पछिल्लो एक दशकयता मैदानबाहिर एउटा अनिर्णीत बहस छ, ‘रोनाल्डो र मेसीमध्ये को सर्वकालीन महान् ?’ खेलजगत्ले अहिलेसम्म यसको स्पष्ट जवाफ पाएको छैन । फुटबल मैदानभित्र यी दुई खेलाडीले पछिल्लो डेढ दशकमा पटक–पटक आफूलाई अब्बल साबित गरेका छन् । क्लब फुटबलमा त्यस्ता कुनै उपाधि बाँकी छैनन्, जुन यी दुईले हासिल नगरेका हुन् ।
अधिकांश कीर्तिमान यिनैका नाममा छन् । बालन डिओर, फिफा वर्ष खेलाडी, गोल्डेन बुटजस्ता अधिकांश व्यक्तिगत अवार्ड पनि यिनकै पोल्टामा परेका छन् । तर, क्लब फुटबलमा यी सर्वाधिक सफल खेलाडीले विश्वकप फुटबलको उपाधि भने उचाल्न सकेका छैनन् । सायद, त्यसैले पनि उत्कृष्टताको होड अनिर्णीत भएको होला । यसबीच, कतार विश्वकपमा सहभागी हुने सबै टिमको टुंगो लागेको छ । विश्वकपमा पोर्चुगल छनोट भएसँगै पुनः रोनाल्डो र मेसीको चर्चा सुरु भएको छ । आगामी २१ नोभेम्बरबाट सुरु हुने कतार विश्वकप यी दुईका सपना साकार पार्ने अन्तिम अवसर त हो नै, एउटा त्यस्तो अवसर पनि हाे, जसले लामो समयदेखि चलेको उत्कृष्टताको बहसलाई पूर्णविराम लगाउन सक्छ ।
तर, ढल्कँदो उमेरका यी दुई खेलाडीलाई सहज भने छैन । रोनाल्डो ३७ र मेसी ३४ वर्षका भइसकेका छन् । २०२६ मा आयोजना हुने अर्को विश्वकपमा यी दुई खेलाडीलाई देख्न पाइने सम्भावना ज्यादै न्यून छ । पाँचौँपटक विश्वकपमा सहभागिता जनाउँदै गरेका उनीहरू क्लब फुटबलमा अवार्ड र कीर्तिमानका जति नै पहाड खडा गरे पनि विश्वकप फुटबलमा चुक्दै आएका छन् । त्यसैले रोनाल्डो र मेसी स्वयं पनि कतार विश्वकपलाई अविस्मरणीय बनाउन प्रयास गर्नेछन्
मेसीलाई सहज रोनाल्डोको कठिन
लियोनल मेसी नेतृत्वको अर्जेन्टिनाले १७ नोभेम्बरमै कतार विश्वकपमा स्थान सुरक्षित गरेको हो । दक्षिण अमेरिकी छनोट प्रतियोगिताको १३औँ खेलमा ब्राजिलसँग बराबरी खेल्दै अर्जेन्टिना छानिएको थियो । ब्राजिलपछि दोस्रो स्थानमा रहँदै उसले छनोट प्रतियोगिता टुंग्याउँदै छ । चार वर्षअघि सन् २०१८ को विश्वकप सहभागिता अर्जेन्टिनाका लागि सकसपूर्ण थियो । त्यसवेला अन्तिम खेल जिते मात्र विश्वकपमा स्थान सुरक्षित हुने अवस्थाबाट जुग्रिएको अर्जेन्टिनाले यसपटक छनोट प्रतियोगितामा एउटै खेल पनि गुमाएको छैन । यो समूहमा कुनै पनि खेल नहार्ने अर्जेन्टिना र ब्राजिल मात्र हुन् ।
