बेलायतमा नेपाली साइक्लिस्ट

डा. तारालाल श्रेष्ठ डा. तारालाल श्रेष्ठ
शनिबार, २ भदौ, २०८०
डिजिटल संस्करण

विश्व साइकल संगठन

नेपालका दुईजना साइकल खेलाडी यसै साता विशाल विश्व साइकल च्याम्पियनमा प्रतिस्पर्धा गर्न बेलायत गए । साइकल समुदायको शक्ति प्रदर्शनको ऐतिहासिक प्रतिस्पर्धा गराउन युनियन साइक्लिस्ट इन्टरनेसनल (युसिआई) सफल भयो । स्कटल्यान्डले आफ्नो ११ युसिआई विश्व च्याम्पियन तथा ६ ओलम्पिक स्वर्णपदक विजेता साइकल खेलाडी क्रिस होईलाई इभेन्ट एम्बासडर बनायो । विश्वका एक सय २२ देशबाट साइकल खेलाडी एकै ठाउँ भेला हुँदा विश्वबजार साइकल महिमागानले गुञ्जियो । सन् १९२७ देखि प्रसिद्ध इन्दे्रणी जर्सीमा सजिएर विविधताले भरिपूर्ण मास साइकल खेलाडी एकै ठाउँमा एकै समय इतिहासमै पहिलोपटक एउटै इभेन्टका लागि यसरी भेला भएका थिए । ११ दिनसम्म १३ विधामा प्रतिस्पर्धा गर्न आठ हजारभन्दा बढी सक्रिय साइकल खेलाडी स्कटल्यान्डमा उपस्थिति थिए, दर्शकबाहेक । सन् १९०० अप्रिलमा फ्रान्समा स्थापित युसिआईको मात्रै झन्डै एक लाख ४० हजार सदस्यबीच ६५ हजार आबद्ध साइकल क्लबहरू रहेछन् । तिनले सन् २०२२ मा मात्रै ३३ हजार सात सय ५५ खेलकुदलगायत साइक्लिङ कार्यक्रम सञ्चालन गरेको देखिन्छ । 

अबको विश्वबजारमा साइकल खेलकुदसँगै साइकल संस्कृति प्राथमिकता पर्दै छ । बेलायतमा मात्रै गत वर्ष १.८ मिलियन साइकल बिक्री भएको तथ्य छ, जहाँ परम्परागत, बिएमएक्स, इन्डुरो, ग्राभेल, हाइब्रिड, कम्मुटर र इ–साइकल सबै उमेर र क्षमताका नागरिकले आवश्यकताअनुसार दैनिक साइकल चलाउँछन् । बेलायत यसर्थ यस साइक्लिङ विश्व च्याम्पियनमा सबैभन्दा बढी स्वर्णपदक विजेतासहित पहिलो बनेको छ । विश्वजगत्मा साइकलले यस्तो चर्चा पाइरहँदा नेपाली दुई साइकल खेलाडी बेलायत पुगे । प्रतिस्पर्धा गरेर अदृश्य, अमुकझैँ चुपचाप स्वदेश फर्किए । यसर्थ उनीहरू को हुन् ? कसरी त्यहाँ पुगे ? त्यहाँ के भयो, के भएन ? उनीहरूको अनुभव–अनुभूति पक्कै उपयोगी हुन सक्छ । 

