अल्फा कुकुरले मुखभित्र लुकाएको ब्राउनसुगर पत्ता लगायो

आइतबार, २ कार्तिक, २०८३
डिजिटल संस्करण

कञ्चनपुर। सशस्त्र प्रहरी बलको तालिमप्राप्त लेब्राडोर जातको ‘अल्फा’ नामक पोथी कुकुरले मानिसको मुखभित्र लुकाएर राखेको लागुऔषध ब्राउनसुगर पत्ता लगाएको छ। पश्चिमी सीमानाका कञ्चनपुरको गड्डाचौकी हुँदै नेपाल भित्रिन लागेका कैलालीका एक युवकको मुखबाट प्रहरीले उक्त लागुऔषध बरामद गरेको हो।

आइतबार बिहान साढे १० बजेतिर गड्डाचौकी नाकामा चेकजाँच गर्ने क्रममा अल्फा कुकुरले शंकास्पद संकेत गरेपछि थप जाँच गर्दा युवकको मुखभित्र लुकाएर राखेको ०.१६ ग्राम खैरो हेरोइन (ब्राउनसुगर) बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रेमप्रकाश सिग्देलका अनुसार लागुऔषधसहित कैलालीको घोडाघोडी नगरपालिका– ६, अस्नेराका २४ वर्षीय विक्रम मिजारलाई नियन्त्रणमा लिइएको हो।

बरामद लागुऔषध र मिजारलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।

दसैँ–तिहारलाई लक्षित गर्दै सशस्त्र प्रहरीले शनिबारदेखि गड्डाचौकी सीमानाकामा तालिमप्राप्त दुईवटा कुकुर परिचालन गरेर चेकजाँच तीव्र पारेको छ। कुकुरको सहायताले नेपाल भित्रिने यात्रु तथा उनीहरूले बोकेका सामानको समेत जाँच भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।

सुझावित समाचार