
नेपाल र भारतबिचको द्विपक्षीय आर्थिक सहयोगलाई अझ तीव्र र परिणाममुखी बनाउने विषयमा वीरगन्जमा नेपाल–भारत आर्थिक साझेदारी शिखर सम्मेलन २०२५ बुधबार सम्पन्न भएको छ। प्रधाननन्त्री केपी ओलीको भारत भ्रमणको पूर्वसन्ध्यामा आर्थिक शिखर सम्मेलन आयोजना भएको हो ।
फेडेरेसन अफ इन्डियन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको भारत–नेपाल केन्द्रले भारतीय महावाणिज्य दूतावास, वीरगन्ज नेपाल–भारत चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (निक्की)को वीरगन्ज च्याप्टर्स र नाडा अटोमोबाइल एसाेसिएसन अफ नेपाल, मधेश प्रदेशसँगकाे सहकार्यमा शिखर सम्मेलन आयोजना गरिएको हो।
कार्यक्रममा नेपाल र भारतका उद्योगपति, वाणिज्य संघसंगठनका पदाधिकारी तथा बिहारलगायत भारतका सीमावर्ती राज्यका वाणिज्यमण्डलका प्रतिनिधिहरूको सहभागिता रहेकाे थियाे ।
कार्यक्रममा वीरगन्जस्थित भारतीय महावाणिज्य दूत देवीसहाय मीणाले भारत–नेपाल आर्थिक तथा व्यापारिक सम्बन्धबारे संक्षिप्त अवलोकन प्रस्तुत गरे । उनले नेपालका व्यवसायीहरूले भारतीय व्यवसायीहरूसँग सहकार्य गरेर ठुलो लाभ लिन सक्ने अवसरहरू प्रचुर मात्रामा रहेकाे उल्लेख गरे । आपसी सहकार्यले दुवै देशको साझा समृद्धिमा टेवा पुर्याउने उनकाे भनाइ थियाे ।
मधेश प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साहले नेपालको आर्थिक रूपान्तरणका लागि भारतले नेपालको लगानी आकांक्षामा गम्भीर विचार गर्नुपर्ने आवश्यकता रहेकाे बताए । उनले पर्यटन, खाद्य प्रशोधन र नवीकरणीय ऊर्जा क्षेत्रमा मधेश प्रदेश सरकारले परिणाममुखी पहल गरिरहेको बताए।
एनआइसिसिआई वीरगन्ज च्याप्टरका अध्यक्ष अभिषेक चौधरीले भारत–नेपाल केवल भौगोलिक मात्र नभई इतिहास, संस्कृति र साझा आकांक्षाले पनि जोडिएकाे बताए । आजको दिन व्यापार घाटाबाट बाहिर निस्केर दुवै देशलाई लाभ हुने अवसरहरू खोज्नु जरुरी रहेकाे उनले भनाइ थियाे ।
पिएचडिसिसिआई भारत–नेपाल केन्द्रका सचिव अतुलकुमार ठाकुरले हालैका उच्चस्तरीय भ्रमण र सहकार्यले भारत–नेपालबिचको भौतिक, डिजिटल, ऊर्जा र जनस्तरको सम्पर्कलाई अभूतपूर्व गति दिएको बताए। उनले रेल, सडक, पुल, एकीकृत जाँच चौकी, पेट्रोलियम पाइपलाइन, जलविद्युत् परियोजना तथा डिजिटल वित्तीय प्रणालीमा भइरहेको प्रगतिको चर्चा गरेका थिए । ठाकुरले भने, ‘नेपालले गत वर्षदेखि भारतीय युपिआई भुक्तानी प्रणालीलाई फोन पे क्युआरमार्फत प्रयोग गर्न थालेको छ, जसले दुवै देशबिच वित्तीय प्रविधि क्षेत्रमा नयाँ युगको सुरुवात गरेको छ ।’