नेपाली साइकल संगठन
युसिआईमा नेपाल साइक्लिङ संघ आबद्ध भएपछि नेपाली साइक्लिस्ट पहिलोपटक विशाल विश्व साइक्लिङ च्याम्पियनमा सहभागी भएको हो । युसिआईले वार्षिक विश्वका सयौँ साइकल खेलाडीलाई यसको मुख्यालय स्विट्जरल्यान्डमा विशेष तालिम दिँदै आइरहेको देखिन्छ । साइक्लिङ खेलकुदसँगै साइकल संस्कृतिका लागि स्वर्णभूमि मानिने नेपालमा सन् १९९५ मै साइकल संघको स्थापना भएको देखिन्छ । संघका अध्यक्ष गोपालसुन्दर कक्षपतिका शब्दमा २८ वर्षको इतिहास बोकेको संघसँग आजसम्म एकजना व्यावसायिक कोचसम्म छैन । संघको अफिस आज पनि झोलामै देखिन्छ । कर्मचारी, दस्ताबेज केही व्यवस्थित छैन । पदाधिकारीहरू २८ वर्षदेखि समाजसेवा गरिरहेको पीडा पोख्छन् । सरकारले साइकल खेलकुद र साइकल संस्कृतिलाई पूरै बेवास्ता गर्दै आइरहेको बताइन्छ । यति हुँदाहुँदै पनि संघले संसारकै सबैभन्दा विशाल साइकल विश्व च्यालेन्जमा नेपाली खेलाडीलाई सहभागी गरायो । यसअघिका नेपाली साइकल खेलाडीका रेकर्डहरू पनि राम्रो देखिन्छ । साफ च्याम्पियनसिपमा चार स्वर्णसहित १० मेडल हात पारेर नेपाल पहिलो भयो । बेलायतबाट फर्किएका दुवै खेलाडी भारत र चीनमा निर्धारित च्यालेन्जमा प्रतिस्पर्धा गर्न छनोट भइसकेका छन् । विश्वमा साइकल खेलकुदको सुनौलो भविष्यको थप बढोत्तरी भएको देखिन्छ । सामान्य संस्थागतसम्म बन्न नसकेको नेपाल साइक्लिङ संघले आगामी मार्ग अब कसरी तय गर्ला ? सन् २०२७ मा युसिआईको अर्को विश्व च्यालेन्ज हुँदै छ । संघबाट अबको तयारी कस्तो रहला ? यसबारे अलग गहन बहस आवश्यक देखिन्छ । यो लेखमा बेलायत पुगेर फर्किएका खेलाडीकै ताजा कथाव्यथाकै कुरा गरौँ ।

नेपाली साइकल खेलाडी 
अघिल्ला वर्षमा पनि विश्व साइक्लिङ च्याम्पियनका लागि नेपाललाई आमन्त्रण गरिन्थ्यो अरे ! तर, नेपाली साइकल खेलाडी विश्व साइकल प्रतिस्पर्धामा भाग लिने हैसियतको छैनन् भन्ने सुनिन्थ्यो । एकातिर संघ बलियो छैन, अर्कोतिर खेलाडी पूरै साइकलमा समर्पित बन्ने वातावरण देखिन्न । पहिलेदेखि नेपाली साइक्लिङ खेलाडीले प्राप्त गरेको नम्बर रेकर्ड पनि गरिएन । हाम्रो आर्थिक अवस्थाले आफ्नै खर्चले विश्व च्याम्पिनयमा सहभागी हुन सहज देखिन्न । यस वर्ष नेपाल साइक्लिङ संघ युसिआईमा संलग्न भयो । न्यून आय भएको देश भनेर खर्च पनि युसिआईले व्यहोरिदियो, सायद । 

खेलाडीद्वय उषा खनाल र सुरज राना संघका महासचिव रन्जन राजभण्डारीको नेतृत्वमा बेलायत गए । उनीहरू विजेता बन्न नभई सहभागिता जनाउन मात्रै गएकोजस्तो देखियो । जबकि प्रतियोगी विजेता बन्ने दृढ संकल्पसहित प्रतिस्पर्धामा सहभागी हुन्छन् । यस अवस्थाले नेपाली खेलाडी कसरी साइकल खेलकुदमा टिकिरहेका छन् भन्ने प्रश्न उब्जाउँछ । 

उषा खनाल कुनै स्थापित क्लब वा साइकल संस्थाबाट दीक्षित खेलाडी होइनन् । सामान्य र्यालीमा सहभागी हुँदाहुँदै उनले सन् २०१५ मा एउटा प्रतियोगितामा भाग लिएकी थिइन् । पहिलो खेलमै लडेर उनको खुट्टामा पाँच टाँका लगाउनुपर्यो । लड्दैपड्दै साइकल खेलकुदमा देखापरेकी उषाले साइकल खेलले मात्रै बाँच्न सम्भव नदेखेपछि साइकल गाइडमार्फत गुजारा गर्न थालिन् । सिजन टुरमा बढी र रेसमा कम समय दिन थालिन् । बेकारमा रेस खेलेर घाइते भइयो भने यता पर्यटन गाइडबाट हुने आम्दानी पनि गुम्न सक्छ भन्ने सोच्थिन् । तैपनि सन् २०१९ देखि फेरि साइकल रेसतिर ध्यान दिन थालिन् । 