तर, क्रिस्चियानो रोनाल्डोको नेतृत्वमा रहेको पोर्चुगललाई यसपटक विश्वकपको यात्रा सहज बनेन । युरोपेली देशहरूको समूह ‘ए’मा रहेको पोर्चुगल शीर्ष स्थानमा रहेर सीधै छनोट हुन असफल रह्यो । त्यसैले प्लेअफको सहारा लिनुपर्यो । युरोपकै समूह सीमामा रहेको इटाली पनि त्यही अवस्थाबाट गुज्रिएको थियो । त्यसैले विश्वकपमा स्थान पक्का गर्न पोर्चुगलले प्लेअफको फाइनलमा इटालीसँग भिड्नुपर्ने असहज अवस्था बन्ने देखिन्थ्यो । कोभिडका कारण एक वर्ष पर सन् २०२१ मा आयोजना गरिएको युरोकप २०२० को उपाधि उचालेको इटालीलाई पन्छाउनु पोर्चुगलका लागि फलामको चिउरा चपाउनुसरह बन्न सक्थ्यो । तर, त्यो नर्थ मेसेडोनियाले त्यो अवस्था आउनै दिएन । प्लेअफको पहिलो खेलमा अनपेक्षित नतिजा निकाल्दै नर्थ मेसेडोनियाले इटालीलाई १–० ले हराइदियो । त्यसपछि प्लेअफको फाइनलमा पोर्चुगलको भेट उसैसँग भयो । जहाँ, २९ मार्चको मध्यरात नर्थ मेसेडोनियालाई २–० गोलले हराउँदै पोर्चुगलले कतार विश्वकपको टिकट पक्का गर्यो ।
मेसीलाई सहज रोनाल्डोको कठिन
रोनाल्डो र मेसीले अहिलेसम्म पाँच–पाँच विश्वकपमा सहभागिता जनाएका छन् । दुवै सन् २००६ बाट विश्वकप खेल्न थालेका हुन् । त्यसयता, २०१०, २०१४ र २०१८ को विश्वकप दुवैले खेलिसकेका छन् । जर्मनीमा भएको २००६ को विश्वकप दुवैका लागि खास स्मरणीय बन्न सकेन । सो विश्वकपमा मेसीले एक गोल गरे भने रोनाल्डो गोलविहीन भए । अर्जेन्टिना जर्मनीसँग क्वार्टरफाइनलमा पेनाल्टी सुटआउटमा पराजित हुँदै बाहिरियो । पोर्चुगल भने चौथो स्थानमा रह्यो । सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको पोर्चुगल तेस्रो स्थानका लागि भएको खेलमा जर्मनीसँग पराजित रह्यो ।
सन् २०१० को विश्वकपमा भाग लिन पुनः दुवै खेलाडी दक्षिण अफ्रिका पुगे । यो विश्वकप पनि दुवैका लागि बिर्सनलायक रह्यो । सन् २०१० मा आइपुग्दा टिममा रोनाल्डो र मेसी आ–आफ्ना देशका मुख्य खेलाडी बनिसकेका थिए । रोनाल्डो कप्तानी गरिरहेका थिए । धेरैले त्यो विश्वकपलाई रोनाल्डो र मेसीबीचको प्रतिस्पर्धाका रूपमा पनि अथ्र्याएका थिए । तर, परिणाम त्यस्तो रहेन । पोर्चुगल स्पेनसँग १–० ले पराजित हुँदै अन्तिम १६ बाटै घर फर्कियो भने अर्जेन्टिना क्वार्टरफाइनलमा जर्मनीसँग ४–० ले पराजित हुनपुग्यो । यो विश्वकपमा रोनाल्डोले चार खेलमा एक र मेसीले पाँच खेल खेलेका मेसीले खाता खोल्न पनि सकेनन् ।
आगामी २१ नोभेम्बरबाट सुरु हुने कतार विश्वकप यी दुईका सपना साकार पार्ने अन्तिम अवसर त हो नै, एउटा त्यस्तो अवसर पनि हाे, जसले लामो समयदेखि चलेको उत्कृष्टताको बहसलाई पूर्णविराम लगाउन सक्छ ।
मेसीको सन्न्यास घोषणा र फिर्ता
