मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २४ मंगलबार o९:३६:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संयुक्त राष्ट्र संघ र एमनेस्टीको चिन्ता

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार o९:३६:oo

जेन–जी पुस्ताको प्रदर्शनमा भएको नरसंहारमा संयुक्त राष्ट्र संघका नेपालस्थित आवास संयोजक हना सिंगर हम्दीले गहिरो दु:ख व्यक्त गरेकी छिन् । जेन–जी प्रदर्शनका क्रममा ज्यान गुमाएका तथा घाइते भएकाप्रति उनले सहानुभूति व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना जनाएकी छिन् ।

उनले सरकार र आन्दोलनकारी पक्षलाई अधिकतम संयमता र सतर्कता अपनाउन आग्रह गरेकी छिन् । ‘नागरिकहरूले आफ्ना लोकतान्त्रिक अधिकारहरू सुरक्षित र शान्तिपूर्ण ढंगले प्रयोग गर्न सक्ने वातावरण सुनिश्चित गर्न सरकारसँग म आग्रह गर्दछु,’ उनले सोमबार सामाजिक सञ्जाल एक्समा लेखेकी छिन् ।

यसैबिच, मानव अधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले पनि सरकारी दमनप्रति निन्दा व्यक्त गरेको छ । ‘हामी नेपाल सरकारलाई अत्यधिक संयमता अपनाउन आग्रह गर्छौँ,’ एमनेस्टीले जारी गरेको विज्ञप्तिमा छ, ‘यदि बल प्रयोग अपरिहार्य भएमा समेत, सकेसम्म क्षति कम गर्ने र सुरक्षाका सबै सम्भावित उपायहरू अपनाइनु आवश्यक छ ।’ 

एमनेस्टीले घटनाका दोषीलाई फौजदारी अभियोजनसहित पूर्ण रूपमा जवाफदेही बनाउन माग गरेको छ । ‘अवैध बल प्रयोगबाट पीडित भएकाहरूलाई राज्यबाट पूर्ण र प्रभावकारी क्षतिपूर्ति उपलब्ध गराइनुपर्छ,’ एमनेस्टीले भनेको छ । उसले दमन गर्ने नभएर आन्दोलनको माग सुनुवाइ गर्न पनि अनुरोध गरेको छ । 

एमनेस्टीले थप भनेको छ, ‘प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण रूपमा प्रदर्शन गर्ने, भ्रष्टाचारविरुद्ध आक्रोश व्यक्त गर्ने र अभिव्यक्ति स्वतन्त्रतामा गरिएको प्रतिबन्धको विरोध गर्ने अधिकार छ । नेपालको संविधान र अन्तर्राष्ट्रिय कानुनअनुसार यी अधिकारहरूको सम्मान गर्नु राज्यको दायित्व हो । राज्यले प्रदर्शनकारीहरूको सुरक्षा सुनिश्चित गर्नुपर्छ र उनीहरूलाई थप क्षतिबाट जोगाउन आवश्यक सबै उपायहरू अवलम्बन गर्नुपर्छ ।’ 

यस्तै, अस्ट्रेलिया, फिनल्यान्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत र संयुक्त राज्य अमेरिकाका नेपालस्थित दूतावासहरूबाट संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

‘हामी काठमाडौं तथा नेपालका अन्य स्थानहरूमा आज देखिएका हिंसात्मक घटनाप्रति गहिरो दु:ख व्यक्त गर्दछौँ । यी घटनाहरूका कारण ज्यान गुमाउने दु:खद अवस्था उत्पन्न भएको र कैयौँ घाइते भएकोमा हामी संवेदनशील भएका छौँ । पीडित परिवारजन, प्रभावित व्यक्तिहरूप्रति हामी हार्दिक समवेदना प्रकट गर्दछौँ । साथै, घाइते सबैलाई शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ,’ संयुक्त विज्ञप्तिमा छ, ‘हाम्रा सरकारहरूले शान्तिपूर्ण सभा र अभिव्यक्तिको स्वतन्त्रताको सार्वभौमिक अधिकारप्रति आफ्नो दृढ समर्थन पुन: व्यक्त गर्दछ । हामी सबै पक्षलाई अधिकतम संयम अपनाउन, परिस्थितिलाई थप बिग्रिन नदिई शान्तिपूर्ण तरिकाले समाधान खोज्न तथा यी मौलिक अधिकारहरूको पूर्ण संरक्षण सुनिश्चित गर्न आग्रह गर्दछौँ ।’