
सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि सोसहित भ्रष्टाचारलगायतको विरोधमा कञ्चनपुरमा पनि जेन–जी पुस्ता आन्दोलित भएको छ।
सोमबार किशोरकिशोरी तथा युवायुवतीले महेन्द्रनगर बजारसहित सरकारी निकाय रहेका क्षेत्रमा विरोध प्रदर्शन गरेका हुन्। जेन–जी उमेर समूहका युवाहरूले सामाजिक सञ्जाल बन्द गरेर नागरिकको अभिव्यक्ति स्वतन्त्रताभन्दा भ्रष्टाचार बन्द गर्नुपर्ने माग गरेका छन्।
दुई वर्षदेखि विदेशी आतंकवादी समूहको नियन्त्रणमा रहेका विपिन जोशीको रिहाइ गर्न नसक्ने सरकारले सामाजिक सञ्जाल बन्द गरेर जनतामाथि अन्याय गरेको भन्दै त्यसकाे विरुद्धमा लागेको उनीहरूले प्रस्ट पारेका छन्।
जेन–जी समूहका युवा सुजित श्रेष्ठले सरकारले गर्न नहुने काम गरेर नागरिकमाथि अन्याय गरेको हुँदा सडकमा आएको बताए। सार्वजनिक निकायमा हुने अनियमितता, भ्रष्टाचारबारे सामाजिक सञ्जालबाट खबरदारी गर्दै आएका युवाहरू सामाजिक सञ्जाल नै बन्द भएपछि सडकमा आएको बताए।
अर्की युवती जानकी जोशीले सरकारले भ्रष्टाचार काण्ड लुकाउनकै लागि सामाजिक सञ्जालमार्फत जनताको मुख छोप्न लागेको बताइन्। ‘वडादेखि सिंहदरबारसम्मै भ्रष्टाचार छ,’ उनले भनिन्, ‘नागरिकले सरकारको सेवा र भ्रष्टाचारबारे सामाजिक सञ्जालमा गुनासो पोख्न थालेपछि सञ्जाल बन्द गर्दा सडकबाटै सरकारलाई चेतावनी दिन लागेका छौँ।’