मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 28 August, 2025
Invalid date format १२:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डडेल्धुरामा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु, ६ जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:o२:oo

डडेल्धुराको नवदुर्गा गाउँपालिकामा जिप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिपचालकसहित ६ जना यात्रु घाइते भएका छन् । से.१ज ७३८ नम्बरको जिप नवदुर्गा– ५, चौडमा बिहान सवा नौ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परेर जिपमा सवार नवदुर्गा– ५ का १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक डम्बर विष्टले जानकारी दिए ।

दुर्घटनामा परेर जिपचालक नवदुर्गा– ५ का ३५ वर्षीय रामबहादुर साउद, सोही ठाउँका १८ वर्षीया सुशीला विक, चार वर्षीया बालिका प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद, ४२ वर्षीय गणेशबहादुर साउद र ४४ वर्षीय प्रकाश विक घाइते भएकाे प्रहरीले जनाएको छ ।

निजी गाडीबाट सदरमुकाम पुर्‍याइएका घाइते चालक साउदलाई थप उपचारका लागि धनगढी पठाइएको प्रहरी निरीक्षक विष्टले जानकारी दिए । अन्य घाइतेहरूलाई एम्बुलेन्सबाट डडेल्धुरा अस्पताल ल्याइँदै छ ।

नवदुर्गा गाउँपालिका– ५, ठाटाबजारबाट डडेल्धुरा सदरमुकामतर्फ आउँदै गरेको उग्रतारा यातायातको उक्त जिप दुर्घटनामा परेको हो । घटनास्थलमा ६ जना घाइते भेटिएकाे उल्लेख गर्दै प्रहरी निरीक्षक विष्टले पानी परेका कारण कच्ची बाटो चिप्लो भएर जिप सडकबाट खसेको हुन सक्ने बताए ।