
सरकारी स्वामित्वको नेपाल रि–इन्स्योरेन्सकाे अध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट सुरेन्द्र पौडेल नियुक्त भएका छन्। यसअघिका अध्यक्ष देवराज ढुंगानाले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पनि भएर दोहोरो पदको लाभ लिएको विषयमा चर्को विवाद भएपछि बराह क्षेत्र नगरपालिका– ७ सुनसरीका पौडेललाई नियुक्त गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ।
पौडेलले यसअघि आयल निगम लिमिटेडको कार्यकारी निर्देशक र उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा महाप्रबन्धक भएर जिम्मेवारी सम्हालिसकेका छन्। पौडेलले उदयपुर सिमेन्टमा दुईवर्षे कार्यकाल बिताउँदा पहिलोपटक नाफामा लगेका थिए। २५ वर्षपछि उनकै नेतृत्वमा उदयपुर सिमेन्ट आव ०७०/७१ मा दुई करोड र आव ०७१/७२ मा १२ करोड नाफामा लगेका थिए। उनको कार्यकाल सकिएपछि उद्योग पुनः निरन्तर घाटामा सञ्चालित छ। उनले दैनिक आठ सय टनसम्म सिमेन्ट उत्पादन गरेर पूर्ण क्षमता उपयोग गरेको उद्योग अहिले बन्द छ।
उदयपुर सिमेन्टमा कार्यकाल सकिनासाथ पौडेलले आयल निगमको कार्यकारी निर्देशकमा नियुक्ति पाएका थिए। तीनवर्षे कार्यकाल पूरा गरेर बाहिरिएका पौडेलले कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा बढी ९१ प्रतिशतसम्म अंक हासिल गरेका थिए। उनको पालामा मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको थियो भने डिपो सुधार र ठुला भण्डारण गृह निर्माणको सुरुवात भएको थियो। उनकै पहलमा १० हजार किलोलिटर क्षमताको भण्डारणगृह गण्डकी प्रदेशमा थपिएको छ।
नेपाल रि–इन्स्योरेन्समा अध्यक्ष पौडेलको सबैभन्दा ठुलो चुनौती पुँजी वृद्धि हुनेछ। बिमा प्राधिकरणले आगामी माघभित्र २० अर्ब चुक्तापुँजी कायम गर्नुपर्ने मापदण्ड तोकेको छ। सरकारले हकप्रद सेयर खुला गर्न अनुमति दिएको छैन। अर्कातिर, सरकारी सेयरबापतको रकम विनियोजन नगरेकाले पुँजी वृद्धिको निर्णय लागू हुन सकेको छैन।