Skip This
सरोकारवालाहरूको निष्कर्ष : सरकारले अत्यधिक शक्ति प्रयोग गर्‍यो, घटना निन्दनीय छ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २४ मंगलबार
  • Tuesday, 09 September, 2025
प्रहरीको गोली लागेर घाइते नयाँ पत्रिकाकर्मी दिपेन्द्र ढुंगानालाई अस्पतालतर्फ लैजाँदै सहकर्मीहरू । 
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ २४ मंगलबार o९:१२:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सरोकारवालाहरूको निष्कर्ष : सरकारले अत्यधिक शक्ति प्रयोग गर्‍यो, घटना निन्दनीय छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ २४ मंगलबार o९:१२:oo

मानव अधिकार आयोग, पत्रकार महासंघदेखि सुरक्षा निकायका पूर्वपदाधिकारीहरूले जेन–जी प्रदर्शनमा सरकारले अत्यधिक शक्ति प्रयोग गरेको र सुरक्षा रणनीतिमा पनि असफल भएको निष्कर्ष निकालेका छन् ।

आयोग प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार कानुनबमोजिम कुनै पनि व्यक्ति वा समूहलाई संयमित रूपमा आफ्ना विमति राख्ने अधिकार छ । लोकतान्त्रिक सरकारले नागरिकका उचित आवाजहरूलाई समयमै पहिचान गरी त्यस प्रकारका विमतिका आवाजहरूको समयमै यथोचित सम्बोधन गर्नुपर्दछ । यस प्रकारका प्रदर्शनहरू तोडफोड र आगजनीमा बदलिनु र सुरक्षा निकायले अत्यधिक बल प्रयोग गर्नु दु:खद छ ।’

त्यस्तै, अत्यधिक बल प्रयोग नगर्न, पछिल्लो पुस्ताले उठाएका आवाजको यथोचित रूपमा समयमै सम्बोधन गर्न, मृतकका परिवारलाई तत्काल राहत र क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेहरूको नि:शुल्क उपचार गर्न र घटनाको निष्पक्ष छानबिन गर्न पनि माग गरेको छ । 

आयोगकी सदस्य लिली थापाले स्कुल युनिफर्ममा रहेकाहरूलाई समेत प्रहरीले टाउकोमा ताकेर गोली प्रहार गरेकाले घटना निन्दनीय भएको बताइन् । ‘घटना अति नै निन्दनीय छ । स्कुल युनिफर्म लगाएको बच्चाको टाउकोमा गोली हानिएको छ । सरकारले एक्सेसिभ पावरको प्रयोग गरेको देखिन्छ । जसबाट युवा उत्तेतिज भए । यो अत्यन्तै नराम्रो घटना भयो,’ उनले भनिन्, ‘सरकारले राम्रोसँग रणनीति बनाएको देखिएन । सोही कारण यति ठुलो घटना भयो । यो मानव अधिकार मात्रै होइन, नैतिकताको दृष्टिकोणबाट पनि निन्दनीय छ ।’

थापाले चेन अफ कमान्डमा रहेका व्यक्तिले सडकमा रहेका प्रहरीलाई गोली प्रहार गर्न आदेश दिँदा पनि यति ठुलो क्षति निम्तिएको बताइन् । ‘जो चेन अफ कमान्डमा थियो, उसले सडकमा रहेका प्रहरीलाई गोली हान्ने आदेश दियो । त्यसले युवालाई उत्तेजित बनायो । त्यसैले घटनाको जिम्मा सरकार र मातहतको नियकाले लिनुपर्छ ।’ 

सुरक्षा निकायका पूर्वअधिकारीहरूले पनि सरकारको लापरबाहीले जेन–जी प्रदर्शनमा मानवीय क्षति भएको निष्कर्ष निकालेका छन् । नेपाल प्रहरीका पूर्वएआइजी राजेन्द्रसिंह भण्डारीले काठमाडौंका सिडिओ छवि रिजालको अपरिपक्व निर्णय पनि मानवीय क्षति हुनेको अर्को कारण रहेको बताए । ‘सुरक्षा व्यवस्थापनमा ‘बे्रन एन्ड बेटन’ भन्ने सिद्धान्त हुन्छ । ब्रेनले रणनीति बनाउने हो । बेटनले फिल्डमा कार्यान्वयन गर्ने हो । सोमबारको प्रदर्शन ब्रेनमै समस्या देखियो । रणनीति बनाउनेहरूले जेन–जीको फ्रस्टेसनलाई बुझेनन् । न सुरक्षा संयन्त्रले सूचना नै संकलन गर्न सक्यो । त्यसैले वस्तुपरक रणनीति बनेन । जब प्रदर्शन भड्कियो, अनि गोली हान्ने आदेश भयो । यो सिडिओको केटाकेटी निर्णय हो ।’

