महाअष्टमीमा देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो

आइतबार, २ कार्तिक, २०८३
डिजिटल संस्करण


काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। बिहानैदेखि देवीको पूजाआराधना र दर्शनका लागि भक्तजन मन्दिरमा पुगेका छन्।

काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, टोखाको चण्डेश्वरीलगायत शक्तिपीठमा भक्तजनको भिड लागेको छ। महाअष्टमीका अवसरमा विभिन्न देवी मन्दिरलाई ध्वजापताकाले सिँगारिएको छ।

त्यस्तै, काठमाडौंको दक्षिणकाली, गोरखाको मनकामना, ताप्लेजुङको पाथीभरा, ललितपुरको बंगलामुखी, पोखराको विन्ध्यवासिनी, काभ्रेपलाञ्चोकको पलाञ्चोक भगवती, जुम्लाको चन्दननाथ, डोटीको शैलेश्वरी र डडेलधुराको उग्रतारा भगवतीमा पनि दर्शनार्थीको चहलपहल बढेको छ।

यसैगरी बैतडीको त्रिपुरासुन्दरी, नेपालगन्जको वागीश्वरी, सप्तरीको छिन्नमस्ता भगवती तथा राजदेवी, धनकुटाको जाल्पादेवी, धरानको दन्तकाली र बाराको गढीमाईलगायत शक्तिपीठमा पनि बिहानैदेखि भक्तजनको उपस्थिति उल्लेख्य रहेको छ।

धार्मिक मान्यताअनुसार शारदीय नवरात्रका अवसरमा शक्तिपीठमा गई देवीको दर्शन तथा पूजाआराधना गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ। महाअष्टमीका दिन विशेषगरी महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजाआराधना गर्ने परम्परा छ।

नवरात्रका नौ दिनसम्म श्रद्धा र भक्तिपूर्वक देवीको आराधना गरेमा सुख, शान्ति, समृद्धि प्राप्त हुने तथा मनोकामना पूरा हुने जनविश्वासका कारण दसैँमा शक्तिपीठहरूमा भक्तजनको विशेष चहलपहल हुने गरेको छ।

सुझावित समाचार