
प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान पाउनुपर्ने माग राखेर आन्दोलित उखु किसानले बिहीबार पनि माइतीघरमा धर्ना दिने जनाएका छन् । आइतबारदेखि निरन्तर माइतीघरमा धर्ना दिइरहेका किसानलाई राजनीतिक दलहरूले पनि समर्थन जनाएका छन् ।
बुधबार दिउँसो माओवादी केन्द्रका गिरिराजमणि पोखरेल, नेपाली कांग्रेसका एनपी साउदलगायतका नेताहरूले भेटेर किसानको मागमा ऐक्यबद्धता जनाएका छन् । माओवादी नेता जनार्दन शर्माले सामाजिक सञ्जालमार्फत किसानको माग छिटो पूरा गर्नुपर्ने धारणा राखेका छन् । उखु उत्पादक किसान महासंघका संयोजक श्यामबाबु रायले बिगतदेखि पाइरहेको प्रतिक्विन्टल ७० रुपैयाँ सरकारी अनुदान चालू आव ०८२–८३ देखि खोसिएको र गत आव ०८१/८२ मा क्रसिङ भएको उखुको परिमाणअनुसार ३५ रुपैयाँका दरले मात्रै अनुदान दिने सरकारी निर्णयको विरोधमा आन्दोलन थालेको बताए ।
‘प्रतिक्विन्टल ७० रुपैयाँ सरकारी अनुदान सुनिश्चित नभएसम्म आन्दोलन रोकिँदैन,’ उनले भने । मोरङ, सुनसरी सिराहा, सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी र कञ्चनपुरका करिब ६ सय किसान आन्दोलनका लागि काठमाडौंमा भेला भएको उनले जानकारी दिए । बिहीबार दिउँसो कृषिमन्त्री रामनाथ अधिकारी र अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग वार्ता गर्ने तयारी भइरहेको रायले बताए ।
कृषि मन्त्रालयले भने गत आव क्रसिङ भएको उखुको परिमाणअनुसार प्रतिक्विन्टल ३५ रुपैयाँका दरले ७५ करोड ४९ लाख ३८ हजार २ सय ४० रुपैयाँ अनुदानबापतको रकम मंगलबार निकासा गरिसकेको जनाएको छ । उक्त रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा पुग्ने व्यवस्था मिलाइएको छ ।
सो रकम लिएर तत्काललाई आन्दोलन स्थगित गर्न कृषि मन्त्रालयद्वारा गठित वार्ता टोलीले बुधबार किसान प्रतिनिधिलाई प्रस्ताव गरेको थियो । तर, किसान प्रतिनिधिले आधा रकम लिएर घर नफर्कने जवाफ दिएर आन्दोलनरत छन् ।