
सडकमा अन्धाधुन्द गोली चलाएर नरसंहार मच्चाएको सत्ताको बर्बरता अस्पतालमा पनि देखियो । अस्पतालको इमर्जेन्सीमै पुगेर प्रहरीले उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि बुट र लाठी बजार्यो । मृतक र घाइतेका आफन्तलाई लखेट्न अस्पतालभित्र अश्रुग्यास चलायो ।
बानेश्वरस्थित सिभिल अस्पतालको इमर्जेन्सीमै पुगेर प्रहरीले दुई नर्स र एक एमबिबिएस डाक्टरलाई बुट र लाठीले हान्यो । अस्पतालका निर्देशक डा. मोहनचन्द्र रेग्मीले अस्पताल हाताभित्रै प्रहरीले आतंक मच्चाएको बताए । ‘हतियारधारी प्रहरी इमर्जेन्सीमै छिरेर दुई स्वास्थ्यकर्मीलाई कुट्यो । युवाहरूलाई लखेट्दै प्रहरी अस्पतालभित्र छिरेको थियो,’ उनले भने, ‘इमर्जेन्सीमा आतंक मच्चाउनेमाथि कारबाही होस् ।’
सडकबाट अस्पताल क्षेत्रतिर भाग्दै गरेका प्रदर्शनकारीलाई लखेटेका प्रहरीले अस्पतालभित्रै अश्रुग्यास र रबरका गोली चलाएका थिए । प्रहरीको हुल अस्पतालभित्रै प्रवेश गरेपछि उपचारमा सक्रिय स्वास्थ्यकर्मी आत्तिएका थिए ।
स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटा सिभिल अस्पतालमा प्रहरीले अश्रुग्यास चलाउनु दु:खद भएको बताए । ‘अस्पतालभित्रै प्रहरीले अश्रुग्यास हानेको कुरा त्यहाँका चिकित्सकले गुनासो गर्नुभएको छ, यस्तो गर्नु दु:खद हो,’ उनले भने, ‘अस्पतालमा भएका अन्य बिरामीलाई पनि त्यसले असर गरेको छ ।’ त्यस्तै, सबैभन्दा धेरै आठको मृत्यु भएको र ५५ घाइतेको उपचार भइरहेको ट्रमा सेन्टरमा पुगेका आफन्तलाई प्रहरीले अस्पतालभित्र छिरेर दुव्र्यवहार गरेको छ । घाइते आफन्त भेट्न जाँदा प्रहरीले हातपात गरेको र अस्पतालबाट भगाएको हो ।
घाइते बोक्न काठमाडौं महानगरले खटायो १५ एम्बुलेन्स, घाइतेलाई खाना बाँड्यो
प्रदर्शनका घाइतेलाई अस्पताल पुर्याउन काठमाडौं महानगरपालिकाले १५ एम्बुलेन्स खटाएको थियो । घाइते ओसार्न समस्या भएपछि महानगरले आफूसँग भएका ती एम्बुलेन्स प्रदर्शन क्षेत्र र अस्पतालमा परिचालन गरेको थियो । त्यस्तै, महानगरले अस्पतालमा रहेका घाइतेलाई खानेकुरासमेत बाँडेको छ ।