मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 26 August, 2025
रामकृष्ण थापा सिन्धुपाल्चोक
Invalid date format ११:५२:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

खासामा अड्किए १५ सय कन्टेनर : दसैँलक्षित सामान बोकेका ४५० गाडी समयमै आउन मुस्किल

Read Time : > 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
नयाँ पत्रिका
Invalid date format ११:५२:oo

तातोपानीको कोदारीस्थित इको क्षेत्रमा नियमित गइरहने पहिरोले नेपालको आयातमा ठुलो असर परेको छ । २४ असारको बाढीले रसुवा–केरुङ सम्पर्कविच्छेद भएपछि त्यसको चाप स्वाभाविक रूपले तातोपानी नाकामा पारेको हो ।

तीन सातादेखि बन्द इको क्षेत्रमा नयाँ ट्र्याक निर्माण गरेर केही दिनदेखि कन्टेनर पास गरिएको थियो । तर, आइतबारको वर्षाले फेरि सोही क्षेत्रमा पहिरो गएकाले सडक अवरुद्घ छ । सडक डिभिजन कार्यालय चरिकोटले बन्द सडक खुलाउन प्रयत्न जारी राखे पनि साँघुरो भूगोल र वर्षाले समस्या थपिएको जानकारी दिएको छ । इको क्षेत्रमा रहेको एउटा अप्ठ्यारो उकालो चढ्न नसकेर कन्टेनर जाम हुने गरेका छन् ।

नजिकिँदै गरेको दसैँ र तिहारका लागि ल्याइएका सामग्री लगभग चार सय ५० चिनियाँ कन्टेनर मितेरीपुलदेखि न्यालमसम्म लाइनमा छन् । नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष रामहरि कार्कीका अनुसार दसैँका लागि ल्याइएका फलफूल, लत्ताकपडा र जुत्ता–चप्पल बोकेका चिनियाँ कन्टेनर चार सय ५० जति खासा क्षेत्रमा छन् । चिनियाँ कन्टेनर एउटामा नेपाली दुई कन्टेनर सामान हुन्छ । वाणिज्य संघले ल्हासास्थित महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलासँग कुरा गरेर चिनियाँ पक्षलाई नेपाल पठाउने कन्टेनर संख्या वृद्धि गर्न अनुरोध गरेको कार्कीले बताए । खासा भन्सारले कन्टेनर संख्या बढाउने भने पनि नेपालतर्फ तातोपानीमा पहिरोले सडक अवरुद्ध भएकाले आयातमा समस्या देखिएको उनले प्रस्ट्याए । ‘हामीले संख्या बढाऊ त भन्यौँ । तर, नेपालतर्फ नै समस्या छ,’ उनले भने । कार्कीका अनुसार बाढी जानुअघि केरुङमा आएका चार सय कन्टेनर रेडिमेड र इलेक्ट्रोनिक्स सामग्री अहिलेसम्म गोदाममै रहेका छन् । टिमुरेबाट प्रवेश गरेका दुई सय नेपाली कन्टेनर पनि केरुङमा अड्किएका छन् । त्यसैगरी, जाडोका लागि ल्याइएका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान र ठुला आयोजनाका लागि ल्याइएका सामान बोकेका एक हजार कन्टेनर खासादेखि ल्हासासम्म रहेका छन् ।

तातोपानी भन्सारका सूचना अधिकृत सूर्य काफ्लेले इको पहिरो ठिक हुनासाथ चिनियाँ पक्षले कन्टेनर संख्या बढाउने तयारी गरेको बताए । ‘हामीले खासा भन्सारसँग वी–च्याटमा नियमित कुराकानी गरिरहेका छौँ । पहिरो पन्छिनासाथ दैनिक २० वटासम्म कन्टेनर पठाउने कुरा भएको छ,’ उनले भने । यद्यपि, दैनिक २० वटा पठाउँदा पनि दसैँलक्षित सामान समयमा नआइपुग्ने उनले प्रस्ट्याए । दसैँको १० दिनअघि मालसामान काठमाडौं पुगे मात्रै ती सामग्री उपभोक्तासम्म पुग्न सक्छ । पहिरोले सडक बन्द हुँदा झन्डै एक सय कन्टेनर फलफूल भरियाले बोकेर भन्सार ल्याइएको थियो । अब करिब २० कन्टेनर फलफूल खासामा छन् । भूकम्पपछिको पुनर्निर्माण, कैलाशमान सरोवरबाट फर्केका तीर्थयात्रु बोक्ने बसको चाप र विद्युतीय गाडीको जामका कारण खासा क्षेत्र अस्तव्यस्त छ । गत वर्षजस्तै यस वर्ष पनि नेपाली व्यापारीले दु:ख पाएका छन् भने मूल्यवृद्धिले उपभोक्ता मारमा पर्ने निश्चित छ ।