उषा भारतमा तेन्जिङ शेर्पा साइकल च्यालेन्जमा सहभागी हुन गएकी थिइन् । स्वर्णपदकै जितेर आइन् । त्यस वर्ष दक्षिण एसियाली खेलकुदमा पनि भाग लिइन् । त्यसवेला उनको हात भाँचियो । तैपनि रजत पदक जितिन् । नेपाल सरकारले ६ लाख दिएको थियो, उनी दङ्ग थिइन् । तर, उनको हातको उपचारमै सबै पैसा सकिएछ । अझ उनकी आमालाई क्यान्सर रोगले गाँज्यो । आमाको स्याहार गर्दागर्दै विश्व च्याम्पियनको तयारी गर्नसमेत पाइनन् । बेलायत उड्नुपर्ने सातामा आमाको मृत्यु भयो । पाँच दिनमै नुन फुकाएर उषा विश्व च्याम्पियनमा प्रतिस्पर्धा गर्न बेलायत पुगिन् । कमजोरीले रिंगटा छुटिरहेको अवस्थामा बेलायतमा खानेबस्ने व्यवस्था होटलमा महँगो भयो । उनले साथीको पनि साथीलाई गुहारेर आफँैले खाना पकाएर खाँदै तालिम लिइन् । प्रतिस्पर्धामा सहभागी भइन् । साइकल हाँक्दै गर्दा नेपाललाई सकेसम्म याद पनि नगर्ने कोसिस गरेको उनले अनुभव सुनाइन् । नेपाल सम्झ्यो कि आमाको यादले उनलाई सताउँदो रहेछ । प्रतियोगी साथीहरू रकेट कुदेझैँ साइकल कुदाएको देखेर उनी झस्यांगै भइछिन् । उनले सुनाइन्, ‘हामी कुन हैसियतमा रहेछौँ भन्ने छर्लंग भयो ।’ अरू देशका खेलाडीसँग कोचसमेत रहेछन् । तर, नेपाली टोलीसँग आवश्यक सुविधाका सामानसमेत छैनन् । शरीर वार्मअप गर्ने रोलरसमेत छैन । फेर्ने राम्रो साइकल रेस सुट छैन । 

सिन्धुपाल्चोक सुनकोसी गाउँपालिकाबाट काठमाडौं भागेर आएका सुरज रानाको यथार्थ पनि उस्तै छ । मामाको छोरा साइकल पसलमा काम गर्थे, काठमाडौंमा । उनले पनि साइकल पसलमै काम गर्न थाले । साइकल चलाउने लत लाग्यो । बिहानभर साइकल हाँक्यो । जहाँ साइकल रेस हुन्थ्यो, त्यहाँ पुग्यो । र्याली, राइड जहाँतहीँ सहभागी भइहाल्थ्यो । ख्यालख्याल गर्दागर्दै सन् २०१६ र २०१७ मा जुनियर साइकल रेसमा सुरज प्रथम भए । त्यसपछि सहभागी हुनेबित्तिकै विजेता बन्न थाले । अजय पण्डित, अनुज पराजुली, राजकुमार श्रेष्ठ, नारायणगोपाल महर्जनले राइड गर्दागर्दै अनौपचारिक तालिम दिन्थे, सित्तैंमा । राष्ट्रिय खेलाडी मात्रै होइन, तिब्बतसम्म पुगे । सशस्त्र प्रहरी बलमा आबद्ध भएर काम गर्न पनि थाले । अन्नतः उषासँगै ऐतिहासिक साइक्लिङ च्याम्पियनसिपमा सहभागी बन्न बेलायत पुगे । फरक संसार, फरक बाटो, सबै अलग लाग्यो । सुरजले अग्रज हर्क लामाको साइकल मागेर लगेका थिए । दोस्रो दिनमै नराम्ररी लडेछन् । अलि राम्रो साइकल लिएर गएकाले एलाइनमा कुदाउन सकेको उनको अनुभव छ । एक ठाउँमा मात्रै एलाइन हाँक्न सकेनन्, त्यो पनि दुर्घटनामा परेको कारण । उकालोमा ठेलामठेल भिडमा हुटिङ गर्ने धेरै थिए, गो नेपाल गो भन्नेहरू । नेपाललाई चिन्नेहरू । नेपाली झन्डा पनि बोकेका विदेशीहरू पनि, उषा सम्झन्छन् । स्टार्ट ल्याप सकेर पुल ल्यापपछि दोस्रो र तेस्रो ल्यापसम्म कुदाउँदा सबै अघि गइगए । उनीहरू एक–आपसलाई सघाउँदै कोचविनै प्रशिक्षण र प्रतिस्पर्धा गरे । सुरजले सबैमा एलाइन हाँक्न सकेकोमा उनी सन्तुष्ट देखिन्थे । ख्यालख्यालमै व्यक्तिगत सौखबाट साइकल खेलाडी बनेका उषा र सुरजजस्ता नेपालमा धेरै खेलाडी छन् । 

