नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास (२०२४) पुस्तक प्रकाशित भएको ५० वर्ष पछाडि पनि नेपाली पत्रकारिताका कैयौँ विषयमा लेख्दा वा बोल्दा सोही किताबका पानाहरू नपल्टाई वा त्यहाँबाट कुनै जानकारीको उद्धरण नगरी धरै छैन । यस अर्थमा उक्त किताब र लेखक ग्रीष्मबहादुर देवकोटालाई भाग्यमानी मान्नुपर्छ र नेपाली पत्रकारिता इतिहासको अध्ययन–अनुसन्धान र प्राज्ञिक क्षेत्रमा उनले लगाएको गुण अमूल्य ठान्नुपर्छ । तर, यसको ठीकविपरीत देवकोटाको काम, परिश्रम तथा समर्पणलाई त्यसपछि सोही क्षेत्रमा प्राज्ञिक कर्म गरिरहेका प्राध्यापक, शिक्षक, अनुसन्धानकर्ता र विद्यार्थी तथा प्राज्ञिक थलो स्वयंबाट कुनै चुनौती नआउनु वा उनकै कामका आधारमा थप गम्भीर काम हुन नसक्नु वर्तमान पुस्ता एवं प्राज्ञिक जगत्को दुर्भाग्य मान्नुपर्छ ।
पछिल्लो पुस्ताले न त देवकोटाकै कामको मूल्यांकन गरेर कमीकमजोरी केलाएर सोही विषयवस्तुमाथि थप काम गर्न सकेको छ न त ‘इतिहास’लाई छाडेर सैद्धान्तिक बहसलाई गहन र व्यापक बनाउने उल्लेखनीय काम गर्न सकेको छ । रमाइलो कुरा त के छ भने नेपाली पत्रकारिताको इतिहासमा काम गर्ने धेरैजसो व्यक्तिहरू ‘गैरपत्रकारिता’ क्षेत्रका छन् र उनीहरूको काम नै मानकका रूपमा स्थापित छन् ।
पुस्तक इतिहास, पत्रपत्रिकाको इतिहास, फोटोको इतिहास, रेडियो–टेलिभिजनको इतिहास वा समग्रमा ‘नेपाली आम सञ्चार’को इतिहासमा ‘आम सञ्चार’ नपढेका वा सोही क्षेत्रलाई आफ्नो पेसा नबनाएकाहरूको योगदान विशिष्ट छ । यसो भन्दै गर्दा ‘आम सञ्चार’का अध्येता, प्राध्यापक वा विद्यार्थीहरूले यीबाहेक सञ्चारसँग सम्बन्धित अन्य क्षेत्रमा उल्लेखनीय काम गरिरहेका छन् भन्ने चाहिँ पटक्कै होइन ।
देवकोटाको पुस्तकले समेटेको विषयवस्तुमा जति नै आलोचना भए पनि नेपाली छापाखाना र पत्रकारिताको इतिहास तथा नेपाली राजनीतिको तथ्यगत एवं काल क्रमबद्ध इतिहासका लागि देवकोटाको नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास (२०२४) तथा नेपालको राजनीतिक दर्पणका फरकफरक भागहरू (२०१६, २०३३, २०३९ र २०४०) सबैभन्दा धेरै खोजिने र प्रयोग गरिने पुस्तकका सूचीमा पर्छन् ।
नेपाली पत्रकारिताको इतिहासका विषयमा पनि देवकोटाको पुस्तक (२०२४) नै ‘सर्वस्वीकार्य’ र ‘आधिकारिक’ पुस्तकका रूपमा नेपाली पत्रकारिता अध्ययन–अध्यापन विभागका प्रत्येक कक्षाकोठाका पाठ्यसामग्री बनेका छन् । नेपाली पत्रकारिताको इतिहास पढ्ने सबै विद्यार्थीले यसै पुस्तकलाई आफ्नो ज्ञानको आधार बनाएका छन् र एक मात्र श्रोतका रूपमा विश्वास गरेका छन् । कुनै समय यहीँ पुस्तक पढेर आफ्नो विद्यार्थी जीवन पार गरेका धेरै प्राध्यापक, शिक्षकहरूको अध्यापन सामग्री आज पनि यहीँ पुस्तक बनेको छ ।
