
माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वऊर्जा र अर्थमन्त्री वर्षमान पुन अनन्तले आफूहरुको सरकारले लिएको नीतिका कारण मुलुक जलविद्युत क्षेत्रमा आत्मनिर्भर बनेको बताएका छन् ।
बुधबार राजधानीमा आयोजित पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय ऊर्जा संवाद कार्यक्रममा पुनले नेपाललाई जलविद्युतमा आत्मनिर्भर बनाउने काम आफूहरुले गरेको बताए ।
नीतिगत निरन्तरताका कारण जलविद्युत क्षेत्रमा उल्लेख्य प्रगति भएको उनको भनाइ थियो । प्रचण्ड नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले २० वर्षअघि लिएको नीतिगत निरन्तरता ऊर्जा क्षेत्रमा अझै रहेको बताए । सोही नीतिका कारण जलविद्युत उत्पादन बढेको र मुलुक लोडसेडिङ मुक्त भएको पुनले उल्लेख गरे ।
‘नेपालमा नीतिगत निरन्तरता छैन भन्ने गरिन्छ । तर उर्जा क्षेत्र खासगरी जलविद्युत क्षेत्रमा, नविकरणीय उर्जाको क्षेत्रमा नीतिको निरन्तरता छ । झन्डै दुई दशकदेखि एउटै नीति छ । जसको परिणाम आज हामी कुनै बेला १८ घण्टासम्म लोडसेडिङ हुने देशमा थियौँ, त्यो अन्त्य भयो ।’
नीतिगत निरन्तरताले गर्दा नै विद्युत छिमेकमा निर्यात गर्ने वातावरण बनेको उनले औंल्याए । पुनले नदी प्रवाह (आरओआर) मा आधारित आयोजनाले मात्र भविष्यमा माग धान्न नसक्ने भएकाले जलाशययुक्त आयोजनामा जोड दिइनुपर्ने बताए । हिउँदमा माग धान्न नसक्ने अवस्थाको अन्त्य गर्न पनि जलासययुक्त आयोजनामा जानैपर्नेमा उनले जोड दिए ।
विद्युत निर्यातका लागि भारत र बंगलादेशजस्ता क्षेत्रीय बजारका ढोका खुलिसकेकाले उत्पादित विद्युत बिक्रीका लागि बजारको अभाव नहुनेमा निजी क्षेत्रका विद्युत उत्पादकहरुलाई आश्वस्त तुल्याए ।