मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 07 September, 2025
Invalid date format १६:५४:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

विपन्न परिवारका ९० जना सुत्केरी र गर्भवतीलाई खाद्य सामग्री वितरण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:५४:oo

सिराहाको लहान नगरपालिकाले मजदुरी गरेर जीविका चलाउँदै आएका गरिब दलित तथा विपन्न परिवारका गर्भवती तथा सुत्केरीहरूलाई खाद्य सामग्री वितरण गरेको छ।

गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य तथा गर्भमा रहेका शिशुलाई कुपोषण हुनबाट जोगाउन लहान नगरपालिका– १८, भदैयाका विभिन्न बस्तीका ९० जना सुत्केरी र गर्भवती महिलालाई पोषण प्याकेज वितरणअन्तर्गत आइतबार खाद्य सामग्री वितरण गरिएको हो। नगरप्रमुख महेशप्रसाद चौधरीले बिसनपुर गाउँमा पोषण प्याकेजअन्तर्गत खाद्य सामग्री वितरण गरेका हुन्।

नगरपालिकाले हरेक महिना नगरपालिकामा पर्ने फरक–फरक वडास्थित स्वास्थ्य चौकीको सिफारिसमा गर्भवती तथा सुत्केरीहरूलाई पोषण प्याकेजअन्तर्गत खाद्य सामग्री वितरण गर्दै आएको छ। पोषण प्याकेजमा चामल, दाल, नुन, तेल, चनालगायतका खाद्य सामग्रीसहित लामखुट्टेको टोकाइले हुने डेंगुलगायतका रोगबाट जोगिन झुलसमेत वितरण गरिएको हो।

खाद्य सामग्री वितरण गर्दै नगरप्रमुख चौधरीले गर्भवती र सुत्केरी महिलाको स्वास्थ्य सुनिश्चितता आफूहरूको पहिलो दायित्व भएको बताए। ‘खाद्य सामग्री वितरणमार्फत उनीहरूको पोषणको अवस्था सुधार गर्नुका साथै स्वास्थ्य सेवामा पहुँच सहज बनाउने मुख्य उद्देश्य हो,’ उनले भने, ‘आगामी दिनमा खाद्य सामग्री वितरणलाई अझ विस्तार गरिनेछ।’

स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य परीक्षण गराउने महिलालाई लक्षित गरेर पोषण प्याकेज वितरण भइरहेको लहान नगरका स्वास्थ्य शाखा प्रमुख विन्देश्वर चौधरीले बताए। ‘खाद्य सामग्री पाउने र आफ्नो स्वास्थ्यबारे समेत जानकारी हुने भएपछि पछिल्लो समय नियमित स्वास्थ्य जाँचमा सहभागी हुने गर्भवती तथा सुत्केरीको संख्या बढेको छ,’ उनले भने, ‘स्थानीय महिला स्वास्थ्य स्वयंसेविकाले वडा क्षेत्रमा रहेका गर्भवती र सुत्केरी महिलाको प्रारम्भिक तथ्यांक संकलन, व्यवस्थापन तथा सेवाको सहजीकरण गरिरहेका छन्।’

पाँच हजारजनाले पाए खाद्य सामग्री
स्थानीय तहको दोस्रो निर्वाचन हुनुअघि कोरोना महामारीको वेलादेखि नै व्यक्तिगत पहलमा स्थानीय दाताहरूको सहयोगअन्तर्गत गरिब, विपन्न, दलितहरूलाई खाद्य सामग्री बाँड्दै आएका नगरप्रमुख चौधरीले निर्वाचित भएपछि हरेक महिनाको २२ गते नगर क्षेत्रका विभिन्न वडामा गरिब, विपन्न तथा दलित परिवारका गर्भवती तथा सुत्केरीलाई खाद्य सामग्री वितरण गर्दै आएका छन्। 

‘नगरपालिकाअन्तर्गत २४ वटा वडा क्षेत्रमा बसोबास गर्ने गरिब, विपन्न, असहायसहित गर्भवती सुत्केरीले भोकै बस्न नपरोस् भन्ने उद्देश्यले नगरको वार्षिक नीति, कार्यक्रम तथा बजेटमै व्यवस्था गरी खाद्य सामग्री विरतणलाई निरन्तरता दिइएको हो,’ उनले भने, ‘म निर्वाचित भएपछि २४ वटै वडा क्षेत्रमा हरेक महिनाको २२ गते वितरण गर्दै आएको खाद्य सामग्री अहिलेसम्म करिब पाँच हजारजनाले पाइसकेका छन्।’