उनको पुस्तकमा के कमजोरी थियो वा थिएन, उनले कुन परिवेशमा, कुन सन्दर्भमा के लेखे वा के लेखेनन् भन्ने बहस पनि महत्वपूर्ण नै छन् तर त्यसभन्दा अर्थपूर्ण प्रश्न भने एउटा पुस्तक निस्किएको ५० वर्षपछि पनि नेपाली अध्येता, अनुसन्धानकर्ता वा प्राज्ञिक वर्ग त्यसैमा रमाउनुपर्ने बाध्यता वा परिस्थिति कसरी बनिरहेको छ ? भन्ने हुन सक्छ ।
देवकोटाजस्ता अग्रजहरूले त्यो समयमा जे सामग्री वा श्रोत–साधन उपलब्ध थियो त्यसका आधारमा धेरै काम गरेका छन् । ती जानकारीका आधारमा फरक–फरक व्याख्या, विश्लेषण गर्ने वा अझ गहिराइमा खोज्ने काम नयाँ पुस्ताको हुनुपथ्र्यो तर दुर्भाग्य त्यस्तो भएको देखिँदैन । यस अर्थमा देवकोटाको पुस्तक ‘आधिकारिक’ बनेको हो । ‘सर्वस्वीकार्य’ बनेको हो । उनको पुस्तकले थुप्रै सम्भावनाहरू देखाएको छ । थुप्रै अपूरो, कतिपय गलत जानकारीमा नयाँ पुस्ताले थप काम गर्नुपर्ने बाटो देखाएको छ । यस अर्थमा देवकोटा र अन्य थुप्रै अग्रजको कामलाई पुनः पढ्ने, विश्लेषण गर्ने वा फरक ढंगले व्याख्या गर्ने समय भएको छ ।
उदाहरणका लागि देवकोटाले उनको पुस्तकमा नेपालभित्र प्रकाशित पत्रपत्रिकामा छापिएका फोटाहरूमध्ये गोरखापत्र (१९८४।१।१३)मा प्रकाशित सूर्यमती श्रेष्ठेनीको फोटोलाई पहिलो फोटोका रूपमा व्याख्या गरेका छन् तर त्यससँगै जोडिएर आउने राजनीतिक, सामाजिक कथाहरूको व्याख्या गरेका छैनन् । लेखक स्वयं र पुस्तकको उद्देश्य पनि त्यो थिएन ।
त्यसैले उनले भएको जानकारीलाई थपक्क राखिदिए । तर, ५० वर्षसम्म पनि हामीले त्यो फोटोको कथा खोजेनौँ, खोज्ने रुचि राखेनौँ । हामीले देवकोटाको कामलाई आधार मानेर थप काम गर्न खोजेनौँ वा चाहेनौँ । ती फोटासँग जोडिएर आएका वरिपरिका कथामा आँखा नै लगाएनौँ । फोटो मात्र होइन, किताबभित्र काम गर्न सकिने थुप्रै अन्य विषयवस्तुहरू आएका छन् ।
थप काम हुन सक्ने, गर्न सकिने सम्भावना देवकोटाले देखाइदिएका छन् । उनले अथाह जानकारी दिएका छन् तर हाम्रो पुस्ताले उक्त पुस्तकलाई ‘टेक्स्ट बुक’ भन्दा भिन्न तरिकाले बुझ्न र पढ्न चाहेन । त्यसैले केही अपवादका कामहरू (उदाहरणः पराजुलीः सन् २०१८) बाहेक देवकोटाको कामकै वरिपरि रहेर उनको काम वा ज्ञानलाई विस्तारित गर्ने प्रयत्न भएको छैन भन्दा हुन्छ ।
फोटोको प्रसंग
यहाँ देवकोटाले उल्लेख गरेको गोरखापत्रमा प्रकाशित फोटोको प्रसंगलाई थप व्याख्या गर्ने प्रयास गर्नेछु । ०२४ सालमा प्रकाशित देवकोटाको पुस्तकले गोरखापत्रमा प्रकाशित फोटोको विषयमा यस्तो जानकारी दिएको छ–‘यस (गोरखापत्र) पत्रिकाको वर्ष २७ संख्या २ मिति १९८४।१।