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल पनि जेन–जी प्रदर्शनमा भएको मानवीय क्षतिमा सरकारकै कमजोरी रहेको बताउँछन् । प्रदर्शनअघि सूचना संकलन गर्न नसक्नु, प्रदर्शनको सही विश्लेषण नहुनु र त्यसअनुसार सुरक्षा संयन्त्र परिचालन गर्न नसक्नु सरकार र सुरक्षा संयन्त्रको कमजोरी रहेको डिआइजी मल्लको भनाइ छ । ‘यस्तो प्रदर्शन नेपालका लागि नयाँ हो । तर, अन्य मुलुकमा यस्ता प्रदर्शन भएका छन् । त्यहाँबाट पनि पाठ सिक्नुपथ्र्यो । जेन–जीले केही दिन अघिबाटै प्रदर्शन गर्ने भन्दै आएका थिए । उनीहरूले गरेका गतिविधिको सूचना संकलन गरिनुपथ्र्यो । त्यसको वस्तुपरक विश्लेषण हुनुपथ्र्यो । तर, त्यसो भएको पाइएन । जब प्रदर्शन भड्कियो, अनि गोली हान्ने आदेश भयो । जसले ठुलो मानवीय क्षति हुन पुग्यो,’ उनले भने, ‘यसमा सरकार र मातहतका सुरक्षा संयन्त्रको गम्भीर कमजोरी छ ।’ 

त्यस्तै, नेपाल पत्रकार महासंघले पनि प्रदर्शनमा गरिएको दमनप्रति विरोध जनाएको छ । महासंघले समाचार संकलनमा खटिएका वेला प्रहरीले चलाएको गोली लागेर चार पत्रकार घाइते भएको र एक सञ्चार गृहको भवनमा आन्दोलनकारीले ढुंगामुढा गरेको घटनाप्रति पनि निन्दा र भत्र्सना गरेको छ । महासंघ महासचिव रामप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शान्तिपूर्ण प्रदर्शन गर्न पाउने नागरिकको नैसर्गिक अधिकार हो । यद्यपि, प्रहरीले दमन गर्दा विकसित घटनाक्रमप्रति महासंघ सरोकार राख्दछ र चरम दमनको भत्र्सना गर्दछ । अत: प्रदर्शनकारीलाई शान्तिपूर्ण प्रदर्शनमार्फत आफ्ना माग राख्न, सरकारलाई दमनकारी नीति नलिन र वार्तामार्फत समस्याको समाधान खोज्न महासंघ अपिल गर्दछ ।’

प्रहरीको गोली लागी पत्रकारहरू नयाँ पत्रिकाका दिपेन्द्र ढुंगाना, कान्तिपुर टेलिभिजनका श्याम श्रेष्ठ, नेपाल प्रेसका उमेश कार्की र स्वतन्त्र पत्रकार शम्भु दंगाल घाइते भएका छन् । उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

पत्रकारमाथि गोली प्रहार भएकोमा जन्मदेव जैशी नेतृत्वको श्रमजीवी पत्रकार संघले पनि विरोध जनाएको छ । जैशीले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनका क्रममा भएको घटनामा आफ्नो कर्तव्यका लागि फिल्डमा खटिएका चार पत्रकार साथीहरू घाइते हुनुभएको खबरले हामी मर्माहत भएका छौँ । यस क्रूर हिंसाका लागि वर्तमान सरकार सम्पूर्ण रूपमा जिम्मेवार छ । यस्तो जघन्य परिस्थिति सिर्जना गर्न जिम्मेवार प्रधानमन्त्री, गृहमन्त्री, सञ्चार तथा सूचना प्रविधिमन्त्रीले सम्पूर्ण घटनाको जिम्मेवारी लिई तत्काल राजीनामा दिनुपर्छ ।’