मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 02 September, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format o६:o५:oo
Read Time : > 3 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

खानेपानीमन्त्री प्रदीप यादवलाई फोनबाट प्रश्न गर्दा किरण साह पक्राउ प्रकरण : कानुनको गलत व्याख्या गरेर जाहेरी, प्रहरी अनुसन्धानमाथि नै प्रश्न 

प्रहरीको ढोकामा उभिएर किरणकी आमाले सरकारलाई सोधिन्–पावर छ भन्दैमा त्यसै थुन्न पाइन्छ ?

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
Invalid date format o६:o५:oo

नागरिकको आक्रोशविरुद्ध सचिवालयमार्फत प्रहरीमा जाहेरी दिएका खानेपानीमन्त्री प्रदीपकुमार यादवले जाहेरीमा ‘कानुनको गलत व्याख्या’ गरेर आकर्षित नै नहुने दफा लगाएको पाइएको छ । मन्त्रीको जाहेरीका आधारमा पर्सा प्रहरीले पनि स्वेच्छाचारी अनुसन्धान गरिरहेको छ । 

वीरगन्जमा एक सातासम्म हैजा नियन्त्रणबाहिर रहेको तथा आफ्ना बुबा–आमासहितका परिवारका सदस्य अस्पताल भर्ना भएको भन्दै गुनासो गरेकी कलैया उपमहानगरपालिका– २६, सिस्वा महेशपुरकी किरण साहलाई शनिबार पर्सा प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । मन्त्री यादवले साहलाई थुनाउँदा विद्युतीय अपराध, संघीय सांसदलाई धम्की दिने र झुटा समाचार/अफवाह फैलाउनेसम्बन्धी कसुरमा उजुरी दिएका छन् । पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालका अनुसार मुलुकी अपराध संहिताको ०७४ को दफा ५८ को १ बमोजिमको कसुरमा पनि जाहेरी परेकाले त्यसमा अनुसन्धान भइरहेको हो । 

‘यो दफामा राष्ट्रपति वा सांसदलाई धम्की दिन नहुने उल्लेख छ । कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा ७० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यसमा पनि अनुसन्धान भइरहेको हो, प्रमाणित हुने, नहुने अदालतबाट थाहा होला ।’

तर, किरणको सवालमा यो दफा आकर्षित नै नहुने देखिन्छ । दफा ५८ को १ मा स्पष्ट उल्लेख छ,  ‘कसैले नेपालको राष्ट्रपति वा संसद्लाई संविधान तथा कानुनबमोजिम गर्नुपर्ने कार्यसम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाले कार्यसम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै दबाब दिनुहँुदैन ।’ यहाँ सांसद नभई संसद्लाई धम्की दिन नहुने र त्यो कसुरजन्य भनिएको हो । तर, मन्त्री यादवको सचिवालयले कानुनको गलत व्याख्या गरेर जाहेरी दिँदा प्रहरीले पनि त्यसैमा टेकेर अनुसन्धान गरिरहेको छ । 

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई मुलुकी अपराध संहिता, ०७४ को दफा ५८ मा भएको संसद् शब्दले सभालाई जनाउने बताउँछन् । ‘यस दफाको प्रयोजनका लागि संसद् भन्नाले नेपालको संविधानबमोजिमका संघीय संसद् र प्रदेश सभा सम्झनुपर्छ र सो शब्दले व्यवस्थापिका–संसद्लाई समेत जनाउँछ भनेर स्पष्टीकरणमै प्रस्ट भनेको छ,’ भट्टराईले भने, ‘यो दफामा संसद्लाई सांसद भनेर व्याख्या गर्न मिल्ने आधार देखिँदैन ।’