सन् २०१४ मा ब्राजिल विश्वकप सुरु हुनुपूर्व यी दुई खेलाडीमाथि नै धेरैको नजर थियो । २०१४ सम्ममा यी दुईले क्लब फुटबलमा तहल्का मच्चाइसकेका थिए । पालो विश्वकपको थियो । यो विश्वकपमा रोनाल्डोको दाँजोमा मेसी निकै उत्कृष्ट देखिए । तर, उपाधि चुम्न यसपटक पनि अभागी साबित भए । रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगलले यो विश्वकपमा समूह चरण नै पार गर्न सकेन । उता, अर्जेन्टिनाले फाइनलसम्मको यात्रा तय ग¥यो । तीन खेलमा रोनाल्डोले एक गोल गरे । सात खेल खेलेका मेसीको नाममा चार गोल रह्यो । मेसीको नेतृत्वमा रहेको अर्जेन्टिना अतिरिक्त समयमा १–० गोलले पछि पर्दै जर्मनीलाई ट्रफी सुम्पन बाध्य भयो । त्यस विश्वकपमा मेसीले प्रतियोगिताको उत्कृष्ट खेलाडीका रूपमा गोल्डेन बल जिते । तर, सिनियर टिमबाट देशका लागि विश्वकप जित्न असफल भए ।
रसियाले आयोजना गरेको सन् २०१८ विश्वकप दुवैलाई फेरि अर्को मौका थियो । तर, यहाँ पनि दुवै असफल साबित भए । दुवै अन्तिम १६ बाट अघि बढ्न सकेनन् । तर, स्पेनसँगको पहिलो खेलमा रोनाल्डोको ह्याट्रिक प्रतियोगिताभर स्मरण भयो । यो विश्वकपमा मेसीको तुलनामा रोनाल्डो फर्ममा देखिए । समान चार खेल खेलेका रोनाल्डोले चार गोल गर्दा मेसी एक गोलमै रोकिए । अझ, पहिलो खेलमा रोनाल्डो चम्किँदा मेसी आइसल्यान्डसँगको पहिलो खेलमा पेनाल्टीमा गोल गर्न चुके ।
समग्रमा विश्वकपमा रोनाल्डो १७ खेल खेल्दै सात गोल गरेका छन् । मेसीले १९ खेलमा ६ गोल मात्र गरेका छन् । यसबीच पोर्चुगलको सबैभन्दा सफलता सेमिफाइनलसम्म पुग्ने देखिन्छ भने अर्जेन्टिना उपविजेतासम्म बन्न सफल भयो । विश्वकप ट्रफी उचाल्ने दुवैको सपना भने अधुरै छ । तर, यी दुवै खेलाडीको कप्तानीमा देशले केही ठूला उपाधि आर्जन गरिसकेका छन् । पोर्चुगल सन् २०१६ को युरोकप र २०१८–१९ को युएफा नेसनल लिगको उपाधि जित्न सफल भयो । यता, मेसीकै कप्तानीमा अर्जेन्टिनाले एक वर्षअघि कोपा अमेरिका २०२१ को उपाधि उचाल्यो ।
२०१४ को ब्राजिल विश्वकपमा उत्कृष्ट प्रदर्शनका बाबजुद मेसी विश्वकप चुम्न असफल रहे । त्यसअघि दुईपटक कोपा अमेरिकाको फाइनल पुगेर पनि अर्जेन्टिना उपाधिविहीन भएको थियो । त्यसैले मेसीमाथि अलोचकहरू खनिए । नतिजाले पनि त्यस्तै देखाउँथ्यो । क्लब फुटबलमा सबैखाले उपाधि जितिसकेका मेसी राष्ट्रिय टिमबाट उपाधिविहीन थिए । सन् २०१४ को फाइनल हारको पीडामा मलम लगाउने एक अवसर २०१६ मा आयो । तर, कोपा अमेरिकाको फाइनलमा पुगेर मेसी पुनः असफल भए । पेनाल्टी सुटआउटमा पराजित हुँदै अर्जेन्टिना चिलीलाई उपाधि सुम्पन बाध्य भयो । यसपछि मेसी सम्हालिन सकेनन् । तीन वर्षमा लगातार तीन प्रतियोगिताको फाइनल गुमाएका मेसीले अप्रत्यासित रूपमा अन्तर्राष्ट्रिय खेलबाट सन्न्यास लिएको घोषणा गरे । तर, अर्जेन्टिनी मात्र होइनन, विश्वभरका खेलप्रेमीले मेसीले सन्न्यास लिने वेला नभएको भन्दै राष्ट्रिय टिममा फर्कन आग्रह गरिरहे । करिब एक वर्षपछि उनी टिममा फर्किए ।