१३ को अंकको पृष्ठ ३ मा श्री चन्द्र कामधेनु चर्खाद्वारा धागो कातिरहेकी वर्ष १२ की वीरगन्ज बस्ने सूर्यमती श्रेष्ठेनीको तस्बिर (ब्लाक) प्रकाशित भयो । यस पत्रिकामा छापिएका तस्बिरहरूमा यो पहिलो सर्वसाधारणको तस्बिर हो । यसपछि १९८५।४।२ को अंकमा तत्कालीन प्राइममिनिस्टर चन्द्र शमशेरको तस्बिर (ब्लाक) र यसपछि यसै सालको अंकमा विज्ञापनको रूपमा ‘मास्टर मनहर बर्वे’को तस्बिर (ब्लाक) छापियो । यसभन्दा अगाडि ‘गोरखापत्र’मा तस्बिर छापिने गरेको थिएन (पृ. ७०)।
‘नेपालमा छापिई प्रकाशित भएका पत्रपत्रिकाहरूमा सबैभन्दा पहिले ‘गोरखापत्र’ले १९८४ साल वैशाख १३ गते तस्बिर (फोटो–ब्लाक) छापी प्रकाशित ग-यो’ (पृ. १२९)।धेरै वर्षसम्म देवकोटाको यो कथनलाई हामीले साँचो नै मानेर पढ्यौँ र पढायौँ । यसमा थप चासो पनि देखाएनौँ । तर, पछि गोरखापत्रका पुराना अंकहरू पल्टाउँदै गर्दा यी कथनभन्दा भिन्न देखिने केही नयाँ तथ्य फेला प-यो ।
विशेषतः यो फोटो खिचिनुको कारण र त्यसको प्रयोग गोरखापत्रको सोही अंकमा प्रकाशित समाचार वा ग्रीष्मबहादुर देवकोटाको व्याख्याभन्दा भिन्न थियो । त्यसबाहेक देवकोटाले उल्लेख गरेजस्तै गोरखापत्रमा प्रकाशित यो पहिलो फोटो पनि थिएन । यसभन्दा अगाडि नै गोरखापत्रमा फोटाहरूको प्रयोग भइसकेको थियो । वास्तवमा पुस्तकमा उल्लेख भएको ‘सर्वसाधारण’को तस्बिरका विषयमा बुझ्नका लागि गोरखापत्रका पुराना अंक तथा तुलसीमेहेर श्रेष्ठ (१९५३(२०३५) को जीवनी र उनले गरेका कामहरूको विषयमा बुझ्न आवश्यक छ ।
तुलसीमेहेर श्रेष्ठले वि.सं १९८३ वैशाख १ गते ‘श्रीचन्द्रकामधेनु चर्खा प्रचारक महागुठी’नामको संस्था स्थापना गरे । गान्धीसँग अत्यन्त प्रभावित मेहेरले आफ्नो दैनिक जीवन, खानपिन र आचरणहरूमा पनि गान्धीलाई पछ्याइरहे । फलस्वरूपः कैयौँपटक बिरामी परेका मेहेरलाई गान्धीले निकै मायालु पाराले सबै कुरा तुरुन्तै नछाडेर र सामथ्र्य हुँदा बिस्तारै छाड्ने सल्लाह दिन्छन् ।
कुनै–कुनै पत्रमा त दूध पिउन छोडेकोमा गुनासो गर्छन् र स्वस्थ्य भएपछि मात्र दूध वा अन्य खाद्य सामग्रीहरू छोड्ने आग्रह गर्छन् (कोइरालाः २०६१)। मेहेरले तत्कालीन समयमा समाजसेवाको क्षेत्रमा विशिष्ट योगदान गरेका थिए तर उनको मुख्य योगदान र सक्रियता रहेको ‘चर्खाको प्रचारप्रसार तथा कपास खेती’का लागि गरेका कामहरूका विषयमा कुरा गर्दा नै ग्रीष्मबहादुर देवकोटाले उल्लेख गरेको गोरखापत्रमा प्रकाशित ‘पहिलो सर्वसाधारण’को फोटोको कुरा जोडिन्छ ।