संवैधानिक कानुन व्यावसायिक मञ्चका अध्यक्ष, अधिवक्ता ओमप्रकाश अर्याल त राज्यका पदाधिकारीमाथि आक्रोश पोखेकै आधारमा कसुरजन्य नहुने बताउँछन् । ‘त्यो अवस्थामा आक्रोश आउनु स्वाभाविक हो, अभिव्यक्ति अशोभनीय भयो होला । तर, अशोभनीय अभिव्यक्ति कसुरजन्य हुन्छ भन्ने हुँदैन । कसुर कायम गरिहाल्नुहुँदैन । यो घटनाले राज्यका पदाधिकारी नागरिकप्रति अनुदार हुँदै गएको देखाउँछ । अदालतका बारेमा अशोभनीय बोल्दा त अवहेलना कायम भएको छैन !’ अर्यालले भने, ‘धम्की/अभिव्यक्तिको उद्देश्य रियल थ्रेट हो कि होइन भनेर हेर्नुपर्छ । सबै विषयमा अपराधीकरण गर्न मिल्दैन । राज्यका निकायमा बसेका पदाधिकारीले नागरिकलाई धम्की दिएको भए अर्काे पाटो हुन्थ्यो । यहाँ त नागरिकले आक्रोश पोखेको देखिन्छ ।’ 

मन्त्रीमाथि फोनबाट आक्रोश पोखेकै भरमा विद्युतीय अपराधसम्बन्धी कसुर र झुटा कुराको अफवाह फैलाएको कसुर पनि लगाउन आवश्यक नरहेको उनी बताउँछन् । ‘कार्यकारी पदमा बसेका राज्यका पदाधिकारीमाथि नागरिकको आक्रोश त हुन्छ नै, जनताको आक्रोश सुन्न नसक्ने भए पदमा नबसे भइहाल्यो नि,’ अधिवक्ता अर्यालले भने ।

प्रधानमन्त्रीले संसद्मै भनेका थिए– वीरगन्जमा कोलेरा आउटब्रेक, ३ जनाको निधन भएको, तर हैजाबाट मृत्यु भएको जानकारी मन्त्रीलाई गराउँदा ‘अफवाह फैलाएको’ कसुर

पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालका अनुसार खानेपानीमन्त्री प्रदीपकुमार यादवको सचिवालयबाट किरण साहविरुद्धको जोहरीमा उल्लेख भएको एउटा कसुर ‘झुटा समाचार/अफवाह फैलाएको’ भन्ने छ । ‘हैजाले मान्छे मरेको भनेर भनेका छन् । तीनजना मरेको कुरालाई, हैजाले मरेको भनेर क्लियर छैन,’ लम्सालले भने, ‘आममानिसमा त्रास फैलाउने गरी धेरै मान्छे मरेको भनिएको छ । यसमा अनुसन्धान भइरहेको छ ।’

किरण–मन्त्री यादव फोनवार्तामा किरणले ‘वीरगन्जमे केतना आदमी मरगैल हैजा के बजसे ? (वीरगन्जमा हैजाले कति मान्छे मरे ?) भनेकी थिइन् । मन्त्री यादवले ‘तथ्यांक छ ?’ भनेर सोधेका छन् । किरणले डाटा ना, खुद घरके आदमी आइसियूमे भर्ती बाटे मन्त्रीजी, साफे नु, छोडेम ना, ज्यान मार देम, डर नैखे लागत । (तथ्यांक होइन, मेरो घरकै मान्छे आइसियूमा भर्ना छ, मन्त्रीजी । मैले छोड्दिनँ, मलाई डर लाग्दैन) भनेकी थिइन् ।

तर,  वीरगन्जमा फैलिएको हैजाबाट तीनजनाको मृत्यु भएको जानकारी स्वयं प्रधानमन्त्री केपी ओलीले १३ भदौमा संसद्लाई दिएका थिए । चीन भ्रमणबारे जानकारी दिने क्रममा ओलीले हैजा नियन्त्रणका लागि मन्त्रिपरिषद्बाट भएका निर्णयबारे जानकारी दिने क्रममा हैजाबारे बताएका थिए ।  ‘यति वेला वीरगन्जमा कोलेरा आउटब्रेक भएको छ । जसले गर्दा जनतामा भयको वातावरण, पीडा र क्षतिको पनि वातावरण बनिरहेको छ । अहिलेसम्म जम्मा ६२४ जनामा कोलेरा संक्रमण भइसकेको छ । जसमध्ये ४३७ जना स्वास्थ्य लाभ गरेर निको भइसक्नुभएको छ । अहिले पनि एक्टिभ केसहरू १८७ वटा छन् । गएको २४ घण्टामा ८४ वटा केसहरू थपिएका छन् । दु:खद कुरा यसबिचमा ३ जनाको निधनसमेत भएको छ,’ उनले भनेका थिए ।