यी दुईका नाममा रहेका केही कीर्तिमान
मेसीले सर्वाधिक ६ युरोपियन गोल्डेन बुट जितेका छन् । उनले सन् २००९/१०, २०११/१२, २०१२/२३, २०१६/१७, २०१७/१८ र २०१८/१९ यो अवार्ड हात पारेका थिए । रोनाल्डोले सन् २००७/०८, २०१०/११, २०१३/१४ र २०१४/१५ मा यो अवार्ड जितेका थिए ।
सर्वाधिक बालोन डि’ओर
मेसीले सर्वाधिक सातपटक बालोन डि’ओर जितेका छन् । रोनाल्डोसँग पाँचवटा बालोन डि’ओर छ । सर्वाधिक सात बालोन ‘डी’ओर विजेता मेसीले सन् २००९, २०१०, २०११ र २०१२, २०१५, २०१९ र २०२१ मा यो अवार्ड जितेका छन् । सन् २००९, २०१०, २०११ र २०१२ मा गरी लगातार चारपटक यो अवार्ड जित्ने कीर्तिमान पनि मेसीसँग छ । रोनाल्डोले सन् २००८, २०१३, २०१४, २०१६ र २०१७ मा गरी पाँचपटक यो अवार्ड जितेका हुन् ।
एकै टिमका लागि सर्वाधिक गोल
लियोनल मेसी करिअरको अन्त्यतिर पिएसजी पुगेका छन् । तर, स्पेनिस क्लब बार्सिलानामा रहँदा उनले गोलका अनेक कीर्तिमान बनाएका छन् । उनले बार्सिलोनाका लागि ६७२ गोल गर्दै एकै क्लबका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान कायम गरेका छन् । ७७८ खेलमा मेसीले सो उपलब्धि हासिल गरेका हुन् । मेसीले अघिल्लो डिसेम्बरमा ब्राजिलियन महान् खेलाडी पेलेले सान्तोषका लागि गरेको ६४३ गोलको कीर्तिमान तोडेका थिए । स्पोर्टिङ सिपी, म्यानचेस्टर युनाइटेड, रियल मड्रिड र युभेन्टस् हुँदै पुनः म्यानचेस्टर पुगेका रोनाल्डोले मड्रिडका लागि ४५० गोल गरेका छन् ।
एकै वर्ष सर्वाधिक गोल
मेसीले सन् २०१२ मा ९१ गोल गर्दै एकै वर्षमा सर्वाधिक गोल गर्ने कीर्तिमान कायम गरेका थिए । उनले सन् १९७२ मा जर्मनका गर्ड मुलरले कायम गरेको ८५ गोलको कीर्तिमान भंग गरेका हुन् । रोनाल्डोले सन् २०१२ मै ६१ गोल गरेका थिए । उनले सन् २०१७ यता एकै वर्ष पनि ५० गोल कटाउन सकेका छैनन् ।
सर्वकालीन शीर्ष गोलकर्ता
रोनाल्डो पुरुष व्यावसायिक फुटबलको इतिहासमा सर्वकालीन शीर्ष गोलकर्ता हुन् । सन् २००१ यता १११० खेल खेलेका रोनाल्डोको नाममा ८०७ गोल छ । कीर्तिमान बनाउने क्रममा उनले अस्ट्रिया/चेकोस्लोभाकियाका जोसेफ बिकानलाई पछि पारेका थिए । विकानले ५३० खेलमा ८०५ गोल गरेका थिए । यो सूचीमा मेसी चौथो स्थानमा मात्र छन् । ९६१ खेल खेलेका मेसीले सात सय ६० गोल गरेका छन् ।
सर्वाधिक अन्तर्राष्ट्रिय गोल
सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान रोनाल्डोको नाममा छ । पोर्चुगलका लागि १८६ खेल खेलेका उनले ११५ गोल गरेका छन् । चौथो नम्बरमा रहेका मेसीले १६० खेलबाट अर्जेन्टिनाका लागि ८१ गोल गरेका छन् ।