मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १० मंगलबार
  • Tuesday, 26 August, 2025
२o८२ भदौ १० मंगलबार o९:१२:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टी–२० क्रिकेटमा साकिबले बनाए कीर्तिमान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १० मंगलबार o९:१२:oo
  • बंगलादेशका अलराउन्डर साकिब अल हसन टी–२० फर्म्याटमा पाँच सय विकेट लिनुका साथै सात हजार रन पूरा गर्ने विश्वकै पहिलो बायाँहाते बलर बने

बंगलादेशका बायाँहाते अलराउन्डर साकिब अल हसनले टी–२० क्रिकेटमा पाँच सय विकेट पूरा गरेका छन् । उनी यो सफलता प्राप्त गर्ने विश्वकै पाँचौँ बलर हुन् । 
पाँच सय विकेट लिने पहिलो बाँयाहाते स्पिनरका रूपमा साकिबले कीर्तिमान पनि बनाएका छन् । उनले टी–२० फर्म्याटमा सात हजार रन जोड्ने पहिलो बायाँहाते खेलाडी हुन् । क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा एन्टिगुवा एन्ड बरबुडा फाल्कन्सबाट खेल्दै उनले आइतबार राति टोलीलाई जित दिलाउने क्रममा दुईवटा रेकर्ड राखे । उनले सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सविरुद्ध ११ रन मात्र दिएर तीन विकेट लिएका थिए ।

यसअघि, अफगानिस्तानका रासिद खान (६६०), वेस्ट इन्डिजका ड्वेन ब्राभो (६३१) र सुनील नारिन (५९०) र दक्षिण अफ्रिकाका इमरान ताहिर (५५४)ले सफलता प्राप्त गरेका थिए । साकिब पहिलो बायाँहाते स्पिनरका रूपमा ५०० विकेटको क्लबमा प्रवेश गरेका हुन् । प्याट्रियट्सले पहिले ब्याटिङ गर्दै एक सय ३३ रन बनाएको थियो । फाल्कन्सले निर्धारित ओभरअगाडि नै लक्ष्य पूरा गर्‍यो । लक्ष्य पछ्याएको इनिङ्समा साकिबले १८ बलमा २५ रन जोडेका थिए । बलिङ क्रममा साकिबलाई पाँच सय विकेट संख्या पूरा गर्न एक विकेटको खाँचो थियो । 

उनले पाकिस्तानका मोहम्मद रिजवानलाई १५औँ ओभरमा कट एन्ड बोल्ड गर्दै पाँच सय विकेटको कीर्तिमान पूरा गरे । त्यसपछि अर्को ओभरमा उनले दुई विकेटका रूपमा मायर्स र नवीन बिडासलाई आउट गरे । खेलमा उनले ११–३ को रेकर्ड राखे । वेस्ट इन्डिजका ब्राभोले टी–२० खेलमा ६ हजार ९७० रन र ६३१ विकेट लिएका छन् । वेस्ट इन्डिजकै एन्ड्रे रसेल रेकर्ड पछ्याइरहेका छन् । उनले नौ हजार ३६१ रन र ४८७ विकेट लिएका छन् ।

साकिबले टी–२० मा नौपटक प्लेयर अफ द सिरिजको अवार्ड जितेका छन् । टी–२० फर्म्याटमा सर्वाधिक म्यान अफ दी सिरिज हुने खेलाडीमा उनी पर्छन् । भारतका विराट कोहली दोस्रो स्थानमा छन् ।