चर्खा, कपास खेतीका विषयमा वि.सं १९८०को दशकमा गोरखापत्रमा व्यापक समाचार, लेख तथा जानकारीहरू छापिएका छन् । यी सामग्रीका मुख्य श्रोत भने मेहेर आफैँ वा उनी संलग्न महागुठी हुन् । १९८३ कात्तिक ३० मा शंखमूल घाट्, पाटनबाट तुलसी मेहेर श्रेष्ठले चन्द्रकामधेनु चर्खालाई ‘गरिब दुःखीको प्राणाधार’का रूपमा व्याख्या गर्छन् र देशोन्नतिका लागि सुरुमा १५१ वटा चर्खा र धुन गरिब दुःखीहरूलाई बेदाममा बाँड्न र काम सिकाउन खोजे पनि घरघरमा बाँडिएका यस्ता चर्खा राख्नेहरू कतिपयले कपास किन्न नसकेकाले उक्त चर्खाको उपयोग हुन नसकेको विषयमा चिन्ता व्यक्त गर्छन् । समाधान स्वरूप कपास दिने र ज्यालामा धागो कात्न लगाउने, कपडा तैयार गर्ने र कपडा बिक्री गरेर आएको रकमले फेरि कपास खरिद गर्ने व्यवस्था मिलाएको जानकारी मिल्छ । यो कामलाई देशभर फैलाउन खोजे पनि वीरगन्ज र काठमाडौंमा विशेष ध्यान दिएको वा धेरै काम भएको देखिन्छ ।
चर्खा र कपास खेतीका विषयमा व्यापक प्रचारप्रसार गोरखापत्रमार्फत हुँदै थियो । नियमित निस्कने सूचना, लेख तथा समाचारले सो बखत नेपाल सरकारको विशेष ध्यान यो परियोजना सम्पन्न गर्ने मात्रै थियो कि ? जस्तो भान पर्छ । यस्तै समाचारमध्ये एउटा समाचार थियो– कपासखेती र चर्खासँग जोडिएको फोटो खिचेको समाचार । गोरखापत्रले वीरगन्जकी ‘सूर्यमती श्रेष्ठेनी’को फोटो खिचेको एक महिनापछि उक्त फोटो किन खिचियो भन्ने विषयमा एउटा समाचार दिन्छ । अर्थात् १९८३ पुस २७ गतेको समाचारमा उक्त फोटो खिच्नुको तात्पर्य यसरी खुलाइएको छ, ‘वीरगन्जमा गएको मार्ग २७ गतेका दिन १ बजेका टायममा यही बस्ने तुलसीबहादुर श्रेष्ठले, सूर्यमती भन्ने वर्ष १२ की आफ्नी छोरीलाई आफ्नै घरअगाडि यसै सालमा रोपिएका कपास बारीमा राखी श्रीचन्द्रकामधेनु चर्खाबाट धागो कात्न लगाई फोटो खिचाएको रहेछ ।’
त्यहाँका मानिसले किन यस्तो फोटो खिचाएको भनी सोद्धा जिल्लामा भइरहेको कपासको खेती र चर्खाको काम अरूलाई गराउन लगाउन र श्रीचन्द्रकामधेनु चर्खाको पनि जिल्लाजिल्ला, गाउँगाउँमा प्रचार होओस् भन्ने मनसायले सरकारमा समेत जाहेर गराउन उक्त फोटो खिचिएको जानकारी तुलसीबहादुरले दिए भन्ने खबर गोरखापत्रले छाप्छ ।
पत्रकारिताका हिसाबले विचार गर्ने हो भने वीरगन्जको समाचार गोरखापत्रबाट प्रकाशित हुन एक महिना लागेको छ । साप्ताहिक गोरखापत्रले सो समयमा चर्खा, कपासखेती तथा तुलसी मेहेरका कामलाई राम्रैसँग स्थान दिएको थियो । त्यसमाथि उक्त समयमा ‘फोटो खिच्ने’ प्रविधि नयाँ थियो र त्यो आफैँमा विशेष समाचार बनेको हुन सक्छ । उक्त समाचार छाप्ने समयमा नै सूर्यमतीको फोटो गोरखापत्रमा निकट भविष्यमा प्रकाशित हुँदै थियो वा थिएन भन्ने विषयमा स्वयं सम्पादकहरूलाई केही थाहा नहुन सक्छ । तर, उक्त फोटोको ब्लक बन्न (धेरै पछिसम्म पनि फोटो ब्लकहरू बनाउन भारत जानुपथ्र्याे), उक्त ब्लकहरू नेपाल भित्रिन र पत्रिकाको कार्यालयमा पुग्न तथा प्रकाशित हुन समय लाग्ने नै कुरा स्वाभाविक नै थियो ।
