मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १० मंगलबार
  • Tuesday, 26 August, 2025
रमेश सुवेदी काठमाडाैं
२o८२ भदौ १० मंगलबार ११:o५:oo
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

महिला लिग छनोटमा ह्याट्रिक गर्ने चार खेलाडी 

Read Time : > 2 मिनेट
रमेश सुवेदी, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १० मंगलबार ११:o५:oo
  • राष्ट्रिय महिला लिग छनोटमा २० खेल सकिँदा चार खेलाडीले ह्याट्रिक गरेका छन् । लिगमा अहिलेसम्म ७० गोल पूरा भएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा भइरहेको राष्ट्रिय महिला लिग छनोटको आधा चरण सकिँदै छ । राष्ट्रिय महिला लिग खेल्ने लक्ष्यका साथ छनोट चरणमा १४ क्लब सहभागी छन् । छनोट खेलमा अहिलेसम्म ४३ मध्ये २० खेल सकिँदा चार खेलाडीले ह्याट्रिक गरेका छन् । लिगमा स्टुडेन्ट्स फुटबलकी सविना तामाङ, झापा एएफसीकी इमा राई, न्युरोड टिम (एनआरटी)की सजिना स्याङ्तान र आरएस रिसोर्टकी सरिता विकले ह्याट्रिक गरेका छन् ।

पहिलो चरणमा ७० गोल भएको छ । प्रतिखेल औसत ३.५ रहेको छ । यो लिगबाट पाँच टिम महिला लिगमा छनोट हुनेछन् । दुई समूहका दुई विजेता र उपविजेता सीधै महिला लिगमा छनोट हुनेछन् । दुई समूहका तेस्रोबिचको विजेताले महिला लिगमा स्थान बनाउने एन्फाले जनाएको छ । यसपटक महिला लिगमा सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आबद्ध संकटासहित न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज युनाइटेडले पनि प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल सुपर लिगको फ्रेन्चाइज क्लब झापा एफसी र बुटवल लुम्बिनीको सहभागिता रहेको छ । राष्ट्रिय लिगमा छनोटका लागि सञ्चालन भइरकेको प्रतियोगितामा अहिलेसम्म ह्याट्रिक गरेका खेलाडी यस्ता छन् । 

सविना तामाङ (स्टुडेन्ट्स फुटबल)
महिला लिग छनोटमा सविना ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । काठमाडौंको स्टुडेन्ट्सबाट खेलिरहेकी सविनाले सिन्धुपाल्चोक फुटबल क्लबविरुद्ध पाँचौँ खेलमा लिगकै पहिलो ह्याट्रिक गरिन् । यस खेलमा स्टुडेन्ट्सले सिन्धुपाल्चोकलाई ३–१ ले हराएको थियो । स्टुडेन्ट्सको जितमा तीनै गोल सविनाले गरेकी थिइन् । उनले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरिन् । उनले पहिलो हाफको इन्जुरी समयमामा एक गोल गरेकी थिइन् । त्यसपछि खेलको ७४औँ र ८८औँ मिनेटमा गोल गर्दै प्रतियोगिताकै उनी पहिलो ह्याट्रिक खेलाडी गर्ने खेलाडी बनिन् । उनले समग्रमा लिगमा पाँच गोल गरेकी छिन् । उनले छहारी युवा क्लब र रियलेविरुद्ध समान एक गोल गरेकी थिइन् ।

इमा राई (झापा एफसी)
झापा एफसीकी इमा महिला लिग छनोटमा ह्याट्रिक गर्ने दोस्रो खेलाडी हुन् । उनले कास्कीको नेपाल वेस्ट म्यानेजमेन्ट महिलाविरुद्ध एक्लै तीन गोल गरेकी थिइन् । उनले खेलको २५औँ, ५७औँ र ९०औँ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरिन् । लिगको छैटौँ खेलमा झापा ७–० ले विजय हुँदै महत्वपूर्ण तीन अंक बटुलेको थियो । इमा मोरङकी खेलाडी हुन् । झापा नेपाल सुपर लिग क्लबको क्लब हो । पुरुष फुटबलपछि झापाले महिला टोली बनाएको हो । 

सरिता विक (आरएस रिसोर्ट)
आरएस रिसोर्ट एन्ड बिच क्लबबाट सरिताले महिला लिग छनोट खेलिरहेकी छिन् । यो क्लब पहिलोपटक महिला लिग छनोट खेलिरहेको हो । छनोट चरणको १९औँ खेलमा आरएसले सिन्धुपाल्चोकविरुद्ध ८–३ ले हराएको थियो । जसमा सरिताले ह्याट्रिक पूरा गरेकी हुन् । सगम्रमा लिगको यो चौथो ह्याट्रिक हो । उनले सिन्धुपाल्चोकविरुद्ध पहिलो हाफमा एक गोल गरेकी थिइन् । दोस्रो हाफमा उनले तीन गोल गरिन् । सरिताले खेलको ३९औँ, ७०औँ, ८५औँ र ८८औँ मिनेटमा गोल गरिन् । यस खेलमा इशा चौधरीले दुई गोल गर्दा सलिना सरु र तुलसी शाहीले समान एक गोल गरेका थिए ।

सजिना स्याङ्तान (एनआरटी)
सजिना महिला लिग छनोटमा तेस्रो ह्याट्रिक गर्ने खेलाडी हुन् । एनआरटीले कैलालीको लम्की ट्रेनिङ सेन्टलाई ७–२ ले हराउँदा सजिनाले ह्याट्रिक गरेकी थिइन् । उनले अहिलेसम्म प्रतियोगितामा चार गोल गरेकी छिन् । लम्कीविरुद्ध सजिनाले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरेकी थिइन् । खेलको ११औँ मिनेटमा पहिलो गोल गरेकी उनले ६७औँ र ८५औँ मिनेटमा गोल गर्दै ह्याट्रिक लगाइन् । लम्कीविरुद्ध प्रतीक्षा ठकुरी र टासी लामा शेर्पाले समान दुई गोल गरेका थिए । नेपाल खेलकुदविरुद्ध ३–१ को जित निकाल्दा सजिनाले एक गोल गरेकी थिइन् । ए डिभिजन लिगमा आबद्ध एनआरटी क्लब महिला लिग खेल्ने दोस्रो क्लब हो । संकटाले लगातार दोस्रोपटक लिग खेलेको छ ।