
भारतले थप ८० मेगावाट विद्युत् आफ्नो बजारमा बिक्री गर्न नेपाललाई स्वीकृति पठाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले बिहीबार विद्युत् प्राधिकरणलाई ४८.५ मेगावाटको मेवा खोला र ३१.०४ मेगावाटको करुवा सेती हाइड्रोपावरको विद्युत् बिक्री गर्न स्वीकृति दिएको हो । अनुमतिको म्याद ३१ अक्टोबर ०२६ सम्म रहेको छ । यो मध्यकालीन सम्झौताअन्तर्गत भारतको बिहार राज्यलाई विद्युत् बिक्री गर्न पाएको स्वीकृति हो ।
प्राधिकरणले बिहारमा दुई सय मेगावाट विद्युत् बिक्री गर्ने गरी गत वर्ष नै एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)सँग प्रतियुनिट ५.४५ भारु (८.७२ नेपाली रुपैयाँ)मा सम्झौता गरेको थियो । त्यसअन्तर्गत एक सय २५ मेगावाट विद्युत् निर्यात गर्न गत वर्ष नै स्वीकृति आएको थियो । अहिले थप ८० मेगावाटको स्वीकृति आएपछि अब नेपालले बिहारमा दुई सय मेगावाट विद्युत् नै बिक्री गर्न सक्नेछ । भारतको नेसनल लोड डिस्प्याच सेन्टर (एनएलडिसी)ले ‘नो अब्जेक्सन लेटर’ दिएपछि त्यसअन्तर्गतको विद्युत् निर्यात हुनेछ ।
योसँगै नेपालको कुल विद्युत् निर्यात कोटा ११३०.९ मेगावाट पुगेको छ । यसअघि नवीकरण गरेर भारततर्फको निर्यात कोटा ८१०.९ मेगावाट थियो । त्यसमा गत २६ साउनमा दुई सय मेगावाटका ६ आयोजनाको विद्युत् निर्यात गर्न सकिने अनुमति आएको थियो । त्यसपछि अहिले थप ८० मेगावाट विद्युत् निर्यातका लागि स्वीकृति आएपछि भारततर्फको विद्युत् निर्यात कोटा १०९०.९ मेगावाट पुगेको छ । त्यसमा बंगलादेशतर्फको ४० मेगावाट समावेश गर्दा कुल निर्यात स्वीकृति ११३०.९ मेगावाट कायम भएको छ । भारतमा स्वीकृत पाएभन्दा १० प्रतिशत बढी विद्युत् निर्यात गर्न पाइन्छ । त्योअनुसार एक सय नौ मेगावाट बढी विद्युत् निर्यात गर्न पाउने अतिरिक्त कोटा पनि कायमै छ ।
अहिले बंगलादेशमा समेत गरेर दैनिक नौ सय ५० मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए । अब आवश्यक तयारी गरेर छिट्टै पछिल्लो अनुमतिअनुसार बिहारमा थप ८० मेगावाट विद्युत् बिक्री गर्न सुरु गर्ने उनको भनाइ छ ।