रसुवाका दावाफिन्जो तामाङ राष्ट्रिय राजनीतिको उच्च पदमा पुगेका तामाङ समुदायका अग्रणी व्यक्तित्व हुन् । उनीपछि मकवानपुरका तिलकबहादुर नेगी तामाङ समुदायबाट पहिलोपटक मन्त्री बने । दावाफिन्जोको जीवनी ‘भेडीगोठदेखि राष्ट्रिय पञ्चायतसम्म’ ताम्सालिङ नलेज सेन्टरले बजारमा ल्याएको छ । पुस्तक खोजराज गोले र पेमा मोक्तान तामाङले लेखेका हुन् ।
दुर्गम ठाउँ, अनि तामाङ समुदायमा जन्म । राष्ट्रिय पञ्चायतको उपाध्यक्ष हुनु दावाफिन्जोका लागि चानचुने संघर्ष थिएन । राजनीति सहज र सजिलै गर्न सकिने यात्रा होइन भन्ने बुझ्न दावाफिन्जोलाई पढ्नुपर्छ ।वि.सं. १९९४ साउन ४ मा रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ मा दावाफिन्जोकोे जन्म भयो । आजकल उनी आफ्नै गाउँमा छन् । उनले राणा, पञ्चायत, बहुदल र गणतन्त्र सबै शासन देखे र भोगे पनि । उनी किसान र गोठाला थिए । दावाफिन्जोबारे हर्क गुरुङ लेख्छन्, ‘सन् १९७३ मा गोसाइँकुण्डको यात्राको क्रममा दावाफिन्जो तामाङले आफ्नै बारीमा फलाएको स्याउले स्वागत गरे । उनी जिल्लामा सरकारी बागवानी प्रसारण कार्यक्रमको फाइदा उठाउने पहिलो साहसी किसान थिए ।’
रसुवामा कतै विद्यालय नखुलेकाले हिरालाल नेवारलाई शिक्षकको रूपमा घरमै राखी दावाफिन्जोको पढाइको बन्दोबस्त बुबाले गराइदिए । उनी तमसुकसम्म लेख्न सक्ने भए । पछि अंग्रेजी पढ्न भनेर नुवाकोट झरे । केही समय पढे र बीचमै फर्के ।
दावाफिन्जो २०१५ मा डा. केआइ सिंहको पार्टीको चुनावी अभियानमा जोडिए । नेपाली कांग्रेसले चुनाव जित्यो र बिपी कोइराला प्रधानमन्त्री बने । दावाफिन्जो वि.सं. २०१७ मा युवक संगठनको सभापति भए । त्यो समय राजनीतिमा लाग्नेहरू बिग्रन्छन् भन्ने सोच थियो । राजा महेन्द्रले कु गरेर बिपी र उनका पार्टीका नेताहरूलाई जेल हालेपछि त झन् मानिसहरूमा राजनीति गर्नुहँुदैन, जेल परिन्छ भन्ने भ्रम पर्यो ।
दावाफिन्जो पहिले जिल्ला पञ्चायत सदस्य चुनिए । तर, पहिलो कार्यकालमै जिल्ला पञ्चायत सभापति बनेका लयुल तामाङ राष्ट्रिय पञ्चायत सदस्यमा गएपछि सभापतिको कार्यभार दावाफिन्जोकै काँधमा आइपर्यो । दावाफिन्जो सभापति हुँँदा उनका बुबा डिन्डु वाङ्दी प्रधानपञ्च थिए । बाबुछोरा नै राजनीतिमा लाग्दा घर–गोठ चल्दैन भनेर परिवारमा दबाब बढ्न थाल्यो । बुबाले प्रधानपञ्चबाट राजीनामा दिए । आफ्नै बुबाको राजीनामा स्वीकृति सभापतिको हैसियतले दावाफिन्जोले नै गर्नुपर्यो ।
उतिवेला रसुवामा राजनीतिक चेतनाको विकास अहिलेजस्तो थिएन । उनी सभापति र राष्ट्रिय पञ्चायत उपाध्यक्ष हुँदा पनि खासै वास्ता गर्दैन थिए । पहिले रसुवा, धादिङ र नुवाकोट एउटै जिल्लाअन्तर्गत थियो । जसलाई पाँचसय खोला भनिन्थ्यो । पछि राम्चेभन्दा माथि र पारिपट्टिका डाडाँगाउँपारिका खोला, किम्ताङ, खनियाँबास र छाप पञ्चायत रसुवामा राखियो । राम्चेभन्दा तल नुवाकोट पथ्र्याे । वि.सं. २०३० मा वर्तमान रसुवाको भूगोल बनेको हो । रसुवामा ६ मात्र गाउँ पञ्चायतहरू थिए । पछि १४ हुँदै १८ गाविस भयो । अहिले पाँच गाउँपालिकामा भूगोल विभाजित छ ।