१९८३ पुस २७ गतेको समाचारमा उक्त फोटो खिच्नुको तात्पर्य यसरी खुलाइएको छ, ‘वीरगन्जमा गएको मार्ग २७ गतेका दिन १ बजेका टायममा यहीँ बस्ने तुलसीबहादुर श्रेष्ठले, सूर्यमती भन्ने वर्ष १२ की आफ्नी छोरीलाई आफ्नै घरअगाडि यसै सालमा रोपिएका कपास बारीमा राखी श्रीचन्द्रकामधेनु चर्खाबाट धागो कात्न लगाई फोटो खिचाएको रहेछ ।’
पक्का पनि काठमाडौंपछि क्यामेराको धेरै प्रयोग भएको स्थानमध्ये वीरगन्ज एक थियो । त्यसैले वीरगन्जमै क्यामेराहरू थिए भन्ने कुरामा शंका छैन तर यो फोटो सरकारी संयन्त्रमार्फत खिचिएको थियो कि स्थानीय व्यक्तिहरूमध्ये कसैले खिचेका थिए भन्ने कुरा त्यति प्रस्ट छैन । जे भए पनि वीरगन्जमा कपासखेती भइरहेको थियो र तुलसी मेहेरको सम्पूर्ण गतिविधि वीरगन्जसँग सबैभन्दा राम्रोसँग जोडिन्थ्यो ।
कपासखेतीका अतिरिक्त चर्खा बाँड्ने काम र चर्खाबाट धागो कात्ने तथा कपडा बुन्ने काम र महागुठीका अन्य गतिविधिहरू तानसेन, बन्दीपुर, भादगाउँ, पोखरा, बाग्लुङतर्फ पनि फैलिएका थिए । तर, कपासखेतीका लागि भने मोरङ, खजनी, बाँके, बर्दिया, वीरगन्जलाई विशेष प्राथमिकतामा राखिएका थिए । यी ठाउँमा कपासका बिउहरू सित्तैमा बाँडेर कपासखेती गर्न सिकाउने गरिएको थियो । ठाउँ–ठाउँबाट यस कामका लागि भिक्षा वा चन्दाका निम्ति अनुरोध गरिएको थियो । ‘लेखक’ गुरुप्रसाद मैनालीबाट ‘महागुठी’लाई बाग्लुङबाट पनि केही अन्न भिक्षा प्राप्त हुने आशा त्यसै गरिएको होइन ।
कतिपयको भनाइ मान्ने हो भने सरकारबाहेक अन्य व्यक्ति वा संस्थाका नाममा राणा शासनमा ‘चन्दा उठाउन बन्देज’ गरिएको अवस्थामा गुठीलाई यो छुट दिइएको थियो । यसरी सरकारी निकायसँगै मिलेर वा सरकारको सहयोगमै भइरहेजस्ता देखिने यस्ता गतिविधि र ‘महात्मा गान्धी’सँगको मेहेरको अत्यन्त घनिष्ट सम्बन्धलाई राणा शासकहरूले कसरी लिएका थिए यसै भन्न सकिन्न ।
मेहेरलाई एकातर्फ राणा शासनबाट राम्रो सहयोग प्राप्त भएको देखिन्छ वा कम्तीमा उनका गतिविधिमा हस्तक्षेप गरेको देखिँदैन, अर्कोतर्फ उनी महात्मा गान्धीसँग नेपालभित्र सबैभन्दा घनिष्ट सम्बन्ध राख्ने अनुयायी थिए । उनीहरूबीच चलेको खुला चिठीपत्रहरूमा सरकारको विरोध वा सरकार विरोधी गतिविधिलाई प्रोत्साहन गर्ने खालको प्रसंग त देखा पर्दैन तथापि ‘बन्द व्यवस्था’मा यो ‘खुला सम्बन्ध’ अब आएर अपत्यारिलो लाग्न सक्छ ।
यी सबै गतिविधिको प्रचारप्रसारका निम्ति गोरखापत्र मात्र एउटा साधन भने थिएन । प्रचारप्रसारका अन्य उपाय पनि अपनाइएका थिए । सो समयमा फोटो आफैँमा शक्तिशाली माध्यम बन्दै थियो भन्ने कुराको प्रमाण प्रचारप्रसारका लागि फोटो प्रदर्शनी गर्ने कार्यक्रमलाई दिएको प्राथमिकताबाट पनि थाहा लाग्छ ।
