
केन्द्रीय दुग्ध सहकारी संघले आगामी १५ दिनभित्र किसानको साढे तीन अर्ब रुपैयाँ बक्यौता भुक्तानी सुरु नभए दुग्ध विकास संस्थान (डिडिसी) र निजी डेरी उद्योगको गेटमा धर्ना दिने जनाएको छ ।
संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै डिडिसी र निजी डेरीले किसानलाई तीनदेखि पाँच महिनासम्म दुध खरिद गरेबापत भुक्तानी गर्नुपर्ने दायित्व साढे तीन अर्ब पुगेको जनाएको छ । सो रकम भुक्तानीका लागि पटक–पटक ताकेता गरे पनि सुनुवाइ नभएकाले आन्दोलन घोषणा गर्नुपरेको संघ अध्यक्ष अमरबहादुर कुँवरले बताए । ‘किसानले दुध बेचेको पैसा समयमै पाउनुपर्छ भनेर हामीले सम्बन्धित डेरी उद्योगलाई पटक–पटक भनेका छौँ,’ उनले भने, ‘कृषि मन्त्रालयसँग पनि समन्वय भइरहेको छ, तर भुक्तानी दिनुभन्दा पनि अलमल्याउने काम मात्र भएकाले आन्दोलन घोषणा गर्न बाध्य भएका छौँ ।’
अध्यक्ष कुँवरले लामो समयदेखि दुध बेचेको पैसा उठ्न नसक्दा साना किसानलाई घरखर्च चलाउन र व्यावसायिक किसानलाई बैंकको किस्ता तिर्न समस्या भइरहेको बताए ।
संघले उठाएका ११ माग