
मेची भन्सार कार्यालयका पूर्वप्रमुख केशरजंग खड्काको काठमाडौंको कोटेश्वरमा रहेको दुई रोपनी तीन आना दुई पैसा दुई दाम जग्गा जफत भएको छ । गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी फैसला कार्यान्वयनको क्रममा उनको जग्गा जफत भएको हो ।
भ्रष्टाचारबाट आर्जन गरेको ठहर गर्दै १३ वर्षअघि नै सर्वाेच्च अदालतले उनको सो जग्गा जफतका गर्ने फैसला गरेको थियो । कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले सो जग्गा आफ्नो नाममा ल्याएर हालै खाली गराएर संरक्षण गरेको हो । विभागका प्रवक्ता विश्वमित्र कुइँकेलका अनुसार १७ भदौमा सो जग्गामा अनुगमन गरी विभागको बोर्डसमेत राखिएको छ । ‘अदालतबाट भएको फैसला कार्यान्वयनको क्रममा सो जग्गा हाम्रो नाममा ल्याइएको हो,’ उनले भने ।
०५९ सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काविरुद्ध मुद्दा दायर गरेको थियो । विशेष अदालतले उनलाई एक वर्ष कैद र २५ लाख ३३ हजार ९१२ रुपैयाँ जरिवाना तोकेको थियो । १३ असार ०६९ मा सर्वाेच्चले कैद घटाउँदै जरिवाना बढाएको थियो । उनलाई नौ महिना कैद सजाय गर्दै त्यतिवेलाको सरकारी मूल्यांकनअनुसारको ३२ लाख ४० हजार रुपैयाँबराबरको सम्पत्ति जफत र सोबराबर जरिवानाको फैसला भएको थियो । त्यस्तै, उनको महोत्तरीको बहादुरगन्जस्थित दुई कठ्ठा १० धुर जग्गा पनि जफतको फैसला भए पनि कार्यान्वयन हुन सकेको छैन ।
भ्रष्टाचारलगायत मुद्दामा जफत गर्न भनेर अदालतले गरेका दर्जनौँ फैसला कार्यान्वयन हुन सकेको छैन । पूर्वमन्त्री खुमबहादुर खड्कालगायतको जग्गा दबाबको भरमा जफतको निर्णय रोकिँदै आएको छ । जफत गर्ने निर्णय भएका अन्य केही घरजग्गाको पनि खाली गराउने कामसमेत भएको छैन ।