श्री ३ महाराजबाट ‘श्रीचन्द्रकामधेनु चर्खा’को प्रचार गर्न थालेको एक वर्ष पुगेको उपलक्ष्य तथा मच्छिन्द्रनाथको रथ आरोहणको समयमा परेकाले हजारौँ स्त्री–पुरुषहरू जम्मा हुने पाटनमा ‘श्रीचन्द्रकामधेनु चर्खाका जन्मदाता चन्द्रशमशेर र आफ्ना कपास बगैँचामा धागो काती रहेकी सूर्यमतीसमेतको सुचित्रहरूले सुशोभित गरी तरहतरहका कपासका बीच, कपास, रुवा, ठूलाठूला राजगृहस्थलहरीका घरमा तयार भएका केलाई राखेको रुवा, फड्की सिसिहरूमा सुरक्षित राखिएका रुवा, पिउरी असल मसिनो सेतो र कोगिटी धागो ठाउँठाउँमा तयार भई आएका कपडाहरू, चर्खाहरू राखेर उपस्थिति दुनियाँहरूलाई ‘श्रीचन्द्रकामधेनु चर्खा’का का विषयमा जानकरी दिने प्रयास गरियो’ (गोरखापत्र १९८४ जेष्ठ)। अर्थात् सूर्यमतीको सुचित्रको प्रयोग तत्कालीन महाराजको सुचित्रसँगै भयो, चन्द्रकामधेनु चर्खाको प्रचार निम्ति ।
पक्का पनि सूर्यमती श्रेष्ठेनीको फोटो नेपाली फोटोको इतिहास लेख्ने क्रममा होस् वा नेपाली फोटो पत्रकारिताको इतिहास लेख्ने र बुझ्ने क्रममा महत्वपूर्ण हुन आउँछ ।
उनी साधारण पात्र त हुन् तर ‘आम पात्र’ पक्कै होइनन् जसको फोटो विशुद्ध किसानका रूपमा खिचिएको होस् र प्रकाशित होस् । यस अर्थमा उनको फोटो खिचिनु, प्रकाशित गरिनु, प्रचारप्रसार गरिनुका पछाडिका थुप्रै कारणलाई फरक ढंगले हेर्न र व्याख्या गर्न सकिन्छ । यो फोटो त्यही फोटो थियो जुन नेपालभित्र चर्खा र कपासखेतीको प्रचारप्रसार गर्ने अभियानलाई सघाउन खिचिएको थियो र ‘श्रीचन्द्रकामधेनु चर्खा प्रचारका खेती विभागद्वारा प्रकाशित कपासखेतीको साधारण सूचना’ अन्तर्गत प्रकाशित भएको थियो । समग्रमा यो सूचना, फोटो तथा तत्कालीन गतिविधिलाई बुझ्नका लागि सोही समयको गोरखापत्र, तुलसी मेहेरको जीवनी वा जीवनचन्द्रर कोइराला सम्पादित उनको स्मृति ग्रन्थ (२०६१) महत्वपूर्ण हुन सक्छ ।
फोटोको प्रसंगमा भने ग्रीष्मबहादुर देवकोटाले आफ्नो पुस्तकमा ‘नेपालमा छापिई प्रकाशित भएका पत्रपत्रिकाहरूमा सबैभन्दा पहिले ‘गोरखापत्र’ले १९८४ साल वैशाख १३ गते तस्बिर (फोटो–ब्लाक) छापी प्रकाशित ग¥यो’ भन्ने (पृ. १२९) दाबी सत्य ठहर्दैन । कम्तीमा पनि १९८२, असार २१ मा ‘श्री ३ महाराजका जन्मोत्सवका हर्ष बढाइमा,’ १९८२ असार ३० मा देश समाचारअन्तर्गत ‘श्री ३को जन्मोत्सव’ तथा १९८३ श्रावण महिनामा देश समाचारअन्तर्गत नै चन्द्रशमशेरका तीनवटा फोटाहरू यसभन्दा पहिले नै प्रकाशित भइसकेको देखिन्छ ।
सूर्यमती श्रेष्ठेनीको फोटो लिइएको समयभन्दा पहिले नै गोरखापत्रले चन्द्रशमशेरको फोटो प्रकाशित गरेको थियो । यो यसकारण पनि सहज लाग्छ कि यसभन्दा अगाडि प्रकाशित कैयौँ पुस्तकमा चन्द्रशमशेरको फोटो छापिइसकेको थियो र ती पुस्तकका लागि आवश्यक पर्ने फोटा ब्लकहरू पहिले नै बनिसकेका थिए र पुनः प्रयोगका लागि तयारी अवस्थामा थिए ।