
जिएम समाज र ढुंगेदेउराली क्लबले सोमबार पोखरामा चलिरहेको लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगिताको फाइनल स्थान पक्का गरेका छन् । नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा समूह ‘बी’को उपविजेता जिएम समाजले समूह ‘ए’को विजेता आयोजकलाई ३–० को सोझो सेटमा हराउँदै अन्तिम दुई स्थान सुरक्षित गरेको हो ।
जिएम समाजले पहिलो सेट २५–१३, दोस्रो सेट २५–२० र तेस्रो सेट २५–२० स्कोर गरेको हो । खेलमा विजयी टोलीका विश्वास अधिकारी म्यान अफ दी म्याच भइन् ।
अर्को सेमिफाइनलमा स्याङ्जाको ढुंगेदेउराली क्लबले नेपाल एपिएफ क्लबलाई ३–० ले निराश बनाउँदै जिएम समाजसँगको उपाधि भिडन्त पक्का गरेको हो । समूह ‘बी’को विजेता एपिएफमाथि समूह ‘ए’को उपविजेता ढुंगेदेउरालीले २५–१९, २५–२३ र २५–१९ ले पाखा लगाएको हो ।
विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ हात पार्नेछन् । यसैगरी, प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ जित्नेछन् ।