अवसर र सम्मानको अभावमा धेरै स्वर्णपदक विजेता साइक्लिस्टहरू पलायन भइसकेका छन् । थप पलायन बन्ने क्रम बढ्दो छ । बुद्धिबहादुर तामाङजस्ता धेरै होनहार नेपाली साइकल खेलाडी देशबाट बाहिरिएका छन् । यस्तो वेला नेपाल साइक्लिङ संघ बलियो बनाउनुको विकल्प छैन । 

अबको यात्रा
युसिआई अजेन्डा २०३० अनुसार साइकललाई २१औँ शताब्दीको सबैभन्दा प्रभावशाली खेलकुद बनाउने मात्रै नभई साइक्लिङलाई जीवनशैलीकै रूपमा विस्तार गर्ने लक्ष्य लिएको देखिन्छ । साइक्लिङ यस धर्तीकै अबको आशाको केन्द्र बन्दै छ । जसमार्फत कम कार्बन उत्सर्जन गर्दै शून्य कार्बन विधिबाट मानव सभ्यताकै सबैभन्दा ठूलो संकट टार्ने उद्देश्य छ । खेलकुद जगत्ले निकै ग्रिनहाउस ग्यास उत्सर्जन गरिरहेको सन्दर्भमा साइकल खेलकुद दिगो खेलको रूपमा विस्तार हुँदै छ । साइक्लिङप्रति आमनागरिकको आकर्षण बढ्दै छ । साइक्लिङबाट सन् २०५० सम्ममा २५ ट्रिलियन आर्थिक बचत हुने प्रक्षेपण छ । वैज्ञानिकले सन् २०३० सम्ममा कार्बन उत्सर्जन आधा घटाएर ग्लोबल वार्मिङ १.५ डिग्रीमा नझारी हुन्न भनिइरहँदा संयुक्त राष्ट्रसंघको विकास लक्ष्यले दिगो समावेशी विकासका लागि साइकल प्रयोगमा जोड दिएको हो ।

विश्व साइक्लिङ च्यालेन्जमार्फत साइकल संस्कृतिमा आममानिसलाई आकर्षित गर्न खोजिँदै छ । यसर्थ हामीले पिँधबाट पसिना बगाउँदै उठेका नेपाली साइकल खेलाडीलाई साइक्लिङ खेलकुदमै टिकाउन सक्षम नेपाल साइकल संघको संस्थागत विकास गर्नुको विकल्प देखिन्न । 

(साइकल संस्कृति अभियानका संयोजक श्रेष्ठ नेपालमा साइकल कानुन निर्माणमा भोलेन्टियरका रूपमा सक्रिय छन्)

सम्पादकको रोजाइ

सुझावित समाचार