वि.सं. २०२१ भन्दा पहिले जिल्ला सदरमुकाम स्याफ्रुमा थियो । २०२१ मा राजा महेन्द्रले भूमि सुधार लागू गरेपछि बिबी सुब्बा मालपोतमा खटिएर आए । सदरमुकाम पुग्न ठूलोभार्खको ठूलो भीर पार गर्न गाह्रो थियो । बिबी सुब्बाले दावाफिन्जोलाई सदरमुकाम धुन्चे सार्न सल्लाह दिए । त्यसै भयो । सदरमुकाम धुन्चे सारेकोमा धुन्चेवासी खुसी भएनन् । रिसाए । घर भाडामा दिन मानेनन् । भवन बनाउन जग्गा दिएनन् । कार्यालय कहाँ राख्ने, भवन कहाँ बनाउने ? पिरलो धेरै पछिसम्म रहिरह्यो । धुन्चेवासीले विरोध जारी राखेपछि सदरमुकाम तल कालिकास्थानमा सार्ने चर्चा पनि चल्यो । तर, दावाफिन्जोले मित बुबा, मामालगायतसँग सहयोग लिएर धुन्चेमै टिकाए ।
राजदरबारसँग जोडिएको सम्बन्ध
२०२७ सालमा तत्कालीन युवराज वीरेन्द्र रसुवा भ्रमण आएका रहेछन् । उतिवेला अहिलेजस्तो गाडीको सुविधा थिएन । दावाफिन्जो चन्दनबारीमा ऊन काट्दै थिए । वीरेन्द्र सरकार आएको खबर भान्जीमार्फत उनले पाए । भान्जी स्याफ्रुमा कारागारमा काम गर्ने भएकीले थाहा पाएछिन् । खबर थाहा पाउनेबित्तिकै उनी स्याफ्रु झरे ।
उनी स्याफ्रु झरे तर वीरेन्द्रको टिम भने गोसाइँकुण्डतर्फ उकालो चढिसकेछन् । उनी पछ्याउँदै गए । उकालोमा सैनिकहरूको टिम भेटियो । अघि जान दिएनन् । छोटो बाटो हुँदै माथि पुगेर कुरी बसे । युवराज सैनिक टोलीको बीचमा रहेछन् । सरकार भन्दै फूलको गुच्छाले दावाफिन्जोले वीरेन्द्रलाई स्वागत गरे । सबै छक्क परे । ‘युवराज भनेर चिन्ने को रहेछ यो ? तिमी को हौ ?’ एडिसी ताराबहादुरले सोधे । ‘म यो जिल्लाको सभापति हुँ ।’ दावाफिन्जोले भने ।
परिचय भएपछि दावाफिन्जोलाई फर्काउन खोजियो । तर, दावाफिन्जोले भने, ‘हैन हजुर बाटो अप्ठेरो छ । भोलि केही भइहाल्यो भने मलाई अप्ठेरो पर्छ । सरकारसँगै जान पाऊँ !’ ताराबहादुरले हुँदैन भनेर रोके । तर, भ्रमण दलकामा रहेका कर्णेल र डाक्टरबीचमा खासखुस सल्लाह भयो र सरकार आएको कसैलाई नभन्नु भन्दै उनलाई टोलीमा समावेश गरियो ।
भ्रमण टोली ठूलो स्याफ्रुको दावाफिन्जोकै काकाको घरमा पुग्यो । त्यहीँ बस्ने होला भन्ने ठानी खानाको बसाल्नै लाग्दा ताराबहादुरले लात्तीले हानेर भाडै हुर्याइदिए । ‘किन राजा आएको हल्ला गरेको ?’ यति भनेर टोली उकालो लाग्यो । दावाफिन्जोलाई चिन्ता लाग्यो । बाटोमा अन्यत्र बस्ने ठाउँ छैन । जे त पर्ला भनेर चामल, आलु, डेक्ची, डाडु र पन्यूसहित भरिया लिएर उकालो लागे ।
दावाफिन्जोले जति सहयोग गर्दा पनि खुसी भएनन् एडिसी । मसिनोसँग ध्यान दिइरहेका वीरेन्द्र भने दावाफिन्जोसँग साह्रै खुसी भएछन् । युवराजको भ्रमणमा केही कमी हुन थिएनन् । उनको सहयोगी र मिजासिलो व्यवहारबाट युवराज वीरेन्द्र निकै खुसी भए । त्यो भ्रमणपछि दरबारसँग दावाफिन्जोको सम्बन्ध राम्रो भयो ।
दावाफिन्जो वेलावेलामा दरबार गइरहन्थे । २०३१ साउन १४ गते उनले आफैँले फलाएको १५ दाना स्याउ लिएर राजदरबार पुगे । राजा खुसी भई स्याउ प्राप्त भयो भन्ने व्यहोराको पत्र उनलाई पठाए । त्यो पत्रलाई उनले आफ्नो पुस्तकमै राखेका छन् । २०३८ मा राष्ट्रिय पञ्चायतको सदस्य हुँदै उपाध्यक्षमा निर्वाचित भए ।
सीमान्त तामाङ जातिलाई पञ्चायतकालमा त्यो स्थानसम्म पुग्न सहज थिएन । त्यस्तो प्रतिकूल समयमा पनि उनी राष्ट्रिय पञ्चायतको उपाध्यक्षसम्म बने । उनको जीवनका यस्तै संघर्षपूर्ण यात्रा यस पुस्तकमा समावेश भएका छन् । राजनीति गर्न चाहने र सचेत पुस्ताले उनका बारेमा लेखिएको पुस्तक पढ्दा राम्रो हुन्छ । दुईजना लेखकको मिहिनेत प्रशंसनीय छ ।