तर, हैजाबाट मृत्यु भएको भनेर किरणले खानेपानीमन्त्रीलाई जानकारी गराउँदा भने अफवाह फैलाइएको कसुर आकर्षित गरिएको छ । ‘मन्त्रीज्यूको सचिवालयबाट आएको जाहेरीका आधारमा तीनवटा कसुरमा अनुसन्धान भइरहेको छ । मन्त्रीज्यूलाई धम्की दिएको अडियो प्राप्त भइसकेको छ,’ उनले भने, ‘अनुसन्धान हुँदै जाँदा कुन–कुन कसुर आकर्षित हुन्छन्, त्यही आधारमा मुद्दा चल्छ । ठहर हुने/नहुने त अदालतबाट हो ।’

शनिबारबाट प्रहरी हिरासतमा रहेकी किरणलाई मंगलबार अदालत उपस्थित गराइँदै छ । ‘तीन दिन म्याद थप भएको थियो, मंगलबार फेरि म्याद थपका लागि अदालत लैजान्छौँ,’ उनले भने । 

प्रहरीको ढोकामा उभिएर किरणकी आमाले सरकारलाई सोधिन्–पावर छ भन्दैमा त्यसै थुन्न पाइन्छ ?
वीरगन्जमा हैजा र झाडापखाला फैलिएपछि खानेपानीमन्त्री प्रदीप यादवलाई फोन गरेर प्रश्न गरेकी किरण साहलाई पक्राउ गरिएपछि उनकी आमा सावित्री साह सोमबार पर्सा जिल्ला प्रहरी कार्यालयअगाडि पुगेर सरकारलाई प्रश्न गरेकी छिन्– पावर छ भन्दैमा त्यसै थुन्न पाइन्छ ?

छोरीको रिहाइका लागि दबाब दिन प्लेकार्ड बोकेर प्रहरीको ढोकाअगाडि पुगेकी उनलाई जसपा नेपालकी केन्द्रीय सदस्य करिमा बेगम, जनमत पार्टीकी नेतृ नजमा खातुनसहित विभिन्न संघ/संगठनका प्रतिनिधिले पनि साथ दिएका थिए ।

‘मन्त्री (प्रदीप यादव)ले पद र पावरको आडमा मेरी छोरीलाई पक्राउ गर्न लगाएको हो, पावर छ भन्दैमा त्यसै थुन्न पाइन्छ ?’ सावित्रीले चेतावनी दिइन्, ‘किरणले सबै नागरिकको आवाज मन्त्रीसँग उठाएकी हुन् । तत्काल प्रहरीले रिहा नगरे अझ धेरै महिलाको उपस्थितिमा प्रदर्शन हुन्छ । सरकारले त्यो अवस्थामा नपुर्‍याओस् ।’

आफूहरू बिरामी भएर अस्पतालमा भर्ना भएका वेला कुरुवा बसेकी छोरीलाई पक्राउ गरिएको भन्दै सावित्रीले कान्छी छोरी अझै अस्पतालमै रहेको बताइन् । तर, यस्तो संवेदनशील विषयमा पनि नेताहरूले नै अफवाह फैलाएको उनको गुनासो छ ।

‘अहिले पनि कान्छी छोरी सम्झा अस्पतालमै छिन् । तर, नेताहरूले अस्पतालमा कोही भर्ना नरहेको भन्दै अफवाह फैलाएका छन्,’ उनले भनिन्, ‘म आइतबार मात्रै डिस्चार्ज भए पनि स्वास्थ्य अवस्था सहज छैन ।’

छुटाउनुभयो की ?