
कैलालीको खुटिया नदीमा नुहाउने क्रममा डुबेर चार किशोरको मृत्यु भएको छ । गोदावरी नगरपालिका–९, शेहरीस्थित खुटिया नदीको झोलुङ्गे पुलमुनि बिहीबार दिउँसो नुहाउने क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो । मृतक दुईजना दाजुभाइ हुन् ।
धनगढी उपमहानगरपालिका–४, उत्तरबेहडीका १७ वर्षीय जाबेज भण्डारी र जेब भण्डारी, धनगढी–५, तारानगरका १७ वर्षीय सक्षम जोशी र धनगढी–५, हसनपुरका १७ वर्षीय प्रतिक चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक जाबेद र जेब दाजुभाइ हुन् । सँगै नुहाउन गएका तीन किशोर भने सकुसल छन् ।
मध्याह्न करिब १२ बजेतिर नदीमा डुबेर बेपत्ता भएका उनीहरूको शव अपराह्न साढे चार बजेतिर फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले बताए । प्रहरीका अनुसार नुहाउने क्रममा नदी पारी पुगेका उनीहरू एकअर्काको हात समातेर वारी आउने क्रममा डुबेका हुन् । हात छुटेका तीनजना भने सकुसल छन् ।
‘झोलुङ्गे पुलमुनि नुहाउने क्रममा उनीहरू नदी पारी गएछन् । पुलमुनि पानी पनि घुँडासम्ममात्र थियो । नदी पारी बालुवामा केहीबेर बसेर उनीहरुले जंगफुड पनि खाएछन्,’ प्रहरी नायब उपरीक्षक चन्दले भने, ‘पुलको करिब सय मिटर माथि एकअर्काको हात समात्दै फर्कने बेला चारजना डुबे, हात छुटेर तीनजना बाँचे ।’
बेपत्ता किशोर खोज्न गोताखोरसहित शसस्त्र प्रहरी तथा नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । चारै जनाको शब पोष्टमार्टका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । दर्दनाक घटनापछि आफन्त र स्थानीय शोकमा डुबेका छन् ।