर लिखित ‘हिमालयन जर्नल भोलम २’ (सन् १८५४) मा ‘शुभा’ शब्द प्रशस्तै लेखिएका छन् ।
जर्ज भ्यान्ड्री दक्षिण एसियाको भाषामा अन्य भाषाको प्रभाव नपरेको, प्राचीन भाषाकै रूपमा रहेको एक मात्र लिम्बू भाषा हो भन्छन् । उनका अनुसार लिम्बू भाषामा पनि तेह्रथुमस्थित फेदापको लिम्बू भाषिका सबैभन्दा पुरानो र अहिलेसम्म अन्य भाषाको प्रभाव परेको छैन । त्यो भाषिकाको व्याकरण चीनको प्राचीन भाषाको व्याकरणसँग मिल्छ । यसबाट यो स्पष्ट हुन्छ कि प्राचीन चिनियाँ भाषा बोल्ने र फेदापे लिम्बूहरू ५,६ हजार वर्ष पहिले जतिखेर भाषा विकास भइरहेको थियो, त्यसवेला उनीहरू एकै ठाउँ थिए । दक्षिण–पूर्वी चीनमा उद्विकास भएको मानिसको ह्याप्लोग्रुप नेपालको लिम्बू समुदायसँग मिल्नु, तिनका भाषाका ग्रामरको स्वरूप उस्तै हुनुसँगै धानखेतीका सुरुवाती कथा लिम्बूको मुन्धुम तथा सिचुवानको प्राचीन कथासँग मिल्नुबाट यसै स्पष्ट हुन्छ कि याङ्जे उपत्यकाबाट पूर्वी नेपालमा धान ल्याउने लिम्बू समुदायकै एक झुन्ड थिए । नेपालमा मकै, गहुँ, कोदोभन्दा पहिले धान ल्याइएको हो । अतः नेपालमा खेतीपाती गर्ने पहिलो समुदाय लिम्बू नै हुनुपर्छ ।