मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ११ बुधबार
  • Wednesday, 27 August, 2025
२o८२ भदौ ११ बुधबार १८:२o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

बुङचुङ सामुदायिक स्वास्थ्य इकाइ दुई सातादेखि कार्यालय सहयोगीकै भरमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ११ बुधबार १८:२o:oo

धादिङको सिद्धलेक गाउँपालिका–४ मा रहेको बुङचुङ सामुदायिक स्वास्थ्य इकाई कार्यालय सहयोगीको भरमा सञ्चालन भइरहेको छ। स्वास्थ्यकर्मीहरु बिदामा बसेपछि करिव दुई सातादेखि स्वास्थ्य इकाई कार्यालय सहयोगीको भरमा चलेको हो।

सिद्धलेक गाउँपालिका–४ खर्कगैराका केशरी गिरी दुखेको घुँडाको उपचारका लागि बुङचुङ सामुदायिक स्वास्थ्य इकाईमा आएका थिए। चर्काे घाममा असिनपसिन भएर फर्कँदै गरेका उनले स्वास्थ्य इकाईमा औषधि र स्वास्थ्यकर्मी दुवै नपाएको गुनासो गरे। उनले भने, ‘घुँडा दुखेर एक घण्टा लगाएर आएको। न स्वास्थ्यकर्मी भेटेँ, न त औषधि पाइयो। कार्यालय सहयोगी मात्र रहेछ, कार्यालय खोलेर मात्र के काम। बन्द गरे हुन्छ, बेकारमा खुल्ला छ भनेर आउनेलाई सास्ति मात्रै।’

बुङचुङ सामुदायिक स्वास्थ्य इकाईमा भनेको बेला सिटामोल समेत नपाइने स्थानीय सविना सिलवाल बताउँछिन्। ‘छैन भनौँ भने घर आँगन नजिकै स्वास्थ्य इकाई छ। छ भनौँ भने केहि सेवा पाइँदैन,’ उनले भनिन्, ‘विहान आँखा खुलेदेखि नसुतुन्जेलसम्म घर अगाडी स्वास्थ्य इकाई छ। विरामी भयो भने धादिङबेसी कुद्ने हो कि मलेखु पुग्नुपर्ने हो थाहा छैन। पहिलेभन्दा अहिले सेवामा चरम लापरबाही छ।’

त्यस्तै, ज्ञानु आचार्य पनि स्वास्थ्य इकाईले नागरिकको स्वास्थ्यमाथि चरम लापारबाही गरेको बताउँछिन्। ‘मेरो त घरमा वृद्धवृद्धा बाआमा बस्नुहुन्छ। विरामी भएर औषधि लिन जाँदा केही पाइँदैन। २÷२ जना स्वास्थ्यकर्मीहरु हुँदा पालैपालो विदा बसेर सेवा दिनुपर्ने हो। गाउँपालिका पनि के हेरेर बस्छ खै ?’ उनले गाउँपालिकालाई प्रश्न गरिन्।

कार्यालय सहयोगीलाई औषधि विक्रि वितरण तथा स्वास्थ्य सेवा प्रवाह गर्ने अधिकार छैन। तर, छोरी विरामी भएको समयमा सिटामोल लिएर गएको बासुदेव सिलवाल बताउँछन्। ‘कार्यालय सहयोगीले औषधि दिन नमिल्ने हो। तर, स्वास्थ्यकर्मी हप्तौँ हुदा पनि विदामा छन्। नजिकै रहेको स्वास्थ्य संस्था छाडेर कहाँ जानु ?’ उनले भने, ‘चिकित्सकविना अरुले औषधि दिँदा विरामी तलमाथि भए को जिम्मेवार ?’ उक्त स्वास्थ्य इकाईमा म्यााद गुज्रिएका औषधिहरु समेत भेटिने उनको भानाइ छ।

साउनको २३ गतेदेखि अहेव सुवना घले विदामा छिन्। साउनकै २९ गतेदेखि अनमी दिपा पराजुली पनि विरामी भएर विदामा बसेपछि बुङचुङ सामुदायिक स्वास्थ्य इकाई करिव दुई सातादेखि स्वास्थ्यकर्मीविहिन बनेको हो।

स्वास्थ्यकर्मीहरु विदामा भएपनि कार्यालय सहयोगी कौशिला सिलवालले कार्यालय समयमै खोल्ने र बन्द गर्ने गरेको बताउँछिन्। ‘दैनिक १५ जना भन्दा माथि विरामी आउँछन्। कहिले त ५० जनासम्मलाई सेवा दिएका छौं,’ उनले भनिन्, ‘इमर्जेन्सीका विरामी आयो भने अहिले पालिका पठाइदिन्छु। मैले औषधि दिन मिल्दैन। म त अफिस खोल्ने, सरसफाइ गर्ने बस्ने अनि बन्द गरेर जाने हो।’
 
बुङचुङ सामुदायिक स्वास्थ्य इकाईमा सिद्धलेक गाउँपालिकाका वडा नम्बर १, ४, ५ र ६ का करिव एक हजार घरपरिवारले सेवा लिँदै आएका छन्।स्थानीय बासुदेव सिलवाल भन्छन्, ‘बुङचुङ, खर्क गैरा, बैरेनी, फाकफुक, स्याखुटार, आपटार, काम्राङ, कत्लेडाँडा, माबिखोला फिस्टार, नयाँ बस्तीलगायतका ठाउँबाट यस स्वास्थ्य इकाईमा सेवा लिन आउँछन्। गाउँपालिकाको आडैमा रहेको स्वास्थ्य इकाईको हालत त यस्तो छ अन्य ठाउँको झन् कस्तो होला,’ उनले भने।

सिद्धलेक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले शुक्रबारदेखि स्वास्थ्यकर्मीसहितको सेवा प्रवाह हुने बताए। ‘स्वास्थ्यकर्मीसहितको सेवाग्राहीको माग र कार्यालय सहयोगीले दिएको औषधि सेवनपछि विरामी तलमाथि भए को जिम्मेवार भन्ने सेवाग्राहीको प्रश्न जायज छन्। सुवनाको एक साताको विदा थियो। दिपाजी विरामी भएर जानुभएको हो,’ उनले भने, ‘उहाँहरुले विदा लिएको दिन भन्दा बाहेकका विदा रहेको दिनको तलव पाउनुहुन्न। सेवाग्राही मारमा परेकै हो। उहाँहरु शुक्रबारबाटै हाजिर हुने र नागरिकले स्वास्थ्य सेवा सहज रुपमा पाउँछन्।’